आफूमाथिका प्रश्न सुन्नुहुन्छ राष्ट्रपतिज्यू ?
‘आफ्ना आकांक्षाबाट ओतप्रोत भएर लोककल्याणको योजना बुनेका छौं भने तिमीले पुकारेको लोकले तिमीलाई खलनायक सावित गरेर छोड्छ’ आधुनिक राज्य र लोकतन्त्रको अवधारणा भर्खरै आएका बेला प्रचलित यो भनाईलाई राष्ट्रपति डा. रामवरण यादवले कत्तिको बोध गरेका छन् त्यो परिणाममा देख्नै बाँकी छ । तर, संक्रमणकालीन राष्ट्रका अभिभावक बनेका राष्ट्रपति डा यादवका पछिल्ला भनाई जसरी ‘लोकहितवाट ओतप्रोत’ देखिएका छन् त्यसैगरी उनका ब्यक्तिगत आकांक्षा पनि खुस्किएका छन् ।
राष्ट्रपति यादवले आफूलाई भेट्न शीतलनिवास पुगेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भने, ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध नबिग्रिनेगरी अघि बढ्नुहोला ।’ त्यसको भोलिपल्ट संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई पनि एक पाइला अघि बढेर यादवले भने, ‘राज्यका अंगहरुबीच कुटता नबढ्नेगरी काम गर्नुहोला ।’
सामान्य अवस्थामा राष्ट्रको अभिभावकले भन्ने कुरा नै राष्ट्रपति यादवले भनेका छन् । तर, कतिबेला भनेका छन् भने जतिबेला ८ वर्षदेखिको संविधानसभाभित्रको राजनीतिक गतिरोध तोडेर संविधान निर्माणको गोरेटोमा मुलुक अघि बढेको छ र त्यसको प्रक्रियामाथि प्रश्न उठाएर सर्वाेच्च अदालतले काम रोक्न आदेश दिएको छ । यस्तो बेला राष्ट्रपतिको आक्रोश संविधान निर्माणको अवरोधसँग नभएर संविधान निर्माणमा रहेको गाँठो फुकेकोसँग देखियो । जसले राज्यका अंगहरुबीचको कटुतासँग होइन राष्ट्रपति यादवलाई उनको निजी आकांक्षासँग चासो छ भन्ने छताछुल्ल पारेको छ ।
संविधानका आधारभूत विषयमा विवाद गरेर मुलुकले एउटा संविधानसभाका चार वर्ष र त्यसको आर्थिक व्यय ब्यर्थमा बेहो¥यो । नयाँ संविधानसभा निर्वाचित भयो, पहिलो संसद्ले निर्वाचित गरेका राष्ट्रपति उनै रहे । आलंकारिक र सर्वाेच्च स्थानमा रहेका कारण नै होला लोकतान्त्रिक पद्दतिमाथि गम्भीर प्रश्नका वावजुद यादवलाई नै दोस्रो संसद्ले पनि चुपचाप स्वीकारेको छ ।
त्यसयता संविधानका मूलभूत विवादमा संविधानसभाभित्र भौतिक झगडासमेत गरेका दलहरुलाई समेत राष्ट्रपति यादवले भनिरहे, ‘प्रतिपक्षमा बसेका प्रमुख दलले पनि संविधानमा ठाउँ पाइन भन्नु नपरोस्, सत्ता पक्षमा बसेका दलहरुले पनि जनमतको प्रतिनिधित्व गर्नेगरी संविधान जारी गर्न प्रतिपक्षलाई समेटुन् ।’ संविधान जारी गर्न आवश्यक संख्या संविधानसभा भित्र रहँदा पनि संविधान बढीभन्दा बढी शक्तिको सहभागिताको दस्तावेज बनोस् भन्ने राष्ट्रपतिको चाहनाका रुपमा यादवको भनाईलाई शंकाको लाभ दिएरै राजनीतिले स्वीकार गर्यो ।
तर, पछिल्लोपटक राष्ट्रपति यादवको अभिव्यक्तिलाई ब्यवहारमै उतार्नेगरी सत्ता र प्रतिपक्षमा रहेका प्रमुख दलहरुले १६ बुँदे सहमतिमार्फत व्यवहारमा ल्याए र एक महिनामा संविधान जारी गरेर राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नयाँ निर्वाचन गर्ने नयाँ समझदारीमा पुगे । सहमतिलाई संविधानसभाले आत्मसात गरेर अघि बढ्न थालेपछि सर्वाेच्च अदालतले प्रक्रिया रोक्न आदेश दियो, जसलाई यादवले राज्यका प्रमुख अंगवीचको झगडाका रुपमा अथ्र्याउँदै प्रतिपक्षी दलका नेता र संविधानसभा अध्यक्षलाई बोलाएर त्यसमाथि आफ्नो चासो सार्वजनिक गरे । अझ संविधानसभा अध्यक्ष नेम्बाङसँग राष्ट्रपतिको आक्रोशले त स्पष्ट अर्थ लगायो, ‘राष्ट्रपति यादव संविधान निर्माण अल्मल्याउनै पर्ने पक्षमा छन् ।’
हालसम्म गणतन्त्रको सर्वाेच्च केन्द्रको मर्यादाका खातिर नउब्जाइएको एउटा प्रश्न छ– ‘एउटा लोकतान्त्रिक मुलुकमा आठ आठ वर्षसम्म विना जनअनुमोदन एउटै व्यक्ति राष्ट्रप्रमुख हुन्छ ? त्यसले देशवासीको सकारात्मक भावावेशमाथि खेल्नेगरी र सारमा राष्ट्रको सार्वभौम संविधानसभाले तय गरेको संविधान निर्माणको बाटोमाथि तेर्सिएको अवरोधको समर्थन गर्नेगरी अझै केही हिउँद–वर्षा शीतलनिवासको बसाइ लम्याउने ‘लोक कल्याणकारी’ गन्तब्य तय गर्न सक्छ ?’
यो बेग्लै कुरा हो कि अहिले संविधान निर्माण रोक्न आदेश दिने अन्तरिम संविधानको धारा १२८ ले नै राजनीतिक विषय भन्दै दोस्रो संविधानसभा निर्वाचनपछि राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन गर्ने नगर्ने राजनीतिक विजनेशको कुरा हो भनेको थियो । संविधानको एउटै धाराबाट चाहेको बेला तेल बगाउने र तेल नचाहेका बेला तेजाव बगाउने काममा ८ वर्षअघिदेखिका महामहिम राष्ट्रपति अघि सर्नु हुन्छ ?
राजा राष्ट्रप्रमुख भएको कालमा त्यस संस्थाको मर्यादामाथि प्रश्न उठाउने नागरिक चेतना मरेर आठ वर्षसम्म पनि डा. यादवलाई नै राष्ट्रपति स्वीकार गरिएको होइन । बरु गणतन्त्रको संस्थाकरणलाई शीतल बनाउन शतिलनिवासमाथि कसैले प्रश्न नउठाएका हुन् भन्ने उनले बुझ्नु राम्रो हुन्छ ।
गणतन्त्रमा मार्यादाको सर्वाेच्च केन्द्र शीतलनिवास बन्नु अवश्य पनि गणतन्त्र संस्थाकरणको सकारात्मक पाइला हो । तर, शीतलनिवासमा बस्ने महामहिमको भूमिका यस्तो मर्यादामाथि कुल्चने खालको भयो भने नेपालको गणतन्त्रको चरित्र नारायणहिटीबाट शीतलनिवास बसाई सरेको राजतन्त्रजस्तो मात्रै हुनेछ ।
Post a Comment