0
  • अमेरिकासँग भिड्दै नेपाल

  •  असार २५

  • - विश्व ट्वान्टी–२० छनोटमा अमेरिकासँग शुक्रबार आफ्नो पहिलो खेलमा उत्रिँदा नेपालको लक्ष्य ब्याटिङ समस्यालाई किनारा लगाउँदै विजयी लय समाउनुहुनेछ । कन्डिसनमा अभ्यस्त हुन संघर्षरत नेपाली टिमले त्यो धार समाउँदै विश्व ट्वान्टी–२० मा पुग्ने विश्वास प्रशिक्षक पुबुदु दसानायकेको छ ।

नेपाल लगातार दोस्रोपटक विश्व ट्वान्टी–२० मा पुग्ने लक्ष्यमा छ । तर युरोप भ्रमणमा नेपाली टिम त्यो लयमा देखिएको छैन । धेरैले नेपाली टिमको छनोट लक्ष्यमा शंका गर्न लागिसकेका छन् । अमेरिका पनि त्यस्तो स्थितिमा छैन जसले टिम विश्वकपमा पुग्न योग्य बनाएको छ । बोर्डको आन्तरिक विवादमा रुमल्लिएको अमेरिकी क्रिकेट त्यसलाई पन्छाउँदै मैदानमा एकीकृत हुने प्रयासमा छ ।
सबै ब्याट्सम्यानले उपयोगी भूमिका खेले नेपालले ब्याटिङ समस्या किनारा लगाउने प्रशिक्षक दसानायके बताउँछन् । ‘हाम्रो ब्याटिङ विशेष गरी पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमा केन्द्रित छ । अरूले पनि नेदरल्यान्ड्ससँगको चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जसरी योगदान दिने हो भने हामी म्याच जित्नेछौं,’ दसानायकेले अमेरिकासँग खेल्नुअघि भने ।
नेदरल्यान्ड्ससँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–१ ले गुमाएको नेपालले अन्तिम खेलमा घरेलु टिममाथि ३ विकेटको जित हात पारेको थियो । पारसले ५४ रन बनाएको उक्त खेलमा ज्ञानेन्द्र मल्लले १८, विनोद भण्डारीले १३ र शरद भेषावकरले १२ रन जोडेका थिए । तर नेदरल्यान्ड्स भ्रमण नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानका लागि निराशाजनक बनेको थियो । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेलले ३ खेलमा २२ रनमात्र बनाउन सकेका थिए । सागर पुनले अन्तिम २ खेल खेले र त्यसमा ९ रनमात्र बनाउन सके ।
नेपालले ब्याटिङमा परिवर्तन गर्दै विनोद भण्डारीलाई तेस्रो नम्बरमा पठायो । उनी पनि भ्रमणमा पूर्णरूपमा चुक्ने अर्का ब्याट्सम्यान थिए । अन्तिम खेलमा आफ्नो पुरानै स्थानमा ब्याटिङ गर्दै १३ रन बनाएका विनोदले ४ खेलमा २१ रनमात्र बनाउन सकेका थिए । तल्लो क्रममा ब्याटिङ गरेका सोमपाल कामीले ३ इनिङ्समा सुवास, सागर र विनोदभन्दा बढी रन बनाएका थिए ।
खासै धेरै रन नबनाए पनि राष्ट्रिय टिममा पुनरागमन गरिरहेका प्रदीपले केही आशा देखाएका थिए । ‘प्रदीपले मध्यक्रममा राम्रो गरिरहेका छन्, तर अरू ब्याट्सम्यान कन्डिसनमा भिज्न संघर्षरत छन्,’ दसानायकेले भने, ‘हामीसँग भएका उत्कृष्ट खेलाडी यिनीहरू नै हुन् । उनीहरूलाई मेरो पूर्ण समर्थन छ ।’ पहिलो पटक राष्ट्रिय टिममा परेका सिद्धान्त लोहनीले नेदरल्यान्ड्समा कुनै अवसर नै पाएनन् । दसानायके भन्छन्, ‘सिद्धान्तले पनि राम्रो मिहिनेत गरिरहेका छन् । उसले टिममाथि विश्वासको वातावरण देखाएमा हामी उनका बारेमा पनि विचार गर्न सक्छौं ।’
प्रशिक्षकका अनुसार ट्वान्टी–२० विशेषज्ञ बलर बन्दै आएका मध्यम गतिका बलर जितेन्द्र मुखिया अझ पुरानो लयमा आउन बाँकी रहेकाले उनलाई तत्काल पहिलो रोजाइमा विचार गरिएको छैन । सोहीअनुरूप नेपाली बलिङमा तीव्र बलर सोमपाल कामीसँगै पहिलो रोजाइमा करण केसीले खेल्ने लगभग निश्चित छ । स्पिनमा वसन्त रेग्मी र शक्ति गौचन हुनेछन् । सागर पुन र कप्तान पारसले पाँचांै बलरको भूमिका निभाउनेछन् । अन्तिम समयमा कुनै परिवर्तन नभएमा सुवास, सागर, ज्ञानेन्द्र, पारस, विनोद, शरद र प्रदीप क्रमश: ब्याटिङ अर्डरमा आउनेछन् ।
नेपाली टिम जहाँ परिवर्तनको समयमा छ, त्यही अमेरिकी टिममा धेरै नयाँ अनुहार छन् । गत वर्ष नेपालले मलेसियामा विश्व क्रिकेट लिग डिभिजन–३ जित्दा अमेरिका झरेर डिभिजन–४ मा पुगेको थियो । त्यसयता अमेरिकी टिममा धेरै खेलाडी परिवर्तन गरिएको छ । ‘हामीलाई उनीहरूका बारेमा खासै थाहा छैन, धेरै खेलाडी नयाँ आइसकेका छन उनीहरूको टिममा,’ दसानायकेले भने, ‘हामी हाम्रो क्षमताअनुसार खेल्ने हो ।
त्यहीअनुरूप खेल्यौं भने विश्वकपमा पुग्नेछौं । हामी युवा र फिट टिम हौं ।
हाम्रो शक्ति भनेको बलिङ र फिल्डिङ हो, हामी अमेरिका र अन्य टिमसँग त्यही शक्ति लगाएर खेल्नेछौं ।’

Post a Comment

 
Top