0

 कोइराला विरासत ढाल्नुका  कारण 


sher bahadur deuba


















 राजा रजौटाहरुको विरासत आन्दोलन बलमा ढल्छ । तर, राजनीतिक आवरणमा हुर्र्कदै  गएको राजनीतिक विरासत ढाल्न त्यति सजिलो हुँदैन । दक्षिण एसियामा पनि राजनीतिक पारिवारिक विरासतले जरा गाडेको छ । यसमा नेपाल पनि अछुतो रहेन ।
२००३ सालमा स्थापना भएको कांग्रेसमा कोइराला परिवारको यस्तै विरासत र रजगज २०७२ सालसम्म रह्यो । तर, कोइराला खानदानमा सर्वमान्य नेताको अभाव भएकै बेला डडेल्धुराको रुवाखोलाबाट राजनीतिमा बामे सर्दै आएका शेरबहादुर देउवाको शक्तिमा कोइराला शक्ति परास्त भएको छ । कांग्रेसको ६९ वर्षे इतिहासमा कांग्रेसको वंश परम्पराकै रुपमा हुर्किएको विरासतलाई देउवाले क्षमता, बल र शक्तिले परास्त गरेका छन् । कोइराला लबिका रामचन्द्र पौडेललाई पराजित गर्दै नेता देउवा कांग्रेसको सभापति निर्वाचित हुनुका कारण यस्ता छन् :
१. २०४८ सालमा गिरिजाले आफ्नै नेतृत्वका सरकारमा गृहमन्त्री बनाएपछि नेता देउवाले कांग्रेसमा आफ्नो उपस्थिति मात्रै जनाएनन्, कांग्रेसमा कोइरालाहरुलाई दरिलो टक्कर दिने समूहको निर्माण गरे । कोइरालाहरुको हेपाइको कारण कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र महेन्द्रनारायण निधि वाक्क थिए । त्यसैले उनीहरुलाई कुनै राजनीतिक बल र शक्ति चाहिने थियो । उनीहरुकै सानिध्यमा उनीहरुकै नैतिक तागतमा देउवाले आफूलाई हुर्काउँदै लगे । कोइरालाहरुलाई टक्कर दिन थाले । २०५२, २०५८ र २०६१ मा देउवा प्रधानमन्त्री बनेर सभापतिका लागि आफूलाई उभ्याउन सफल भए ।
२. पार्टीको सदस्यताबाटै देउवालाई गिरिजाले हटाएपछि २०५९ सालमा उनले कांग्रेस प्रजातान्त्रिक गठन गरे । २०६४ सालको संविधानसभा निर्वाचन अघि कांग्रेस एकीकरण भयो । तर, भावनात्मक रुपमा एकीकरण भएन । एकीकरण हुँदा संस्थापन ६० र देउवा पक्ष ४० को भागबण्डाबाट अघि बढ्दै गए । सोही भागबण्डाको ४० प्रतिशतलाई देउवाले शक्ति संचयको रुपमा विकसित गर्दै गए । अन्ततः सफल हुन यो पनि प्रमुख कारण बन्यो । केन्द्रीय समितिदेखि भ्रातृ संस्था, संसदीय दल, जिल्ला कार्यसमिति सबैतिर देउवाले पकड बनाउँदै लगे ।
३. निरन्तरको दृढता र अडानले पनि देउवा कांग्रेसमा उदाए । कम्युनिष्टहरुको पार्टी फुटको चरित्र हेर्ने हो भने एकपटक फुटेर गएको शक्ति मिल्ने र पुनः सर्वोच्च पदमा पुगेको इतिहास छैन । पहिले फुट्ने र पछि जुट्नेहरु की बिलाएका छन् । की सानो नेताको रुपमा सानो पार्टीमा खुम्चिएका छन् । तर, देउवाले अन्य दलहरुको यो परम्परालाई गलत सावित गरिदिए । एमालेबाट माले फुट्यो, सीपी मैनाली उतै रहे । वामदेवहरु आए तर, पहिलो पोजिसनमा पुग्ने हैसियतमा छैनन् । एमाओवादी फुट्दा पनि उसै गरी नेताहरु कमजोर बन्दै अन्य दल निर्माणमा लागेका छन् । यस्तोमा देउवाले पार्टी फुटाएर जुटाउँदै कोइरालाहरुको विरासत बोकेको पार्टीको सत्ता हत्याए ।
४. देउवा जित्नुको अर्को कारण भनेको कोइरालाहरुको सर्वमान्य नेताहरुको अभाव हुनु हो । सुशील कोइराला छउन्जेल उनमा सीप, क्षमता र योग्यता नभए पनि उमेर, निरन्तरता र कोइराला थर जोडिनुले सर्वमान्य थिए । तर, २६ माघमा सुशीलले संसार छोडेपछि कोइराला खानदानको नेतामा सर्वमान्य कोही निस्किएन । उमेर, सक्रियता, निरन्तरता जस्ता पक्षबाट पनि शशांक, सुजाता र शेखरले पार्टी नेतृत्वका लागि चुनौति दिन सकेनन् । फलस्वरुप लामो रस्साकस्सीपछि एउटा प्रमुख समूह कृष्णप्रसाद सिटौला पक्षको उम्मेदवारीसहित दुई पक्ष संस्थापनबाटै उम्मेदवार हुनु पनि कोइरालाहरुको विरासत  तोडिनुको अर्को कारण बन्यो । इमान्दार भएर पौडेललाई सिटौलादेखि कोइरालाहरु सबैले सुशील कोइरालाको निधन लगत्तै समर्थन गर्थे भने देउवालाई जित्न सहज थिएन । किनकी कोइरालाहरुका पकडकै भोट झण्डै ९ सयको हाराहारीमा थियो ।
५. कृष्णप्रसाद सिटौला ३६ सालपछि राजनीति गरे पनि २०६२ पछि गिरिजाका भित्रिया भएर कांग्रेसमा जबर्जस्त रुपमा उदाए । शान्ति प्रक्रियामा गिरिजाको विश्वासिलो नेता भएर लागे । पछि सुशीलको पनि निकट रहेर काम गरे । तर, सुशीलको निधनपछि सभापतिमा अघि बढ्ने विषमया कांग्रेसमा  गम्भीर छलफल नभई पौडेल आफैं उम्मेदवारको रुपमा अघि बढे । सिटौलासँग छलफल गरेनन्, आफ्नो उम्मेदवारी सभापतिमा हुने जानकारी गराए । यसबाट सिटौला भड्किएनन् मात्र युवा नेता गगन थापालाई साथ लिइ चुनावी मैदानमा सभापतिमा अघि सरे । पौडेल हार्नुको कारण यो पनि एउटा रह्यो । पहिलो चरणमा देउवाले पनि बहुमत पुर्याउन सकेनन् । तर, दोस्रो चरणमा पनि सिटौला पक्षको मत पौडेललाई भन्दा देउवालाई बढी गयो ।
६. देउवाको टिम अनुशासित हुनु पनि अर्को कारण रह्यो । प्रधानमन्त्रीका रुपमा देउवाले इतिहास रचिसके । उनले नपाएको एउटै पद थियो भने त्यो कांग्रेस सभापतिको थियो । त्यसैले उनको अनुशासित टिम जसरी पनि उनलाई जिताउन लागिपर्यो । देउवा पक्षका बरिष्ठ नेताहरुले पनि एकपटक उनलाई सभापति भएको देख्ने चाहनामा आफ्ना स्वार्थलाई बाहिर ओकलेनन्, भित्रै राखे । पदाधिकारी थप गरेर आफूहरु व्यवस्थापन गर्नमा जोड दिएनन्, केन्द्रीय सदस्यको संख्या बढाउन बल गरेनन् । देउवाको लागि बलिदानी नै गरे ।
७. गुटमा संस्थापनमा १० भन्दा ठूला हस्ती ल्याउन सक्नु पनि देउवाको सफलताको आधार बन्यो । पछिल्ला ५ वर्षमा संस्थापन पक्षले देउवा पक्षबाटै एउटै नेता लान सकेन । तर, देउवाले झण्डै एक दर्जन प्रभावशाली नेता संस्थापनबाट आफ्नो पक्षमा भित्र्याए । महाधिवेशनकै मुखैमा पुराना नेता केबी गुरुङ, सूर्यमान गुरुङ, अर्जुन जोशी र मधेसी नेता फरमुल्लाह मन्सुरलाई आफ्नो टिममा ल्याए । त्यस अघि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, श्याम घिमिरे, केशबकुमार बुढाथोकीलाई आफ्नो टिममा ल्याए । युवा नेता विश्वप्रकाश शर्मालाई आफ्नो साथ लिएर युवाहरुलाई कदर गरेको सन्देश दिए ।
८. कोइराला परिवारका तीन नेताहरु सशांक, शेखर र सुजाताबीच सुरुमा एकजुट भएनन् । सुजाताले आफू सभापतिमा अघि बढ्ने पहिलदेखि दाबी गर्दै आइन् । शशांकले पौडेललाई मान्न इमान्दार प्रयास गरेनन् । उनीहरुबीच सुरुमै तालमेल भएन । सोही कारण पनि कोइराला लबिका पौडेल पराजित हुन पुगे ।
९. भ्रष्टाचारमा कीर्तिमान बनाएका खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेसहित विनयध्वज चन्द, लक्ष्मण घिमिरेसहितका नेतालाई संस्थापनले आफ्नो पक्षमा ल्याउन सकेन । उनीहरु सबैबाट थोरैथोरै मत लिएर भए पनि देउवाले आफूलाई मत पुर्याए ।

Post a Comment

 
Top