0

कांग्रेसको महाधिवेशन मञ्चबाट भारतीय नेताले गरे नाकाबन्दीको विरोध, माफी पनि मागे

maf
२० फागुन 
नेपाली काँग्रेसको आजदेखि सुरु भएको १३औँ महाधिवेशनमा विभिन्न देशका विभिन्न पार्टीबाट आएका प्रतिनिधिले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
भारत विहारका मुख्यमन्त्री नितीशकुमारले केही समयअघि निधन हुनुभएका नेपाली काँग्रेसका नेता सुशील कोइरालासँग विहारको जेलमा भेट भएको, पञ्चायतकालमा बिपी कोइरालालाई नेपाल फर्कंदा बिदाइ गरेकोजस्ता घटनाको स्मरण गर्दै काँग्रेस पार्टी र यसका नेतासँग आफ्नो पुरानो सम्बन्ध रहेको धारणा राख्नुभयो ।
उहाँले नेपाल आफ्नो समस्या समाधान गर्न आफैँ सक्षम रहेको विश्वास व्यक्त गर्दै नेपाल र भारतबीच अटुट सम्बन्ध रहेको धारणा राख्नुभयो । नेपालमा एउटा पार्टीको महाधिवेशनमा अरु सबै पार्टीका शीर्ष नेताको सहभागिता हुने अद्भूत वातावरण आफूले देखेको भन्दै नितीशकुमारले यो संस्कृतिलाई निरन्तता दिन आग्रह गर्नुभयो ।
भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले आफू छ वर्षअघि पनि काँग्रेसको १२औँ महाधिवेशनमा आएको स्मरण गर्दै त्यसबेला नेपालले छिटो संविधान पाउओस् भनी दिएको शुभेच्छा अहिले आउँदा पूरा भएको देख्न पाएको बताउनुभयो । उहाँले बुद्धको जन्मथलो र सगरमाथाको देश नेपाललले पूरै विश्वलाई फेरि ज्ञान र विज्ञान दिने विश्वास व्यक्त गर्नुभयो ।
आफ्नो देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टीका अध्यक्ष अमित साहले महाधिवेशन सफलताको शुभकामनाका लागि आफूसँग सन्देश पठाउनुभएको उहाँले जानकारी दिनुभयो ।
बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै व्यापार, यातायातको विस्तार र विद्युत् विकासको क्षेत्रमा आफ्नो मुलुकले नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपालले संविधान लेखनालाई सफलतामा पु¥याउन तत्कालीन प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले खेलेको भूमिकाको प्रशङ्सा गर्नुभयो ।
भारतीय राष्ट्रिय काँग्रेसका महासचिव बिके हरिप्रसादले बलियो एजेन्डा र विचारको विकास गर्न महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
इन्टरनेसनल रिलेसन कम्बोडियाका अध्यक्ष युसुनची, भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले काँग्रेसको महाधिवेशन नेपालको लागि मात्रै नभई दक्षिण एसियाकै लागी महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
भारतीय नेताले गरे भारतीय नाकाबन्दीको विरोध
महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपाल माथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् ।
भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता जोगेन्द्र शर्माले भारतले गरेको आर्थिक नाकाबन्दीको कारण नेपाली जनता कठिनाइ र यातानाबाट गुज्रिनुपरेको दुखेसो पोख्नुभयो ।
उहाँले भारतले नेपालमा धार्मिक अतिवाद लाद्न खोजेको आरोप लगाउँदै नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको दुःखमा भारतीय जनता साथमा रहेको टिप्पणी गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष विजयप्रतापले भारतले केही समयअघि नेपालमा गरेको नाकाबन्दीका लागि आफू दुखित भएको बताउँदै नेपाली जनतासँग क्षमा माग्छु भन्नुभयो । उहाँले भारतमा समाजवादी आन्दोलनलाई बलियो बनाउन नसकेकै कारण नेपालले भारतीय थिचोमिचो सहनुपरेको धारणा राख्नुभयो ।
भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले नेपालको नयाँ संविधान प्रगतिशील भएको भन्दै त्यसको स्वागत गर्नुभयो । 

Post a Comment

 
Top