0

न्यायपालिकामा खतरा

पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले दुष्ट भाव भएका बाहिरी तथा भित्री तत्त्वहरूबाट न्यायपालिकालाई झन्झन् खतरा बढ्दै गएको निष्कर्ष निकालेका छन्।
पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूको  बैठक बसी न्यायपालिकालाई आफ्नो पकडमा राख्न खोज्ने र आफ्नो मान्छेलाई न्यायाधीश बनाउने खोज्नेहरूबाटै झन्झन् खतरा बढ्दै गएको भनी निष्कर्ष निकालेका हुन्।
पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले न्यायपरिषद्ले आफ्नो मान्छेलाई न्यायाधीश बनाउने र अन्य व्यक्तिको जागिर चट बनाउने कार्य भइरहेको उल्लेख गर्दै पहिलाको पैँचो तिर्न मात्र न्यायाधीश बनाउने परम्परा भइरहेको जनाउनुभयो।
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले न्यायक्षेत्रभन्दा बाहिर र भित्रबाट नै स्वतन्त्र न्यायपालिकामाथि आक्रमण हुन थालेकाले अदालत अहिले कमजोर बन्दै गएको उल्लेख गर्नुभयो।
हाल राजनीतिक पार्टीका मान्छेहरू आफ्नो व्यक्तिलाई न्यायाधीश बनाउन खोजिरहेका उल्लेख गर्दै पूर्वप्रधानन्यायाधीश शाहले यदि त्यो मान्छे न्यायाधीश भयो भनेपछि आफ्नो पक्षमा फैसला गराउने राजनीतिक नेताको दाउ रहेको जनाउनुभयो।
उहाँले भन्नुभयो– ‘अनुभव भएकाहरूलाई पाखा लगाएर अनुभवहीनलाई अहिले न्यायाधीशको सिफारिस गरिएको छ। यसलाई नै भित्रबाट न्यायपालिकामाथि आक्रमण भएको ठानिएको छ।’ पूर्वप्रधानन्यायाधीश शाहले नेपाल बार एसोसिएसन पनि राजनीतिबाट शिकार भएको उल्लेख गर्नुभयो।
पूर्वप्रधानन्यायाधीश उपाध्यायले आफ्नो मान्छे न्यायाधीश भएर आएमा त्यस्ता व्यक्तिले कहिल्यै पनि न्याय दिन नसक्ने उल्लेख गर्दै हाल जनताले स्वच्छ न्याय पाउने हक कुण्ठित हुँदै गएको बैठकमा बताउनुभएको थियो।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले बहुदलीय व्यवस्था आएपछि न्यायपालिका झन् दयनीय बन्दै गएको जनाउँदै भन्नुभयो– ‘अहिले न्यायपालिकामा न्यायाधीश बन्न भागबन्डा चलिरहेको छ। म कांग्रेसको, म एमालेको, म माओवादीको, म खाओवादीको भन्दै न्यायाधीश बन्ने र बनाउने क्रम बढेको छ।’ सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाले न्यायपरिषद् हाल अन्यायपरिषद्का रूपमा विकसित हुँदै गएको चर्चा गर्नुभयो। पुनरावेदन अदालतका पूर्वन्यायाधीश केशवप्रसाद मैनालीले न्यायपालिका विवादमा आउने कारण आन्तरिक पनि भएको जनाउनुभयो।
पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश अलिअकबर मिकरानीले पछिल्लो समयमा न्यायपरिषद्ले उचितरूपमा कार्य नगरेको उल्लेख गर्दै १५⁄१६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतमा नल्याई शहीद बनाइएको बताउनुभएको थियो। पुनरावेदन अदालतका पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माले न्यायाधीशहरू नियुक्त हुन पार्टी कार्यालय धाउन परेको चर्चा गर्दै राजनीतिक पार्टीहरूले पनि स्वतन्त्र न्यायपालिकाको अस्तित्व नचाहेको उल्लेख गर्नुभयो।
पूर्वजिल्लान्यायाधीश श्रीप्रसाद पराजुलीले पनि न्याय परिषद्लाई अन्याय परिषद् भनी टिप्पणी गर्नुभएको थियो। पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरूको बैठकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौलाले न्यायपालिकामा भएका हस्तक्षेपको बारेमा विस्तृत रूपमा उल्लेख गर्नुभएको थियो। न्यायपालिकाभित्र हुने बा≈य तथा आन्तरिक हमलाविरुद्ध खबरदारी गर्नका लागि सो बैठकले पूर्वन्यायाधीशहरू सम्मिलित भएको संस्था गठन गर्ने निर्णय पनि भएको पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश शम्भुबहादुर खड्कालेजानकारी दिनुभयो।

Post a Comment

 
Top