भोजको बिकृत संस्कृति
आजभोलि बिहे ब्रतबन्धको लगनको लर्को छ । सबैलाई हतार छ, जति चर्चित उति धेरै निम्ता भ्याउनु पर्ने बाध्यता । गएन 'ठुलो मान्छे भयो, आएन' लगायतका भनाई सुन्नु पर्ने । अरुको चित्त बुझाउँन गयो - मुख देखाउनै भएपनि – आफ्नो काम जति सबै चौपट । धेरैको समस्या हो यो।
पुरानो जमानामा निम्तालुहरुमा ईष्टमित्रहरू र छिमेकीहरुको बाहुल्यता हुन्थ्यो, सानो संख्यामा साथीहरु र सहकर्मीहरु । खाने कुरा किन्यो, पाल र भाँडाकुँडा भाँडामा ल्यायो, तिनै निम्तालुमध्येकाले पकाउँथे, सबै ब्यवस्था गर्थे, सस्तोमा भोज सकिन्थ्यो । मनोरञ्जन गर्ने थोरै बिकल्प मध्येको 'भोज' एउटा माध्यम थियो ।
अहिले टाउको गनेर क्याटरिङले लिन्छ, दारु नराखी पार्टी हुँदैन, पाउनाहरु निम्ता मान्ने मात्र हो । घेरा ठुलो भईसक्यो, पारिवारिक निम्तालुबाहेक अहिले साथी, सहकर्मी, व्यापारीक घेरा, भोज खुवाएर काम लिनुपर्ने घेरा, चाकडी बजाउनु पर्ने घेरा लगायतका बढि हुन्छन । सोझै भन्दा 'भोजका नाता' धेरै ! एउटा भोजमा भेट भएको मान्छे फेरी अर्को भोजमा भेट हुँदा मात्र बोल्ने, त्यसबीचमा भेटे नचिनेको मान्छे सरह हो।
पुरानो जमानामा भोज खाने मिठो खाने प्रतिक नै थियो । परिकार बनाएर खाँदा 'आज त भोजै भयो' अहिले पनि भन्छौं । तर, अहिले दैनिक खाना नै भोज खाने जस्तै भैसक्यो - धेरैका भान्सामा पाक्ने परिकारहरु । बरु भोजको खानाको गुणस्तर र स्वाद झारा तिराई भैसकेको छ।
राजधानीको एक विवाह भोजमा खाना खाँदै पाहुँनाहरु ।
कसैको चाकडी बजाउने वा सम्बन्ध बढाउने माध्यम होला । तर, जाने मान्छेको एकै दिन ५-७ ठाउँबाट निम्ता आउँछ । पहिले बिहे ब्रतबन्ध मात्रको निम्ता आउँथ्यो । अहिले मानिसहरुको 'कमाई' बढेको छ, भोज गर्नु पर्ने समारोह पनि बढेको छ – समुदाय पिछेका नयाँ वर्षदेखि नितान्त पारिवारिक जमघटहरु जन्मदिन, विवाहको वर्षगाँठ, पास्नीदेखि लिएर बेलविवाह, गुन्युचोलो, तिज, पुराण, पुजा, बढुबा, कमाउ अड्डामा सरुवादेखी १३ दिनको शुद्द शान्तीसम्म 'भोज' भएको छ । कता जाने कता नजाने ! आफ्नो लागि मैले एउटा नियम बनाएको छु, आत्मीय ठाउँबाट आएको बाहेकको 'भोजका नाता' निम्तामा नजाने।
मेरा एक जना आफन्तको विहेमा लगभग २० लाख खर्च भयो रे । उसको तलब वर्षको २ लाख होला - १० वर्षको कमाई बिहेमा सकियो । उनको त बाजेले जोडिदिएको एक आना जग्गा बेचेर भयो । डाँडै बेचे पनि २० लाख नआउनेले के गरि भोज गर्ने ? समाजले नै बाध्यता बनाईदिँदो रहेछ । एक सहकर्मी भन्दै थिए- छोराको ब्रतबन्ध गर्नु छ, साधारण गरौं भनेको पारिवारिक दवाब आउँछ, 'अरुको खाने आफू नगर्ने'। यो समाजले थोपरेको नयाँ बाध्यताको लागि निकास के?
समाज बदलिई सक्यो, रहनसहन बदलियो, नाताको परिभाषा बदलिईसको, मनोञ्जनको अरुनै माध्यम धेरै भैसक्यो, तर, पुरानो चलन बोलचाल नभएपनि 'भोजको नाता' हरुलाई नबोलाई सुख छैन । पहिले गाडी दुलाहा दुलहीलाई चढ्न पाउन पनि गार्हो थियो, रत्नपार्कमा कार्यालय समयमा पनि बाटो काट्न रातो बत्ती कुर्न नपर्ने समय थियो । नजिक जन्ती हिँडेरै जाने चलन थियो, बाजा बजायो, नाँच्दै गयो, टाढा जानु परे बसमा सबै कोच्चियो हिँड्यो । अहिले मुल सडक जाम गराउँदै जन्ती हिँडेको देखिन्छ । छिमेकको कान फुट्ने गरी ब्याण्डबाजा बजायो । एउटा जन्तीले मुल सडक आधा घन्टा जाम, जाम गराउनेलाई कुनै मतलब छैन । यो भोज संस्कृति हो की 'बिकृत संस्कृति' हो ? समाजले आफ्नो प्राथमिकता आफैं निर्धारण गर, आफ्नो मनोरञ्जनले अरुलाई बाधा नपुर्याउ, 'घाँटीहेरी हाड निल' कहिले भन्ने ?
Post a Comment