खेताला भयौं हामी पत्रकार
बाँकेमा हालै भएको एउटा घटना सञ्चारमाध्यमका लागि बिकाउ मसला बन्यो । ‘शिक्षिकाको पिटाइले बालकको आँखा फुट्यो’ शीर्षकमा पत्रपत्रिकाका पाना, रेडियो टेलिभिजनका बुलेटिन र न्युजपोर्टलका भित्ता रंगिए । सनसनीपूर्ण समाचारका तिर्खालु निम्ति असली खुराक बन्यो त्यो घटना । मलाई भने त्यसको एकपक्षीय प्रस्तुतिले साह्रै घोचेको छ ।
सबै पत्रकारले एकै स्वर बनाएको यो घटनाप्रति विमति जनाएर म साहस गर्दैछु कि दुस्साहस, मलाई थाहा छैन । यति भने पक्कै थाहा छ, यो घटनालाई एउटा मात्र नभई, बहुकोणबाट हेर्ने बुद्धिमता पत्रकारहरूले देखाउनुपथ्र्यो ।
बाँके हिरमिनियाका आठ वर्षे बालक अजय धोबीको ‘शिक्षिकाको कुटाइबाट आँखाको ज्योति गुम्यो’ भन्ने खबर जति सनसनीपूर्ण छ, त्यति नै संवेदनशील पनि । पीडित बालकप्रति संवेदना देखाउने क्रममा पीडक भनिएकी शिक्षिका आराधना रानाप्रति भने हामीले जानेर वा नजानेर कतै पूर्वाग्रह त राखेनौं ?
एकछिन सोचौं त, के एउटी शिक्षिकाले एउटा बालकलाई अंगभंग नै हुनेगरी जनाजान कुट्न सक्छिन् (अपवादबाहेक) ? दुश्मनै भए पनि एउटा सामान्य मानिसले कसैलाई कुटेर वा पिटेर अंगभंग गर्ने सोच राख्दैन । तर यी शिक्षिका आराधनाले एउटा अबोध बालकको आँखा नै फोड्ने दुराशय कसरी राख्न सक्छिन् ? असामान्य अवस्थामा भएको भए कुरा बेग्लै हो ।
अहिलेसम्मको बुझाइ र अनुसन्धानले आराधनाको मानसिक अवस्थाप्रति प्रश्न उठाएको छैन । हाल प्रहरीको अनुसन्धानमा रहेकी आराधनाले आफूबाट गल्ती भएको कबुलेकी छन् । उनले अन्जानमा भएको गल्तीको प्रायश्चित गर्दै पीडित बालक र उनका परिवारप्रति सहानुभूति दर्शाएकी छन् । अनुसन्धान अधिकृतहरूको बुझाइमा पनि यो केवल एउटा दुर्घटना थियो भन्ने प्रस्ट भइसकेको छ ।
बाँकेका पत्रकार यदुराज मिश्र जो पीडित बालक र पीडक भनिएकी शिक्षिकाका छिमेकीसमेत हुन्, उनकै भनाइमा यो भवितव्य मात्र हो । मिश्र भन्छन्– होमवर्क नगरेका ती बालकलाई तर्साउन शिक्षिकाले किताबले हान्न खोजिन्, बालकले छक्कयाउँदा उसको आँखामा लाग्यो ।
घटनापछि विद्यालय प्रशासन र पीडक भनिएकी शिक्षिकाले उपचारको चाँजो पनि मिलाएका थिए । तर केही तत्वले अजयका बुबालाई यो घटनाबाट ठूलै रकम ऐंठ्नुपर्छ भनी प्रलोभनमा पारे । विद्यालय र शिक्षिकाले त्यो रकम बेहोर्न नसक्ने भएपछि घटना सार्वजनिक भयो । यसलाई उचाले हरियो नोटका खेतालाहरूले । अनि हामी पत्रकार तिनै खेतालाका खेताला भयौं ।
यतिबेला सुरक्षा अधिकारी घटनालाई उछाल्नुभन्दा साम्य पार्ने मनसायमा देखिएका छन् । किनभने यथार्थ त उनीहरूले नजिकबाट नियालेका छन्, बुझेका छन् । हामी पत्रकार भने यो घटनामा आराधनालाई अपराधी साबित गर्नैपर्छ जस्तो गरी दबाब सिर्जना गरिरहेका छौं । के पत्रकारिताको धर्म पीडितलाई न्याय दिलाउनु र पीडकलाई कानुनी कारबाहीको भागीदार बनाउनु मात्र हो त ? पीडक भनिएकालाई अन्याय हुन नदिनु पनि हाम्रो उत्तरदायित्व हैन ? हो भने, आराधनाले जानजान बालकको आँखा फोड्ने मनसाय नराखेको प्रस्ट हुँदाहुँदै किन हामीले उनलाई अपराधीसिद्ध गर्न लागिपरेका छौं ?
अन्जानमा गरेको गल्तीलाई नियतवश गरेको भनी प्रचारबाजी गर्दा समाचार त मसालेदार बन्ला, तर त्यसमा हावी भएको पूर्वाग्रहले अन्ततः हाम्रै विद्धता र विश्वसनीयतामाथि संकट निम्त्याउँदैन र ? हामीले यसबारे पनि सोच्ने कि मसला समाचारमै मरिहत्ते गरिरहने ?
राज्यका विशिष्ट व्यक्तिको निधन हुँदा होस् वा दुर्घटनामा दर्जनौं मानिसको एकै चिहान हुँदा होस्, ‘न्यूज ब्रेक’ गरियो भन्दै गर्वले थपडी पिट्ने हाम्रो संस्कारले नै भन्छ, हामी कति संवेदनाहीन बन्दै गएका छौं । कसैको दुःख पीडाले हामीलाई छुँदैछुँदैन ।भइसकेको घटनाले त हामीलाई छुँदैन भने हामीले सम्प्रेषण गरेका समाचारबाट हुन सक्ने घटनाबारे हामी सचेत हुनु त परकै कुरा भयो । यस्तो परिवेशबाट दीक्षित भइरहेका हामीबाट समाचारकै कारण कसैलाई पीडाबोध हुन्छ भने त्यसप्रति हाम्रो ध्यान जाला भनेर कसरी आस गर्न सकिन्छ ?
म आफैंले पनि कुनै समय नेपालगन्जबाट काठमाडौंस्थित टेलिभिजनमा रिपोर्टिङ गर्दा भएको गम्भीर त्रुटि खोतल्न यहाँ सान्दर्भिक ठानेको छु । २०६४ सालको कुरा हुनुपर्छ । बाँके राप्तीपारिका एक सर्वसाधारण सशस्त्र समूहको अपहरणमा परेका थिए । उनको अवस्था धेरै दिनदेखि अज्ञात थियो । एक दिन जिल्ला प्रहरी कार्यालयमा कार्यरत मेरा मित्र प्रहरी अधिकृतले अपहरणमा परेका ती व्यक्ति घाँटीमा गोली प्रहार गरी फ्याँकिएको अवस्थामा राप्तीपारि जंगलमा फेला परेको जानकारी दिए । मैलै तुरुन्तै टेलिभिजनमा अपहरित व्यक्ति गोली प्रहारबाट मारिएको भनी समाचार टिपाएँ । तुरुन्तै न्यूज फ्ल्यास आइसकेपछि सूचना दिने प्रहरी अधिकृतले ‘ती व्यक्तिको मृत्यु भइसकेको हो र’ भनी मलाई प्रश्न गरे । म झल्याँस्स भएँ । उनले गोली लागेको अवस्थामा फेला परेको मात्र बताएका थिए । म एक कदम अघि बढेछु । अपहरित व्यक्ति गोली लागेर घाइते भएको अवस्थामा फेला परेका थिए । तत्कालै मैले कार्यालयमा फोन गरेर न्यूज फ्ल्यास झिक्न लगाएँ ।
त्यसबखत बाँकेमा सशस्त्र समूहबाट अपहरण गर्ने र हत्या गर्ने क्रम तीव्र थियो । यही छाप मेरो मष्तिष्कमा गढेको थियो । मेरो यही सोचाइ समाचारमा हावी हुन पुग्यो । यस्ता थुप्रै उदाहरण छन् । विगतका घटना÷परिघटनामा बाँधिएर हामी समाचार लेख्छौं । जस्तो, माओवादी हिंसाका पक्षपाती हुन्, नेपाली कांग्रेस लोकतन्त्रको मसिहा हो, मधेसकेन्द्रित दलहरू अवसरवादी हुन्, भन्सार, मालपोत, अदालत भ्रष्टाचारका अखडा हुन् । यही सोचले हावी भएर माओवादीसँग कुनै अर्को दलका कार्याकर्ताको झडप भए हामी सहजै माओवादीबाट आक्रमण भनिदिन्छौं । आफैंभित्र प्रजातान्त्रिक अभ्यास गर्न बिर्सिइसकेको नेपाली कांग्रेसलाई मुलुककै लोकतन्त्रको मसिहा देख्छौं । अन्य राजनीतिक दलका नेता कार्याकर्ताको सत्तामोह र पार्टी परित्यागलाई सामान्य रूपमा लिने हामीले मधेसकेन्द्रित दलका यस्ता गतिविधिमा अवसरवाद देख्छौं । भन्सार, मालपोत र अदालतका कर्मचारी जति नै सच्चा भए पनि शंका गर्छौं । किनकि, हाम्रो पत्रकारिता अतीतबाट प्रभावित भएर वर्तमानमा जोड्ने र त्यसैनुरुप दृष्टिकोण बनाउने परिपाटीले गाँजिएको छ ।
एक शिक्षिकाको गल्तीले भएको घटना र त्यसबारे एउटामात्र कोणबाट भएको रिपोर्टिङले मेरो मनमा तारन्तार प्रश्नहरू उत्पन्न भएपछि बह पोख्न यो लेख लेखेको हुँ ।
एक शिक्षिकाको गल्तीले भएको घटना र त्यसबारे एउटामात्र कोणबाट भएको रिपोर्टिङले मेरो मनमा तारन्तार प्रश्नहरू उत्पन्न भएपछि बह पोख्न यो लेख लेखेको हुँ ।
बालक अजयको अहिले काठमाडौंमा उपचार भइरहेको छ । यसअघि नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालमा शल्यक्रियापछि लगाइएको टाँका चुडिँदा काठमाडौंमा पुनः शल्यक्रिया गर्नुपरेको भन्ने समाचार पनि आएको छ । टाँका चुडिँनुको कारण चिकित्सकीय लापरवाही हो वा स्वयं बिरामी वा उनका अभिभावकको ? यसबारे खोजिनीति गर्नु हाम्रो कर्तव्य हैन ? यदि साँच्चै चिकित्सकीय लापरवाहीले हो भने किन हामीले यो विषयलाई गम्भीरतापूर्वक लिएनौं ? के यो फत्तेवाल आँखा अस्पतालका चिकित्सकको लापरवाही वा कमजोरी हैन र ? अन्जानमै सही बालकको आँखाको ज्योति गुम्न सक्नेसम्मको लापरवाही गर्ने शिक्षिकालाई अपराधी ठहर्याउने अनि अधकल्चो उपचार गरेर थप जोखिम निम्त्याउने चिकित्सकबारे चुप्पी साँध्ने ! यो कस्तो पत्रकारिता ?
Post a Comment