khum_bahadur भ्रष्टाचार मुद्धामा जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई जेलबाट रिहा हुँदा २० हजार युवा दस्ताले स्वागत गर्ने भएका छन्। आगामी भदौंमा जेलबाट छुट्न लागेका खड्कालाई स्वागत गर्न तराईका प्रत्येक जिल्लाबाट एक हजारका दरले नेपाल तरुण दलका कार्यकर्ता काठमाडौं उतार्ने तयारी हँुदैछ। पहाडी जिल्लाबाट भने स्वविबेकले जति पनि तरुण कार्यकर्ता आउनसक्ने खड्का निकट एक नेताले बताए। खड्कालाई स्वागत गर्न तराईका २० जिल्लाबाट एक हजारका दरले युवा कार्यकर्ता राजधानी आउने भएका छन्। खड्कालाई स्वागत गर्न तराईका जिल्लासहित पहाडी जिल्ला स्याङ्जा, कास्की, तनहँु र वाग्मती अञ्चलका काभ्रे, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटबाट पनि स्वतःस्फुर्त रुपमा युवा दस्ता राजधानी भित्र्याउने तयारी भएको छ। कांग्रेस भातृ संस्था नेपाल तरुण दलको एउटा विभागको रुपमा तरुण दस्ता तयार गर्न खोजेका खड्कालाई पार्टी संस्थापन पक्षले साथ नदिएपछि उनी स्वागतका लागि राजधानी आउने युवाको समुहलाई के नाम दिने भन्ने सोचाईमा छन्। खड्काको स्वागतको लागि जयजयकार मनाउन काठमाडौं आउने उनका शुभचिन्तकको पहिचानको लागि प्रत्येक जिल्लामा खड्काको स्वागतको लागि भन्दै टिसर्ट प्रिन्टको तयारी भइरहेको छ। खड्काका शुभचिन्तक धेरै भएपनि टिसर्ट खरिद र प्रिन्ट गर्न नसक्ने जिल्लाका शुभचिन्तक युवा दस्तालाई खड्काका केही सहयोगीहरूले आर्थिक सहयोग समेत गर्ने भएका छन्। खड्कालाई भेट्न दिनहु सयौंको सख्यामा शदरखोर डिल्लीबजार जानेहरू यतिवेला यति टिसर्ट स्पोन्सर गर्न तयार छु भन्दै खड्का रिहाईको स्वागतको चाँजोपाँजोका लागि व्यस्त हुन थालेका छन्।
खड्का जेलबाट रिहाई भएको दिन आयोजना गरिने कार्यक्रममा सहभागीहरूलाई तरुण दस्ताको नाम दिने कि नदिने भन्ने बिषयमा अन्तिम टुंगो भने लागि सकेको छैन। खड्कालाई भेट्न हाल सदरखोर डिल्लीबजारमा कांग्रेसका केन्द्रीय सदस्यहरू, पूर्ब सभाषद्हरू, जिल्ला र क्षेत्रीय सभापतिहरूकेा लर्को लाग्ने गरेको छ। खड्कालाई भेट्न कांग्रेसका नेता कार्यकर्ताको भिड लाग्नु त स्वाभाविकै थियो तर सेना र प्रहरीका उच्च अधिकृतहरू नैं लाईन लागेका छन्। खड्कालाई भेट्न दिनहुँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्नेल र जर्नेल समेत जाने गर्छन्। खड्कासँग राजनीतिक मात्र हैन जंगी र कर्मचारीहरूको पनि भिड लाग्ने गरेको छ।
सदरखोरभित्रै चुनावको चर्चा
खड्कासँग आगामी संविधानसभा निर्वाचनको बिषयमा सल्लाह लिन जानेको पनि घुइचो लाग्ने गरेको छ। सल्लाह लिन मात्र होइन, निर्वाचनमा टिकट दिलाईदिने देखि लिएर जिताईदिन आग्रह गर्नेहरूसमेत उनीकहाँ पुग्ने गरेका छन्। जेलमा बस्दा पनि मन्त्री क्वाटरमा झैं छलफल र भेटघाट गर्ने खड्का व्यस्तताका बाबजुद पनि नेता कार्यकर्तालाई निर्वाचनको लागि टिकट दिलाई दिनेदेखि लिएर जिताईदिनेसम्मको आश्वसन दिने गर्छन्। खड्का आफै आगामी संविधानसभा निर्वाचनमा उम्मेदवार हुन त पाउँदैनन् तर पनि उम्मेदवार बनाईदिन र जिताईदिन उनको सहयोग, साथ र समर्थनको प्रस्ताव लिएर जानेहरूको कमी छैन, जेलमा। आफु निर्वाचनमा उठ्न नपाएपनि कांग्रेसभित्रको राजनीतिक रौनकमा कमी छैन् खड्कामा। १४ अञ्चल र ७५ वटै जिल्लामा काग्रेसको संगठनात्मक अवस्था र निर्वाचनमा उपयुक्त उम्मेदवारको बिषयमा जानकार खड्का कांग्रेसका पुराना र संस्थापन पक्षका नेताहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट उम्मेदवार नदिन सुझाव दिन्छन्। उनी आफुले भने बमोजिम महिला, मधेशी, जनजाति र युवालाई प्रत्यक्ष तर्फ टिकट दिनुपर्ने बताउँछन्। खड्काको निर्वाचनको यस्तो फर्मुलालाई सघाउन काग्रेस केन्द्रीय सदस्य पुष्पा भूषाल, पार्वती डीसी चौधरी, शंकर भण्डारी, अजय चौरसीया लागिपरेका छन्। उनलाई कांग्रेस सिन्धुपाल्चोकका सभापति मोहनबहादुर बस्नेत, नवलपरासीका सभापति देवेन्द्रराज कँडेल, र रौतहट कांग्रेसका सभापति कृष्णप्रसाद यादबले तन, मन र धनले सहयोग गरिरहेका छन्। त्यस्तै, मोरङका कांग्रेस महाधिवेसन प्रतिनिधि रमेशजंग रायमाझीले समेत सहयोग गरिरहेका छन्।
यस्तो छ खड्काको रणनीति:
खड्का निकट स्रोतका अनुसार आफूलाई चित्त नबुझाएमा वा सल्लाह नलिए खड्का सभापति सुशील कोइरालाको निर्वाचन क्षेत्र बाँकेमा फोरमका नेता तर हाल तराई मधेश राष्ट्रिय अभियानमा लागेका सर्बदेब ओझालाई, उपसभापति रामचन्द्र पौडेलका बिरुद्ध तनहुँमा गोबिन्दराज जोशीलाई, महामन्त्री कृष्णप्रसाद सिटौलाका बिरुद्ध नेबिसंघ पूर्ब अध्यक्ष विश्वप्रकाश शर्मालाई झापामा, रामशरण महतबिरुद्ध अर्जुननरसिंह केसीलाई नुवाकोटमा उम्मेदवार उठाउने योजनामा रहेका छन्। त्यस्तै, नयाँ अनुहारलाई प्रत्यक्षतर्फ उम्मेदवार नबनाएमा खड्काले संस्थापन पक्षकै नेताहरू डा.मिनेन्द्र रिजालबिरुद्ध महेश आचार्यलाई, डा. शेखर कोइरालाबिरुद्ध असोक कोइरालालाई मोरङमा र दीपक गिरीबिरुद्ध दाङमा पार्बती डीसी चौधरीलाई उम्मेदवार बनाउनु पर्ने योजना र रणनीतिमा लागेको चर्चा छ।