0

दहितान ढेंकीमा कुटिएको जिन्दगी

सुशील चौधरी
सुशील चौधरी
नाटक विधा ललितकलाको जीवन्त माध्यम हो । नाट्य–विधाको अभ्यासको इतिहास लामो छ । पहिले राजा महराजाहरूको मनोरञ्जनको माध्यमको रूपमा रहेको नाटक अर्थात् रङ्गमञ्चको अभ्यासको   इतिहास पनि लामो छ । पहले राजा महराजाहरूको मनोरञ्जनको माध्यमको रूपमा रहेको नाटक अर्थात् रङ्गमञ्च पछि आएर समकालीन समाजको परिचय दिन, राज्यसत्ता परिवर्तन गर्ने माध्यम हुन पुग्यो ।
मेरो जीवनमा नाटक अध्ययन र जानकार हुने अवस्था बन्यो । मलाई किशोरावस्थादेखि नै नाटक मञ्चन गर्ने अवसर मिल्यो । रामलीला, गब्बरसिंह डाँकु, जस्ता नाटक आफै गरियो । छयालीस सालको   परिवर्तनपछि जनसांस्कृतिक मञ्चद्वारा मञ्चित पचास रूपैयाँको तमसुक नाटकले मेरो मनमा ठूलो प्रभाव पार्यो ।
त्यसपछि रातो रगत उम्लेपछि भन्ने नाटक गाउँमा मञ्चन गरिएको थियो । यसको निर्देशक र नायम म नै थिएँ । त्यसपछि हरेक वर्ष कुनै न कुनै नाटक मञ्चन गरिँदै आएको छ । २०५७ सालमा एम एस   नेपालको सहयोग र आरोहणको संयोजनमा गाउँले नाटक, सडक–नाटक वा हालको कचहरी नाटक अभियानमा लाग्ने मौका मिल्यो । यस क्रमममा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव पनि लिन पाइयो ।
नेपालमा सशस्त्र द्वन्द्व झन् बढ्दै गयो, म शान्तिका लागि शान्ति कार्याकर्ता भएर काम गर्न थालेँ । यता नाट्य–क्षेत्रका हस्ती सुनील पोखरेलले पुरानो वानेश्वर हाइटमा झिङ्गटी बनाएर गुरुकुल सुरु गरे । म सक्रिय रूपमा नाटकलाई निरन्तरता दिन नसके पनि नेपाली नाट्यशैली र प्रवृत्तिबारे अनभिज्ञ भने थिइनँ । मैले गुरुकुलमा मञ्चन भएका धेरै नाटक हेरेको छु । गुरुकुलको परिचय बनेको अग्निको कथा दोह¥याएर हेरेको छु । आरुका फूलका सपना, घनचक्कर, सेतो कपाल, ताराबाजी लैैलैलगायतका नाटक पनि हेर्ने मौका पाएको छु । त्यसपछिका दिनमा मण्डला थिएटर, शिल्पी थिएटर खुले । सर्वनाम पुनर्जीवित भयो । यी र यस्ता कुराले सधँै मेरो मनमा थारू भाषामा पनि यस्तै शिल्पलेपन गरी नाटक देखाउन सके कसो होला भनेर कुतकुती लागिरहन्थ्यो । कमलरीको कथामा खगेन्द्र सङ्ग्रौलाद्वारा लिखित मङ्गलीर्को अधुरो क’ नाटक पढ्दा पनि लोभ लाग्दथ्यो । आफ्नै लेखनमा चार वटा जति नाटक मञ्चन पनि गरिएको हो । तर, धित मरेको थिएन ।
तर गएको महिना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको शिक्षा अडिटोरियममा शिल्पी थिएटरको संयोजनमा थारू भाषाको नाटक दहितान ढेंकी नाटक हेर्ने अवसर मिल्यो । शिल्पीका निर्देशक घिमिरे युवराजद्वारा  निर्देशित उक्त नाटक दहितान ढेंकी हेर्दा म आँखा नझिम्काई हेरेँ । नाटक कतिखेर सकियो थाहै पाइनँ । निर्देशक र कलाकारहरू लहरै उभिएर नमस्कार गरेपछि अनुमान लगाएँ कि नाटक सकिएछ ।
दहिटान ढेंकीले मेरो मनलाई कुट्नु कुट्यो । म त्यस दिन गदगद थिएँ । मेरो लागि अति महत्त्वपूर्ण क्षण थियो । राजधानीमा थारू भाषाको कलात्मक नाटक प्रस्तुत गर्ने सपना एक हदसम्म पूरा हुने अवस्था थियो । मनमनै लेखक तथा निर्देशक युवराज घिमिरे र जीवन्त कलाकारहरूलाई मनमनै धन्यवाद् दिएँ । पछि मञ्चमा गएर नै धन्यवाद् दिएँ । नाटकको कथानक, विषयवस्तु, संवाद र प्रस्तुति शिल्प बेजोड थियो । कलाकारहरूको मेहनतलाई तारिफ गर्ने उपयुक्त शक्द थिएन मसँग किनकि म हर्षविभोर भएको थिएँ ।
सूत्रधारको छोटो भनाइपछि सुरु हुन्छ नाटक दहितान ढेंकी । थारू समुदायमा लोकप्रिय लठ्ठहवा नाचबाट नाटक प्रस्तुत गरिन्छ । नाटकमा दहितान घरका बूढाबूढी, तिनका एक छोरा र छोरी छन् । साथमा बूढा बा पनि परिवारमा छन् । छोरो अल्लारे हुन्छ । पढ्दा पढ्दै आफूसँगैको केटी भगाएर ल्याउँछ । घरको कुटानपिसान त छँदै छ । गाउँको जमिन्दारले खेती बटैया गर्दा ठग्छ । यसै क्रममा बुहारी दुई जिउकी हुन्छे, कलिलै उमेरमा गर्भवती भएकीले समस्या आउँछ ।
अर्की पात्र अस्तुनी छे । उसलाई माछा मार्न राम्रोसँग आउँछ । उसको आर्थिक अवस्था कमजोर छ, बेसाएर खान्छे । उसलाई बोक्सीको आरोप लगाइन्छ ।गाउकै अस्तुनी बोक्सिनी भएको र धान माग्न आउँदा नदिएकोले गर्भवती बुहारीलाई बोक्सी लागेको भनी गुरुवाले खुट्याउँछ । अस्तुनीलाई बोक्सीको आरोपमा बेइज्जत गरिन्छ । तर, समस्याको समाधान हुँदैन ।  नाटक सकिन्छ ।
नाटकलाई कलात्मक बनाउन दृश्यलाई महत्त्व दिइएको छ । गाउँको परिवेश, ढिकी बनाउने प्रयास, विद्यालयको दृश्य पनि लोभलाग्दो छ । कलाकारहरू बढी थारू भाषा, केही अवधी भाषा र एक जना नेपाली भाषामा बोल्दछन् । भाषिक संयोजनको हिसाबले बेजोड छ । नाटकको सबैभन्दा सबल पक्ष नाटकमा भाषा नबुझे पनि नाटकले भन्न खोजेको भाव दृश्य र कलाकारका देह भाषाबाट बुझ्न सक्दछन् । तराईका थारू आदिवासी र मधेशी मुस्लिम समुदायमा रहेका ज्वलन्त समस्या बाल–विवाह र जमिन्दारी शोषणको कथावस्तु समेटेकोले समसामयिक पनि रहेको छ ।
नाटकले समेटेको कथा हाम्रो समाजमा विद्यमान छ । चमेलीजस्ता हजारौँ छोरीहरू कलिलै उमेरमा विवाहबन्धनमा बाँधिन बाध्य छन् । साथीको लहैलहैमा होस् कि सामाजिक  संस्कारका कारण होस्, किशोर आवस्थाको आवेगमा गलत निर्णय लिन पुग्दा ती अबोध छोरीहरू जोखिममा छन् । त्यसका कारण समग्र समाज नै शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा पिछडिएका छन् । एक तथ्याङ्कअनुसार अझै पनि नेपालमा ३५ प्रतिशत विवाह १६ वर्षमुनिका बालबालिका उमेरमा सम्पन्न हुने गर्दछ । त्यो सङ्ख्या आदिवासी जनजाति, मधेशी र मुस्लिम समुदायमा अधिक रहेको छ ।
कलाकारहरूले एउटै किसिमको पोशाक लगाएको हुनाले विभेद नभएको पक्षबाट कुरा ठिक छ । तर, समाज र परिवेश सुहाउँदो पोशाक पनि लगाउन पाए अरू सहज हुने थियो । बोक्सीको भूमिका समाजअनुसार सान्दर्भिक र स्वभाविक दृश्य भए पनि बोक्सीप्रथा आफैमा गलत हो भन्ने सन्देश जान सकेको देखिँदैन । यसको कारण नकारात्मक सन्देश जान सक्दछ । यस सवालमा पङ्क्तिारले निर्देशकसँग जिज्ञासा राख्दा गाउँमा नाटक देखाउँदा ‘कचहरी’ शैली प्रयोग गरिने भएकोले त्यहीँनिर नाटकलाई रोकेर दर्शकसँग संवाद गर्दै बहस सुरु गरेर राम्रो नराम्रोबारे प्रतिक्रिया लिन सकिने भयो भन्ने विचार आयो । अडिटोरियममा सुरुको लट्ठहवा नाचमा मादलको आवाज नपुपेको जस्तो थियो । त्यसकारण नाचमा ऊर्जा कम पाइयो ।
दहितान ढेंकीको कुरा गर्दा हाल गाउँ गाउँ कुटानीपिसानी मिलहरू, सेल र होलरहरू आएका छन् । गुरुवाहरू खाली झारफुक मात्र मोइन डाक्टर वा बेडवालाई पनि देखाउन सल्लाह दिने सुरुवात भएको छ । सबै किशोर किशोरीहरू माया प्रेमका मात्र कुरा गर्ने नभई ठूलो सङ्ख्यामा विद्यालय तथा कलेज जाने क्रम बढेको छ । समाज सङ्क्रमणमा छ । नाटकमा देखाइएको कथावस्तु बीस वर्ष पहिलेको जीवन्त चित्रण छ । तर, अझै पनि बालविवाह र बोक्सी, गुरुवामा विश्वास गर्ने पक्ष ठूलो समस्या नै हो ।
अन्त्यमा शिल्पीले गरेको यो प्रयास नाट्य–क्षेत्रमा नयाँ प्रयोग र सांस्कृतिक समिश्रण भएको महसुस भयो । थारू, अवधी नेपाली भाषी युवा कलाकारहरूको बेजोड प्रस्तुति नाटक दहितान ढेंकीमा समग्र नेपाली चित्र पाउन सकिन्छ । कलाका माध्यमबाट समावेशी संस्कृति बनाउने मेलोजस्तो लाग्यो । नाटकका सबै कलाकारको प्रस्तुति एक से एक थियो । त्यसमा पनि दहितान बूढी, बुहारी र बोक्सीको भूमिकामा देखिने कलाकारहरूले त मेरो मनै चोरे । लठ्ठहवा नाच सकिएपछि पनि लठ्ठीको कलात्मक प्रयोग पनि हेर्न लायक थियो ।
सूत्राधारको सुरु र अन्त्यमा भूमिकाले नाटकको कथालाई प्रस्ट्याउन र पूरा गर्न सघाएको थियो । एउटा नाटकले समाजको समग्र प्रवृत्ति र समस्याको सम्बोधन गर्न सक्दैन तर दहितान ढेंकीले थारू समुदायको सामाजिक विकृति र त्यसले समाज विकासमा पारेको नकारात्मक प्रभावलाई कलात्मक ढङ्गले पस्कन सफल भएको छ । यसका साथै बग्रेल्ती समस्याहरूका बीच पनि मिठो मुस्कानका साथ हाँस्न सक्ने यथार्थ भाव पनि मज्जाले झक्काएको छ, दहितान ढेंकीले ।

Post a Comment

 
Top