0

आँखा रसाए, मन भक्कानियो

जीवन बराल
जीवन बराल
‘मेरो अधिकार मेरो आवाज’ अन्तर्गत बाल स्वास्थ्य समिति र सामुदायिक स्वास्थ्य छलफल कक्षाका ११ बर्से गोर्वद्धन र ५३ बर्से ललीलगायत ३० जना सदस्यले भाग  लिए।   स्याकको आयोजनामा १५ दिनसम्म सञ्चालन भएको उक्त कचहरी नाटक कार्यशालमा सहभागी सदस्यको उमेरमा निकै फरक थियो । कोही त दुई वर्षका बच्चा  काखी    च्याँपेर पनि आएका थिए ।
मेरो फुच्चे साथी सौरभ मलाई सधँै मामा भनेर बोलाउँथ्यो । ऊ आमासँग कार्यशालामा आएको थियो । अरूको आँखा सधैँ उसैमाथि पथ्र्यो । उसले पनि नाटकसम्बन्धी    हरेक क्रियाकलापहरु नियालिरहेको हुन्थ्यो । क्रमशः नाटक सिकिरहेको थियो । उसको सिकाइ साँच्चै नै अनुकरणीय बन्दै थियो । सहभागी सदस्यको भन्दा कम्ती  थिएन ।
“नयाँ दिन नयाँ सम्भावना” कमल दाइको यो उक्तिजस्तै सधँैको कार्यशाला नयाँ हुन्थ्यो । साँच्चै नै प्रशिक्षार्थीहरू उत्साही थिए, उनीहरू आफूभित्रको प्रतिभा खोज्दै थिए ।  केहीले बाहेक धेरै जसोले न त नाटक खेलेका थिए न त कहिल्यै हेरेका नै थिए । नेपालगन्जको ३८–४० डिग्रीको गर्मीमा पसिनाले शरीर नुहाउँदै उनीहरू उत्सुक र लगनशील   भएर काम गर्थे । त्यसबीचमा कति बिरामी पनि परे तर पनि उनीहरूमा आलस्यता र थकान कहिल्यै देखिएन । सायद स्याक बाँकेका हर्क सर र राधिका म्यामको मायाले र   हौसलाले पनि काम गर्यो होला ।
हामी तीन जना सहजकर्ता शिल्पीका तर्फबाट त्यहाँ पुगेका थियौँं, कमल, लुनिभा र म । जेष्ठको ३१ गते ४० डिग्रीको तातो भुतभुतेमा कचहरी नाटकको कार्यशालाका लागि उत्सुक र जिज्ञासु हुँदै काम सुरु गर्यौँ । तेस्रो दिनको संयुक्त कक्षा सञ्चालनपछि हामीले तीन अलग गाविसका सहभागीलाई तीन होटलका हलमा लिएर गयौंँ कुखुराले चल्ला डुलाएझै । पानी परेर ढुसी उठेको हल, तातो हावा फ्याँक्ने एसीहरू, उमालेझँै मिनरल वाटर यी हामी सबैका साझा समस्या भए । तैपनि हामी कार्य सम्पन्न गर्नका लागि कम्मर कस्याँै ।
सबै सहभागीका प्रायः उस्तै समस्या देखिए— घरमा बहुविवाह, सौतेनी आमाले दिएको पीडा, सौताको पीडा आदि आदि । उनीहरूका पीडा हामीलाई सुन्न पनि गाह्रो भयो । सुन्नै सकेनाँै र लेखेर दिनुस् भन्याँै । उनीहरूले दिएका लेख पढ्दा आँखा रसाए, मन भक्कानियो र उही कुरालाई बुनेर नाटक तयार गर्ने निर्णय गरियो । आफ्नै भाषा, शैली, घटना र पात्रहरूमा आफैले अभिनय गर्दा धेरै बेरसम्म रोएर कक्षा सञ्चालन गर्न अप्ठ्यारो पनि पर्योे । यो हुनु स्वभाभिक पनि थियो र आवश्यक पनि । मैैले त धेरै पटक उनीहरूसँग आसु लुकाएर पुछेको थिएँ भने उनीहरू त आफै पीडित पात्रहरू भए ।
उनीहरू सबैको समस्या अभिनय गर्नै जान्दिनँ भन्ने थियो । म बारम्बार रोक्ने गर्थेँ, अभिनय नगर्नुस् भन्दै । उनीहरू टोकुँलाझँै गरेर साउती गर्थे थारू भाषामा “नाटक सिखाई आइल बा अभिनय नाकर कहट ।” मलाई थारू भाषा बोल्न आउँदैनथ्यो केही बुझ्थेँ मात्रै । थारू भाषामा नै नाटक तयार पनि पारियो, बालविवाह, बहुविवाह, स्कुलको समस्या, हस्पिटलको समस्या आदि कुरालाई जोडेर ।
अन्त्यमा बैजापुर गाविसकी सहजकर्ता सिताजी (एस एम भनिँदो रहेछ) को सहयोग हामीलाई प्राप्त भयो । उनले नाटकको निर्माणका क्रममा सँगै बसेर समस्या र त्यसले समाजमा पारेको असरको बारेमा सबैलाई प्रस्ट पारिन् । थारू संस्कृतिको बारेमा उनलाई अझ धेरै आउँदो रहेछ । गीत र संस्कृतिलाई जोडेर नाटकको उठान अझ राम्रोसँग गरिदिइन् । अन्त्यमा सूत्रधारको भूमिका पनि आफैले निभाइन् । उनकै सल्लाहमा अक्सफामको सहयोग र स्याक बाँकेको आयोजनाको १५ दिने कचहरी नाटकसम्बन्धी तालिममा निर्मित नाटकको शीर्षक ‘मायाको सपना’ राखियो ।

Post a Comment

 
Top