बोर्डिङ : शब्दकै बेइज्जत
आजभन्दा एक सय वर्षअघिसम्म नेपालमा शिक्षालाई उच्च घरानिया र उच्च जात मानिने ब्राह्मणहरूको सम्पत्तिका रूपमा लिइन्थ्यो । सीमित वर्गले पढ्ने अवसर पाउँथे, त्यो पनि धार्मिक कर्मकाण्ड, पूजापाठ गर्ने उद्देश्यले मात्र । हिन्दूहरू गुरुकुलमा पढ्थे भने बुद्धिष्टहरू गुम्बामा पढ्थे ।विक्रम संवत् १९१० मा दरबार स्कुल खुलेपछि नेपालमा आधुनिक शिक्षा युगको सुरुवात भयो । तर, सर्वसाधारणका लागि शिक्षाको अवसर सुरु भएको छ दशक मात्र भएको छ ।
सुरुमा त शिक्षा अनिवार्य आवश्यकता हो भनेर बुझ्न नेपालीहरूलाई समय लाग्यो । एउटा पुस्ताले मुस्किलले पढ्यो, तर, जब दोस्रो अनि तेस्रो पुस्ताले विद्यालय टेक्यो, त्यतिञ्जेलसम्म स्तरीय शिक्षाको खोजी हुन थालिसकेको थियो । हुने–खाने परिवारले छोराछोरीलाई विदेश पठाउन थालिसकेका थिए । सोही क्रममा निजी विद्यालय खुल्न थाले ।
२००८ सालमा नेपालकै पहिलो निजी विद्यालयको रूपमा काठमाडौंभन्दा १७ किलोमिटर दक्षिणमा पर्ने फर्पिङमा त्रिभुवन आदर्श स्कुलको नाममा स्थापना भयो । स्थापनाकालमा उक्त विद्यालयमा ६० जना विद्यार्थी बसेर अध्ययन गर्थे । विद्यार्थीहरूसँग मासिक ७० रूपैयाँ शुल्क लिइन्थ्यो । विस्तारै अन्य निजी विद्यालयहरू समेत खुल्दै गए ।
अहिले निजी विद्यालय खुल्ने क्रम यति व्यापक भयो कि, घरैपिच्छे बोर्डिङ भन्दै निजी विद्यालय खोल्ने प्रवृत्तिको आलोचना नै गरिएको छ । तर, पनि नियमै मिचेर पैसा र पावरको भरमा जिल्ला शिक्षा कार्यालयले अन्धाधुन्द अनुमति दिइरह्यो । सङ्ख्यासँगै निजी विद्यालयमा समस्या पनि बढ्दै गएको छ ।
महँगो अनि थोरै विद्यार्थी राखेर स्तरीय शिक्षा दिने विद्यालयको रूपमा परिचय स्थापित ग¥यो, निजी स्कुलले । धेरै सर्वसाधारणका लागि यही स्कुल बोर्डिङको रूपमा चिनिन्छ, अनि धेरै शिक्षक तथा संस्थापक पनि यस्तै सोच्छन्, तर वास्तविकता फरक छ । अनेक लापरबाही र अज्ञानताले निजी विद्यालय सञ्चालक तथा अभिभावकलाई ग्रस्त पारेको छ ।
निजी विद्यालयहरू अक्सर अङ्ग्रेजी माध्यममा पढाइ हुन्छन् । त्यसैले यस्ता स्कुललाई अङ्ग्रेजी माध्यम स्कुल वा इङ्लिस मेडियम स्कुल भन्नुपर्छ । अनि बोर्डिङ स्कुलको अर्थ आवासीय विद्यालय भन्ने लाग्छ तर आजकाल निजी विद्यालय भन्नेबित्तिकै बोर्डिङ भन्ने शब्दको प्रयोग गरिन्छ ।
कतिपयले शब्दको अर्थ नबुझी अनि कतिपयले बुझेर पनि अभिभावकहरूमा भ्रम सिर्जना गर्न बोर्डिङ शब्दको प्रयोग गरेका छन् । यस्तै केही अन्य शब्दहरू पनि छन्, जसको गलत प्रयोगले शिक्षालय चलाउनेहरूको शैक्षिक स्तरमा प्रश्नचिन्ह उब्जाएको छ ।
अङ्ग्रेजी स्कुलबाटै अपमानित अङ्ग्रेजी शब्दहरू
राम्रो पढाउने, परीक्षामा उत्तीर्ण गराउने, गाडी चढाउने, चिप्लेटी खेलाउने, विद्यालयमा पनि सुविधै–सुविधा दिने भनेर खोलिएका अधिकतर निजी विद्यालयहरूको पठनपाठनको अवस्था सोचेजस्तो राम्रो छैन । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भने पनि नेपालीबाटै अथ्र्याउने शिक्षक–शिक्षिकाको बाहुल्यता त छ नै, त्यस्ता विद्यालयका विद्यार्थी अनिवार्य अङ्ग्रेजीमै पनि फेल हुन्छन् । त्यतिसम्म त ठिकै छ, तर अङ्ग्रेजीबाट पढाउने भनेर चिनिने निजी विद्यालयले अङ्ग्रेजी भाषाकै एउटा शब्दको घाँटी निमोठेका मात्र छैनन्, गलत व्याख्या नै गर्ने गरेका छन् । दशकौंदेखि मानमर्दनमा परेर बेइज्जती सहँदै आएको त्यो शब्द हो, बोर्डिङ ।
अहिले अङ्ग्रेजी भाषामा पढाइ हुने विद्यालय वा निजी विद्यालयलाई बोर्डिङ शब्दले जवर्जस्ती अथ्र्याइएको छ र आम अभिभावकले पनि त्यही बुझ्छन् । अभिभावक मात्र होइन, विद्यालय खोल्ने सञ्चालक अनि त्यहाँ पढाउनेहरूले पनि त्यही भ्रम पालिरहेका छन् वर्षौंदेखि । जबकी अङ्ग्रेजी यो शब्दको अर्थ भने अर्कै हुन्छ ।
विकिपिडियाले भन्छ, जब पढ्ने विद्यार्थीहरू एकै ठाउँमा बस्छन्, खान्छन्, पढ्छन्, त्यस्तो ठाउँलाई बोर्डिङ भनिन्छ ।यी सबै परिभाषालाई हेर्ने हो र नेपाली समाजमा बोर्डिङबारेको धारणालाई एकछिन बिर्सिदिने हो भने बोर्डिङले पढाउनुका साथै खाना र आवासको समेत व्यवस्था गर्नुपर्छ अनि मात्र त्यो विद्यालय बोर्डिङ भनिन लायक हुन्छ । तर, अङ्ग्रेजी माध्यममा पढाइ हुने भन्नेबित्तिकै बोर्डिङ स्कुल भनेर लेखिहाल्ने चलन छ, यसले हाम्रा बोर्डिङ सञ्चालकहरू र त्यहाँ पढाउने शिक्षकको बुझाइस्तरमा समेत प्रश्नचिन्ह लगाएको छ ।
बेलायती अङ्ग्रेजीलाई उद्धृत गर्दै अक्सफोर्ड डिस्नरीले भनेको छ, बोर्डिङ त्यस्तो स्कुल हो, जसले छात्र–छात्रालाई खाना र आवास सुविधा उपलब्ध गराउँछ ।
अमेरिकी शब्दकोशमा उल्लेख गरिएको छ कि, बोर्डिङ त्यस्तो स्कुल हो, जहाँ विद्यार्थीहरू कम्तीमा एउटा सेमेस्टरसम्म बस्छन् ।
नेपाली शब्दकोशमा समेत लेखिएको छ, बोर्डिङ भनेको खाना र आवासको सुविधा भएको विद्यालय हो ।
बोर्डिङको सही अर्थ आवासीय विद्यालय हो । कतिपयले त रेसिडेन्टल इङ्लिस बोर्डिङ स्कुल भनेर विद्यालयको नाम राखेको समेत पाइन्छ । बोर्डिङ भनिसकेपछि रेसिडेन्टल (आवासीय) भन्नु आवश्यक छैन ।
धरानस्थित एभरेस्ट बोर्डिङ स्कुलमा विद्यार्थीका लागि आवासीय सुविधा छैन । प्रिन्सिपल सन्तवीर पौडेल भन्छन्, सबैले प्रयोग गरेकाले आफूले पनि प्रयोग गरेको हो ।
उनको तर्क छ, आवासीय सुविधा पछि राख्न सक्छौं । धरानकै ओयासिस इङ्लिस बोर्डिङ स्कुलमा समेत आवासीय सुविधा छैन । प्रकाशपुरको सनसाइन इ बोर्डिङ स्कुलमा पनि विद्यार्थी बस्ने गरी आवासीय सुविधा छैन । डे बोडर्स छ, तर विद्यार्थी बस्ने गरी आवासीय सुविधा भने छैन । आवश्यक परेमा राख्न सक्ने विद्यालयको भनाइ छ । मधुवन, भोक्राहा, चक्रघट्टीका विद्यार्थी आउने उक्त विद्यालयमा कक्षा १० सम्म पढाइ हुन्छ ।
बोर्डिङ शब्दको प्रयोग (दुरूपयोग) सहरीभन्दा पनि ग्रामीण क्षेत्रका विद्यालयले बढी मात्रामा गरेका छन् । अभिभावकले निजी र अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयलाई बोर्डिङ भनेर बुझ्ने हुँदा अभिभावकहरूलाई लोभ्याउनकै लागि यो शब्दको गलत प्रयोग भएको पाइन्छ । अरू त अरू शिक्षा अधिकारीहरूसमेत निजी विद्यालय भन्नासाथ बोर्डिङ भनेर गोलमटोल नाम राखिदिन्छन् ।
प्याब्सन सुनसरीका अध्यक्ष दीलकुमार वनको विद्यालयको नाममा समेत बोर्डिङ भनेर उल्लेख छ । उनको विद्यालयको नाम प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल छ, जबकि त्यहाँ बोडर्सको सुविधा चाहिँ छैन । स्कुलको नाममा रहेको गल्तीलाई वन स्वीकार गर्छन् । उनी भन्छन्, ‘हामीले इङ्लिस स्कुल भनेर दर्ता गर्न प्रस्ताव गरेका थियौं तर बोर्डिङ पनि थपेर स्वीकृति दियो । शब्द छनोट गलत हो भन्ने जानेर पनि हामीले त्यो चलाइरहेका छौं । उनका अनुसार अभिभावकहरूले बोर्डिङ भन्नेबित्तिकै निजी विद्यालय भन्ने बुझ्ने हुँदा पनि बोर्डिङ शब्द कतिपय विद्यालयहरूले जानीजानी राखेका छन् ।
यता, प्राध्यापक केदार पौडेल पनि बोर्डिङ शब्दको गलत प्रयोग भएको बताउँछन् । जानेर र नजानेर यो शब्दको प्रयोग गरिएको छ । उनी भन्छन्, प्राइभेट भन्नेबित्तिकै बोर्डिङ भन्ने बुझाइ भएर पनि यस्तो भएको हो ।
बोर्डिङसँगै इङ्लिस स्कुल भनेर समेत लेखिन्छ । वास्तवमा नेपालमा अङ्ग्रेजी स्कुल धेरै छैनन् । बाँकी सबै अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालय मात्र हुन् । त्यसैले विद्यालयको नाममा इङ्लिस स्कुल भनेर लेख्नु अभिभावक र विद्यार्थी झुक्याउने मेलो मात्रै हो । बरु इङ्लिस मेडियम स्कुल भनेर लेख्नु सही हो । अङ्ग्रेजी भाषामा पढाउने भनिएका विद्यालयहरू आफैंले अशुद्ध लेख्न थालेपछि विद्यार्थीले कस्तो सिक्लान् ?
बोर्डिङ शब्दको मात्र होइन, निजी विद्यालयहरूले यस्तै अन्य शब्दहरू जस्तै एकेडेमी, पब्लिक, इन्टरनेसनललगायतका शब्दको पनि बेइज्जत गरेका छन् । जबकि ती शब्दअनुसारको सुविधा र विशेषता त्यस्ता निजी विद्यालयमा पाइँदैन ।
वास्तवमा यस्ता केही शब्दहरू, जुन अभिभावक तथा आम मानिसले सुन्दा विशेष लाग्छन्, यस्ता शब्द समेटेर विद्यालयको नाम राख्नेबित्तिकै विद्यालयसमेत विशेष हुने र अभिभावकको आकर्षण बढ्ने अनुमान गरिन्छ । सिधासिधी भन्दा विद्यालयलाई विशेष देखाउनकै लागि भारी शब्दको प्रयोग गरिन्छ र आम मानिसमा भ्रम छरिन्छ । यसको प्रयोग कतिपयले व्यापारिक दृष्टिकोणले जानी–जानी र कतिपयले नजानेरै गरिरहेका छन् ।
एकेडेमीको पनि बेइज्जत :
सिद्धार्थ चिल्ड्रेन एकेडेमी इटहरीमा रहेको एउटा निजी विद्यालय हो । कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालयमा न त आवश्यक भौतिक पूर्वाधार छ, न त आवश्यक योग्य शिक्षक–शिक्षिका नै । दर्तासमेत नभई सञ्चालनमा आएको यो विद्यालयमा स्कुल बससमेत छैन । तर, पनि यो विद्यालयको नाममा एकेडेमी जोडेर शब्दकै बेइज्जत गरेको छ । जबकि एकेडेमीले उच्चशिक्षा, अध्ययन, अन्वेषण गर्ने प्रकृतिको संस्था भन्ने बुझाउँछ ।
खासगरी, स्कटल्यान्डका स्कुललाई एकेडेमी भनिन्छ । बेलायतमा सेवामुखी ढङ्गले सहयोगी दाता जुटाएर खोलिएको विद्यालयलाई एकेडेमी मानिन्छ । रुसमा एकेडेमीले रिसर्च सेन्टर बुझाउँछ । तर, नेपालमा भने भौतिक पूर्वाधार, दक्ष शिक्षक र शैक्षिक वातावरण नै नभएका विद्यालयले पनि एकेडेमी शब्द झुन्ड्याउँछन् ।
धरानको माउन्ट हर्मन एकेडेमीमा कक्षा १० सम्म मात्र पढाइ हुन्छ । एकेडेमी शब्दको वास्तविक अर्थअनुसारको अध्ययन र उच्चशिक्षा उक्त विद्यालयमा छैन । तर, प्रिन्सिपल अनुप योन्जन भने विद्यालयलाई अनुसन्धानमूलक संस्थाको रूपमा विकास गर्ने भावी योजना बनाएकाले एकेडेमी राख्नु सही भएको तर्क गर्छन् । ‘अनुसन्धानमूलक संस्थाको रूपमा जाने सोच हो,’ उनले भने ।
प्राध्यापक पौडेल पनि विद्यालयकै नाममा एकेडेमी लेख्नु त्यति सही नभएको तर लेख्दा पनि फरक नपर्ने बताउँछन् । उनका अनुसार प्रालिको नाममा एकेडेमी हुने र शिक्षा कार्यालयले दर्ता गर्दा पनि प्रालिकै नाममा दिनसक्ने हुँदा विद्यालयको नाममा पनि एकेडेमी जोडिएको हुनसक्ने बताउँछन् । पछि विद्यालयलाई क्याम्पस अनि अनुसन्धान केन्द्रकै रूपमा विकास गर्ने हो भने प्रालिको नाममा एकेडेमी सुहाउँछ, नभए एउटा तहसम्म मात्रै पढाइ हुने विद्यालयलाई त्यति उपयुक्त हुँदैन । प्याव्सनका वनका शब्दमा भन्दा, ‘एकेडेमी शब्दले शैक्षिक प्रतिष्ठान बुझाउने हुँदा यसको प्रयोग त्यति अनुपयुक्त होइन ।’
लोकल विद्यार्थी पढाएर इन्टरनेसनल :
निजी विद्यालयहरूको अर्को लापरवाहीपूर्ण काम इन्टरनेसनल शब्दले बताउँछ । न त राम्रो पूर्वाधार, न अन्तर्राष्ट्रियस्तरको पढाइ, न त राम्रो व्यवस्थापन । नाममा इन्टरनेसनल झुन्ड्याएपछि ठूलै विद्यालय रहेछ भन्दै अभिभावकको चासो बढ्ने र आकर्षित गर्न सकिने मनाशयले यस्तो नाम राख्ने गरिन्छ ।
सुनसरीको दुहवीमा मेघानन्द इन्टरनेसनल एकेडेमी नामक निजी विद्यालय छ । कक्षा पाँचसम्म मात्र पढाइ हुने यो विद्यालयको नाममा इन्टरनेसनल राखिएको छ । बेलाबेला भारतमा नाता पर्ने आफ्ना चिनेजानेकालाई विद्यालयमा भर्ना गराएर अभिभावकहरूलाई भ्रममा पार्ने यो विद्यालयमा अहिले भने कुनै पनि विदेशी विद्यार्थी अध्ययन गर्दैनन् ।
पब्लिक भनेर निजी :
मोरङको विराटनगरमा एउटा विद्यालय छ, दिल्ली पब्लिक स्कुल । नाम सुन्दा यो भारतको राजधानी दिल्लीको सार्वजनिक विद्यालय भन्ने अर्थ लाग्छ । तर, यो विद्यालय निजी विद्यालय हो र विराटनगरमा चर्को शुल्क लिने विद्यालयमध्येमा पर्छ । यसअघि भारतीय राष्ट्रगान गाइएको भन्दै विद्यार्थी सङ्गठनको विरोधको निसानामा परेको यो र यस्तै अन्य केही नाफामूलक शैक्षिक संस्थाले अङ्ग्रेजी शब्दको अर्को महाबेइज्जत गरेका छन्, ‘पब्लिक स्कुल’ भनेर ।
पब्लिक स्कुलको सोझो अर्थ नै सार्वजनिक वा सामुदायिक विद्यालय भन्ने लाग्छ । सार्वजनिकको अर्थ सबैको साझा अर्थात् जनताको भन्ने बुझिन्छ । पब्लिक (सार्वजनिक) र प्राइभेट (निजी) विपरीतार्थक शब्द हुन् । त्यसैले प्राइभेट कम्पनीअन्र्तगत दर्ता भएका स्कुललाई पब्लिक स्कुल भनेर लेख्नु एउटा ठूलै फट्याइँ हो ।
झुम्कामा पब्लिक एकेडेमी नामको विद्यालय छ । जुन निजी हो, तथापि पब्लिक अर्थात् नेपालीमा सार्वजनिक अर्थ दिने शब्द जोडेर नाम राखिएको छ । यस्तै, कक्षा १० सम्म पढाइ हुने विद्यालयको नाममा एकेडेमी शब्दसमेत छ । यस्ता विशेष शब्दावलीको प्रयोग गरेर विद्यालयको नाम राख्नुको कारण थाहा छैन, प्रिन्सिपल साजन चौधरीलाई । उनी भन्छन्, ‘म भर्खरै आएको हुँ, फाउन्डरहरूले राख्नुभएको नाम हो, यसबारेका म छलफल गर्छु ।’
प्राध्यापक पौडेल र प्याव्सनका वनसमेत निजी विद्यालयको नाममा पब्लिक राखिनु हास्यास्पद भएको तर्क गर्छन् । ‘पब्लिक भनेपछि जनताको हुनुप¥यो । प्राइभेट विद्यालयले पब्लिक लेख्न मिल्दैन,’ प्राध्यापक पौडेल भन्छन् । हिसानका मोरंग अध्यक्ष बलराम पन्त थप्छन्, ‘दुई चार जना लगानीकर्तँ मिलेर खोलेको विद्यालयलाई पब्लिक भन्नै मिल्दैन ।’ उनका अनुसार बोर्डिङ, एकेडेमी तथा लोकल विद्यार्थी पढाएर इन्टरनेशनल नाम राख्ने निजी विद्यालयहरुको नामलाई स्वीकृती दिने जिल्ला शिक्षा कार्यालयले समेत ध्यान दिनुपर्ने बताउँछ ।
अङ्ग्रेजी नाममा विद्यालय :
विद्यालयको नाम अङ्ग्रेजी शब्दमा राखेर अभिभावक र विद्यार्थीहरूलाई लोभ्याउने परिपाटी नै बनिसकेको छ । विद्यालयको नाम राख्दा डनबस्को, सनसाइन, डान, पेरागन, पोलस्टार, ग्रिन नर्थ, मार्टस्, क्वेस्ट, कृस्टल, मार्टियर, जेम्सजस्ता शब्दको प्रयोग हुने गरेकाले नेपाली शब्दको खडेरी नै लागेको हो त भन्ने प्रश्न उब्जाउँछ । यस्ता शब्दको साटो ठेट नेपाली शब्द राख्दा कुनै पनि विद्यालय सानो हुँदैन । बरु आफ्नो भाषा, संस्कृति र आफ्नै देशको परिचय स्थापित हुन्छ ।
विद्यालयको नामले विद्यालयको स्तर निर्धारण गर्दैन । बेलायत, अमेरिकाजस्ता मुलुकमा अङ्ग्रेजी भाषा बोलिने हुँदा ती देशका विद्यालयको नाममा पनि अङ्ग्रेजी भाषाकै शब्द प्रयोग गरिएको हो । उनीहरूको सिको गर्दै नेपालको राष्ट्र भाषा नेपाली हो । बरु थारु, चौधरी, राई, लिम्बूजस्ता समुदायमा प्रचलित शब्दको नामबाट विद्यालयको नाम राख्न सकिन्छ । तर, अङ्ग्रेजी, त्यो पनि खासै नसुनिएका शब्दहरूको प्रयोगले विद्यालयको गरिमा बढाउँदैन, झन् घटाउँछ ।
सनराइजको साटो सूर्योदय अनि मार्टस्को साटो सहिद राख्दा पनि विद्यालयले दिने शिक्षामा कुनै परिवर्तन आउने होइन । त्यसैले विद्यालय सञ्चालकहरूले आफ्नो सोचमा परिवर्तन ल्याउँदै अभिभावकहरूको भ्रम चिर्न जरुरी छ । किनकि शिक्षा दिनु भनेको किताबी पाठ रटाएर परीक्षामा पास गराउनु मात्र होइन, राष्ट्रप्रेम, भातृत्व, मेलमिलाप, शान्ति र समृद्धिलाई प्रोत्साहित गर्नु पनि हो ।
Post a Comment