0

के भन्छ युवा नीतिले ?

२८ साउन, 
 सरकारले चार वर्षअघि ल्याएको राष्ट्रिय युवा नीतिले गरेको व्यवस्था अनुसार काम भएको भए यतिबेला कुनै युवाहरु शिक्षा, स्वास्थ्य र रोजगारबाट बञ्चित हुँदैनथिए । अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा यो र त्यो भएन भन्दै सरकारको आलोचन भन्दा पनि सबैतिर खुशीयाली र रमझम भैरहेको हुन्थ्यो । तर सरकारको नीतिमा भएको व्यवस्था कागजमा मात्रै सीमित हुँदा युवाहरुले पहिलेजस्तै अहिले पनि आफूहरु हक, अधिकार र सेवासुविधाबाट बञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
 गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रिय स्वाधिनता तथा नेपालको सार्वभौमसत्तालाई अक्षुण्ण राख्न, आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रुपान्तरणमा युवा नेतृत्वको सम्भावनाहरुलाई मूर्त रुप दिन र राज्य सञ्चालनका हरेक प्रकृयामा युवाहरुको सक्रिय सहभागितालाई सुनिश्चित गर्न भन्दै २०६६ सालमा राष्ट्रिय युवा नीति ल्याइएको हो ।
यो नीति अनुसार युवा भन्नाले १६ देखि ४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरुलाई जनाउँछ । तर ४० वर्ष उमेर पार गरेकाहरु समेत आफूहलाई युवा भनेर गर्व गर्छन् ।
यस्तो छ नीतिमा :
राष्ट्रिय युवा नीतिले यूवाहरुको लागि मुख्य निम्न व्यवस्था गर्ने जनाएको छ
· युवाहरुका लागि गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको अधिकारलाई स्थापित गर्न समन्वयात्मक तरिकाले कार्यक्रम सञ्चालन गर्ने ।
· उच्चमाध्यमिक तहसम्मको शिक्षालाई क्रमशः निःशुल्क तथा अनिवार्य बनाउनेतर्फ पहल गर्दै युवाहरुको शिक्षामाथिको पहुँचलाई सुनिश्चित गर्ने ।
· प्रतिभावान युवाहरुका लागि उच्च शिक्षाको अध्ययनलाई सहज र सुलभ बनाइनेछ भने विशेष प्राथमिकताका समूहलाई लक्षित गरेर विशेष कार्यक्रमहरु सञ्चालन गर्ने ।
· विशेष प्राथमिकताको समूहमा पर्ने युवाहरुको शिक्षाको अवसरलाई बढावा दिनका लागि विशेष छात्रवृत्तिको व्यवस्था मिलाउने ।
· राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक दक्ष जनशक्तिको विकास गर्ने खालका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने । साथै विदेशी श्रम बजारमा संलग्न युवाहरुलाई लक्षित गरी विशेष शैक्षिक कार्यक्रम संचालन गर्ने ।
· औपचारिक शिक्षाबाट बञ्चित युवाहरुका लागि आवश्यक सीपमूलक तालिम तथा साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
· युवाहरुको आधारभूत स्वास्थ्य सेवालाई सुलभ गराउँदै स्वास्थ्यसम्बन्धी सूचनामा युवाहरुको पहुँच कायम गर्ने ।
· युवाहरुलाई यौन स्वास्थ्य सुरक्षासम्बन्धी शिक्षा प्रदान गर्दै सबै प्रकारका यौनजन्य हिंसाबाट मुक्त गराउँदै सुरक्षित र सकारात्मक यौन्व्यवहार अपनाउन प्रोत्साहित गर्ने ।
· घातक प्रकृतिका रोगहरुबाट युवालाई जोखिममुक्त गराउन स्वास्थ्यसम्बन्धी परामर्श सेवा केन्द्रहरुको स्थापना गर्ने ।
· भोकमरी र कुपोषणबाट प्रभावित युवाहरुको पहिचान गरी उनीहरुप्रति लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने ।
· गर्भवती र प्रसुती अवस्थाको हेरचाहलाई राज्यको दायित्वको रुपमा स्थापित गर्नेतर्फ कार्यक्रम सञ्चालन गर्ने ।
· बेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था नहुँदासम्म सामाजिक संरक्षण प्रदान गर्नेसम्बन्धी विषयलाई अध्ययनको आधारमा अगाडि बढाउने ।
· बालविवाह, बहुविवाह जस्ता कुप्रथालाई अन्त्य गर्नका लागि युवालाई परिचालन गर्ने ।
· रोजगारी अभिवृद्धि गर्न उद्यमशीलता तथा अन्य व्यवसायिक तालिम प्रदान गर्दै ग्रामीण र कृषिजन्य उद्योगको विकासमा जोड दिइनेछ ।
· आर्थिक र सामाजिक रुपान्तरणका लागि गाउँ र शहरमा सहकारीको स्थापना गर्न युवाहरुलाई प्रोत्साहन गर्ने ।
· वैदेशिक रोजगारमा क्रियाशील दक्ष युवाहरुलाई स्वदेश फर्की स्वरोजगार र उद्यम गर्ने वातावरण तयार गर्ने ।
· वैदेशिक रोजगारमा जानुअगावै देशभित्रै युवाहरुलाई जनशक्तिको माग अनुरुपको औपचारिक तथा प्राविधिक तालिम लिई रोजगारीमा पठाउने कार्यक्रमलाई बढावा दिइने ।
· विदेशमा रहेका युवाहरुका विधिध समस्याहरुलार्य समाधान गर्न आवइशक संयन्त्र निर्माण गरी युवाहरुलाई वैदेशिक रोजगारका नाममा ठगिनबाट बचाउने ।
· महिलाका लागि गुणात्मक र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्न सुरक्षा र रोजगारमूलक कार्यक्रमहरुमा जोड दिने ।
· युवाहरुको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक सशक्तीकरणका लागि युवा सचेतना एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने ।
· युवाहरुलाई स्वदेश तथा विदेशको अनुभव दिलाउन युवा आदान-प्रदान, अध्ययन भ्रमण, देशदर्शन तथा युवाशिविर कार्यक्रम सञ्चालन गर्ने ।
· १८ वर्ष मुनिका युवाहरुलाई मदिराजन्य र सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा पहुँच नहुने व्यवस्था गरिने ।
· बिभिन्न मुलुकहरुमा भैरहेको नेपाली युवाहरुको तस्करी रोक्न कानुनी व्यवस्थालाई कडाईका साथ लागू गर्ने ।
· अवैध एवं असुरक्षितन गन्तव्यमा नेपाली युवाहरुलाई विदेशिन नदिन आवश्यक प्रबन्ध गरिने ।
· साधनस्रोतहरुको उपयोग, कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा प्रशोधन, जलविद्युत्त लगायतका क्षेत्रहरुमा आधुनिक प्रविधिको विकासमा मेधावी युवाहरुलाई आकषिर्त गर्न विशेष छात्रवृत्तिको व्यवस्था गर्ने ।

Post a Comment

 
Top