0

अल्छी पुरुषको भान्सा अनुभव

मिलन तिमिल्सिना -

 स्कूल पढाउने जहानसित म सधैं फूर्ति गर्थें–तिमी त्यही स्कूल ओहोरदोहोर गर्ने त हो, म त विहानदेखि बेलुकासम्म जागिर खाँदाखाँदा हैरान छु ।

उनले भन्दा तेब्बर बेसी काम गर्छु भन्ने मलाई लाग्थ्यो । तर दुईदिन भान्साको ‘लुतेधन्दा’ गर्दा थाहा भयो, मैले भन्दा जहानले कति हो कति बढी काम गर्ने रहिछिन् ।
दिउँसो स्कूल जाने जहानले मात्र होइन, अरु जागिरे काम नगरेर दिनभर घरधन्दा मात्र गर्ने आमा, काकी र हजुरआमैहरुले त जागिरेले भन्दा पनि चौबर बढी काम गर्ने रहेछन् ।
अरुबेला लर्‍याङ्तर्‍याङ् गर्न सक्ने गरी बिरामी हुँदा समेत जहानलाई कहिल्यै पनि भान्साको काममा सघाइन । केही दिनअघि उनी ओछ्यानबाट उठ्नै नसक्ने गरी थला परिन् । सधैं क्यान्टिनबाट ओसारेको दाल, तरकारीले मात्र टार्न, पुर्‍याउन सकिएन । जे त होला नूनभुटन अड्कल गर्न नजाने पनि दाल तरकारी समेत आफैं बनाउन पर्‍यो भनेर कस्सिएँ ।
भात जाबो नै बनाउन त त्यति झण्झट होइन । कुकरमा यसो चामल राखेर खललल पानी हाल्यो । ग्यास सल्कायो । चुल्होमाथि बसाल्यो । दुई सिटी लगाएपछि पुग्यो । तर दाल, तरकारी र अचार बनाउनु साह्रै अल्छी लाग्दो काम ।
यही काम जाँगर चलाएर गर्ने पुरुष मित्रहरु पनि देखेको छु । मेरो आफ्नै बा समेत जिब्रोमा झुण्डिने गरी ट्वाक्क पारेर भात, तरकारी बनाउनुहुन्छ । तर म अल्छी बरु भोकै बस्ने, आफैंले पकाएर खान नखोज्ने ।
घरमा बिरामी जहानलाई त जसोतसो बनाएरै दिनपर्‍यो । चामल अनुसार पानी अड्कलेको दिन छ भने त भात राम्रै बनाउँथे । तर दाल, तरकारीमा नूनभुटन र मरमसला अड्कल्न कहिल्यै जानिन । ओछ्यानमै बसेर जहानले यसोयसो गर्नु भनेर निर्देशन दिइन् ।
उनले भने अनुसार खुरुखुरु गर्दै गएँ । लसुन, प्याज केलाउ, तरकारी पखालपुखुल र काटकुट पार, जिरा, खुर्सानी पिँध, कराई बसाल, तेल खन्याउ, तेल ताते नतातेको जाँच गर, ज्वानो मेथी पड्काउ, झ्वाईं पारेर ओइर, चलाईचुलाई बनाऊ, बेसार र नून अड्कल, पानी हाल, पाके पछि झिक ।
यी सबै भाँती पुर्‍याएर गर्न निकै सिप र जाँगर चाहिने रहेछ । खानुअघिको यो तयारी र खाइसकेपछिको जुठोचुल्हो र धोईपखालीको काम पनि उत्तिकै झण्झटिलो । जुठो निखारेर भाँडा पखाल, चुल्हो पुछपाछ गर, राखन धरन गर । यति काम गर्न दिनभर जागिर खाएको भन्दा पनि बढी मेहनत र परीश्रम गर्नुपर्ने । जागिरे काममा भन्दा बढी सीप चाहिने ।
जहानले सिकाउँदा समेत दुई दिन भान्सामा बस्दा मैले अझै नूनभुटन अड्कल्न जानिसकेको छैन । टलक्क टल्काउने गरी भाँडा धुन र सिनित्त हुने गरी भूईं बढार्न सिकीसकेको छैन । हात नकाट्ने गरी तरकारी काट्ने र नपोल्ने गरी पकाएको भाँडा झिक्ने खुबी अझै पलाइसकेको छैन ।
आमा, काकी, जहान र हजुरआँबैहरुले जस्तो मिठो भात तरकारी बनाउन सक्ने जाँगर र सीप हुन अझै मैले धेरै मेहनत गर्नुपर्छ ।
दुई दिन भान्साको अनुभवबाट मैले थाहा पाएँ, जागिरेको भन्दा भान्सा र घरधन्दा गर्नेहरुको काम कति गाह्रो हो कति । दुःख, कष्ट, हैरानी र झण्झट उस्तै । जागिरेको त बिदा हुन्छ, पैसा हुन्छ ।
भान्सा र घरधन्दामा गर्नेहरुलाई बिदा र तलब खै ? म जागिर खान्छु भनेर नाक ठाडो पार्नेले जस्तै म घरधन्दा र भान्साको काम गर्छु भनेर छाती फुलाउने पालो हाम्रा आमाहरुको कहिले आउँछ ? भान्साको काम त केही होइन भनेर सधैं आमा र जहानको घरधन्दालाई अवमूल्यन गर्ने म जस्ता पुरुषले जागिरे भनेर धाक लगाउनु नै बेकार छ ।
हामी धेरै जागिरेहरुले बल्लतल्ल आफ्नो एक्लो ज्यान मात्र पाल्न सकेका छौं । जागिर नहुने आमा, काकी र आमैहरुले त आफूलाई अड्कलेर भएपनि परिवारको पेट भरेका छन् ।
जागिरको धाक लाएर एक्लो ज्यान पाल्न पनि धौधौ पर्नेले घरधन्दालाई पनि गतिलो कामको रुपमा सम्मान गर्न सिक्नुपर्छ । घरधन्दालाई पनि श्रमको रुपमा गणना गर्नुपर्छ । दुई दिनको भान्सा अनुभवले मेरो त यति चेत खुल्यो भने मभन्दा चौबर बेसी गर्नेहरुलाई त यो कुरा कति खड्किएको होला ?

Post a Comment

 
Top