0

‘फिल्मी शैली’को बिरोध गर्ने प्रचण्डका ‘फिल्मी कलाकार’ !कमल पराजुली/

        गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको घटनालाई फिल्मी शैलीमा चर्काएको भन्दै एकीकृत नेकपा माओवादीले बिरोध गर्‍यो ।

छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै अधिकारीका बृद्ध बाबुआमाले अनसन चर्काइरहेका बेला एमाओवादीले पत्रकार सम्मेलन नै गरेर घटनालाई नउचाल्न चेतावनी दियो ।
अधिकारी हत्या प्रकरणलाई उचालेको भन्दै बिरोध गर्न एमाओवादीले गरेको पत्रकार सम्मलेन नै फिल्मी शैलीमा रचिएको थियो । घटनाको सत्य नबुझी उचालिएको प्रमाणित गराउन एमाओवादीले घटनाका आरोपी भनिएकासहित केही अरु पनि फुजेलका बासिन्दालार्ई पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो ।
पत्रकार सम्मेलनमा उनीहरुलाई पालैपालो बोल्न लगाईयो । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ती पढेर सुनाउनुभयो । त्यसपछि घटनाका मुख्य आरोपी भनिएकी फुजेलकै माओवादी कार्यकर्ता जानुका पौडेललाई बोल्न लगाइयो । झण्डै १० मिनेट बोलेकी पौडेलले घटनामा आफ्नो कुनै संलग्नता नरहेको र घटनाका बेला आफू सुत्केरी बिदामा रहेको सफाई दिनुभयो ।
त्यसपछि प्रवक्ता सापकोटाले यो घटनालाई यसरी उचालिएकोमा काँग्रेस, एमालेलगायतका अरु पार्टीले बिरोध गरिरहेको भन्दै एमालेका फुजेल गाउँ कमिटी सदस्य भन्दै एक व्यक्तिलाई बोल्न लगाउनुभयो ।
‘यो घटनालाई लिएर गोर्खाको फुजेललाई नै आपराधिक माटो बनाईएको छ, हामीले त हाम्रो कुरा भनिसक्यौं, अब अरु पार्टीका कुरा पनि सुनौं । हामीसँग हुनुहुन्छ, एमालेका गाउँ कमिटी सदस्य कृष्ण ढकाल । म उहाँलाई आफ्ना कुरा राख्न अनुरोध गर्दछु’ प्रवक्ता सापकोटाले यसो भनेपछि पत्रकारको पछाडि बसिरहेका एकजना मोटाघाटा र अग्ला कदका व्यक्ति उठेर मञ्चमा पुगे ।
एमाले गाउँ कमिटी सदस्य भनिएका ढकालले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको छेउमा उभिएर माओवादी नेताहरुकै शैलीमा घटनालाई अतिरन्जित भन्दै उचालिएको बताउनुभयो । भाषणका क्रममा उहाँले आफू गाउँ कमिटीमा रहेको बताएपनि कुन पार्टीको हो भन्ने कुरा केही बताउनुभयो  । एमाओवादी प्रवक्ता सापकोटाले परिचय गराएजस्तो उहाँले आफू एमाले हो या होइन भन्ने कुरा खुलाउनु भएन् । झण्डै तीन/चार मिनेट बोलेपछि उहाँ आफ्नो बाटो लाग्नुभयो ।
उहाँको कुरा सुन्दा लाग्थ्यो, उहाँ एमालेका कार्यकर्ता होइन । खास कुरा के रहेछ त ? यसबारे एमाले गोरखाको फुजेल गाउँ कमिटी अध्यक्ष छविलाल तिवारीसँग टेलिफोन सम्पर्क गर्दा उहाँले उज्यालो अनलाइनलसँग भन्नुभयो ‘ढकाल हाम्रो गाउँ कमिटीमा हुनुहुन्न, काठमाडौंतिरै बस्नुहुन्छ । पहिले हाम्रो कमिटीमा भएपनि अहिले नवीकरण गर्नुभएको छैन, उहाँ एमाले होइन ।’
यस्तै एमाले गोरखा जिल्ला कमिटी अध्यक्ष रामशरण बस्नेतले पनि ढकाल आफ्नो पार्टीको कार्यकर्ता नभएको पुष्टी गर्नुभयो । यसबाट थाहा भयो, अधिकारी हत्या प्रकरणलाई फिल्मी शैलीको भनेर बिरोध गर्ने प्रचण्डले पत्रकार सम्मेलनमा आफैंले ‘फिल्मी कलाकार’ लाई ल्याउनुभएको रहेछ ।

Post a Comment

 
Top