0

'र' प्रमुख जोशी नेपालमा

 भाद्र ४ - भारतीय बाह्य गुप्तचर संस्था रिसर्च एन्ड एनालिसिस विङ 'र' का प्रमुख आलोक जोशी सात दिनदेखि नेपालमा छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को त्रिभुवन विमानस्थलस्थित स्रोतका अनुसार गत बुधबार काठमाडौं ओर्लेका जोशी सोमबारसम्म फर्केका छैनन् । मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनबारे परामर्श गर्न आएका जोशीले प्रमुख दलका विभिन्न शीर्ष नेतासूग भेटी चुनावी सुनिश्चिततामा जोड दिएको स्रोतले बतायो ।
काठमाडौं ओर्लिएकै दिन बुधबार निर्वाचन प्रक्रियाप्रति असहमत उपेन्द्र यादव नेतृत्वको मधेसी फोरमसहित आठ दलसम्बद्ध संघीय लोकतान्त्रिक मोर्चा र उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेका महन्थ ठाकुर, विजयकुमार गच्छदारलगायत सम्बद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासँग भेटघाट गरेको स्रोतले बतायो । दुवै मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी मधेसमा प्रत्यक्ष निर्वाचित क्षेत्र थप्नुपर्ने, समानुपातिक प्रतिनिधित्व पहिलेकै संविधानसभा निर्वाचनकै जस्तो ५८ प्रतिशत पुर्‍याउनुपर्ने, मतदाता नामावली दर्ताका लागि एक महिना थप्नुपर्नेलगायत माग राखेका थिए ।
'र' प्रमुख आगमनको भोलिपल्टै गत बिहीबार उच्चस्तरीय समिति र संघीय मोर्चाबीच ६ बुँदे सहमति भएको थियो । छोटो अवधि मतदाता दर्ताको म्याद थप्ने र समानुपातिक अनुपात बढाउनेमा सहमति बनेको थियो । दुवै मोर्चाले मधेसमा क्षेत्र थप्नुपर्ने र संघीय मोर्चाले रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने अडान त्यागेपछि सहमति बनेको हो ।
सैनिक गुप्तचर स्रोतका अनुसार उच्चस्तरीय समितिसम्बद्ध बाहेक निर्वाचन प्रक्रियाप्रति अझै असहमत नेकपा-माओवादीका केही नेतासँग समेत जोशीले भेटेका छन् । जोशी सोमबार जनकपुर क्षेत्र पुगेका छन् । अघिल्लो संविधानसभा निर्वाचनताका नेपाल मिसन प्रमुख रहेका जोशी गत डिसेम्बर ३० मा 'र' प्रमुखमा नियुक्त भएका थिए ।

Post a Comment

 
Top