0

दार्जीलिङमा 'जनता घर बाहिर' कार्यक्रम घोषणा

 नेपालको राजधानीमा रहेका दार्जीलिङबासीहरुले गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा आइतबार गर्न लागेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले रोक लगाएको छ ।
काठमाडौंमा बस्दै आएका दार्जीलिङका भारतीय नागरिकहरुले आइतबार बेलुका ५ बजे लैनचौरस्थित आफ्नो देशको दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका थिए । प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरु तितर-वितर भएका छन् ।
gorkhaland
आफूहरुले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाऊ दिन दार्जीलिङबासीहरुको एउटा टोली आइतबार दिउँसो बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । आफ्नो देशको दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति माग्दै सो टोलीले प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसमक्ष लिखित निवेदन दिएको थियो ।
तर, प्रजिअले प्रदर्शन गर्न सक्नुहुन्छ, हामी हनुमानढोका प्रहरीलाई जानकारी गराउँछौं भनेर पठाए पनि प्रहरीले प्रदर्शन गर्न रोक लगाएको आयोजकहरुले अनलाइनखबरलाई जानकारी दिएका छन् । ‘सिडियो साहेबले हुन्छ, गर्नोस् भनेर पठाउनुभयो तर लैनचौरस्थित भारतीय दूतावास अगाडि पुग्दा त्यहाँ अघि नै प्रहरी तैनाथ गरिएको रहेछ, प्रहरीले हामीलाई शान्तिपूर्ण कार्यक्रम गर्न दिएन ।’ गोर्खाल्याण्डका समर्थक निकेन गुरुङले अनलाइनखबरसँग भन्नुभयो ।
नेपाल सरकारले अनुमति दिए पनि दूतावासको दबाबमा आफ्नो कार्यक्रम बिथोलिएको हुन सक्ने गुरुङले बताउनुभयो । प्रहरीले गोर्खाल्याण्डको समर्थनमा प्रदर्शन गर्न नदिएपछि गोर्खाल्याण्ड आन्दोलनका समर्थकहरुले ठमेलमा भेला भएर आन्तरिक छलफल गरेका छन् ।
यसैबीच गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा आन्दोलनरत दलहरुको संयुक्त समिति ‘ज्वाइन्ट एक्सन कमिटी’ले आन्दोलनको स्वरुप परिर्वतन गरेको छ ।
सोमबार ‘जनता घरभित्र’ अर्थात जनकफ्र्यू कायर्म राखिएको छ भने मंगलबारबाट ४ दिन ‘जनता घर बाहिर’ अर्थात र्‍याली गर्ने घोषणा गरिएको छ । ‘हामीले आफ्नो कार्यक्रम परिर्वतन गरेका छौं’ गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले फेसबुकमा लेख्नु भएको छ-’हामी गोरखाल्याण्डको आवाज सुनाउन चाहन्छौं ।’ यसअघि ५ दिने जनता घरभित्र कार्यक्रम घोषणा गरिएको थियो ।

Post a Comment

 
Top