यस्ता छन् वैद्य माओवादीका गोप्य योजना
संविधानसभा निर्वाचन असफल बनाउन नेकपा–माओवादीले मोबाइल टावर भत्काउनेदेखि प्रहरीका हतियार खोस्नेसम्मका योजना बनाएको सूचना गृह मन्त्रालयले पाएको छ । दुई साताअघि दाङमा बसेको माओवादी बैठकले यस्तो नीति बनाएको भन्दै गृहले सुरक्षा रणनीति सर्कुलर गरेको छ ।
गृह मन्त्रालयले संकलन गरेको गोप्य सूचनाअनुसार माओवादीको दाङ बैठकले ४ मंसिरमा हुने निर्वाचनलाई जीवनमरणको लडाइँ बनाएको छ । सबै कदम चालेर निर्वाचनलाई असफल बनाउन खोजेको भन्दै गृहले माओवादीका शीर्ष नेताहरूलाई निगरानीमा राखेको छ । उनीहरूका चुनावविरोधी गतिविधि निस्तेज पार्न सुरक्षा निकायलाई सर्कुलर गरिसकेको छ ।
गृहले गरेको सर्कुलरमा मोबाइल टावर हान्ने तथा प्रहरीको हतियार खोस्नेजस्ता माओवादी रणनीतिउपर सचेत रहन भनिएको छ । टेलिकम टावर तोडफोड गर्दा सञ्चार विच्छेद हुने र चुनाव भाँड्न सजिलो हुने नीति माओवादीले बनाएको गृह स्रोतको दावबी छ । गृहको सर्कुलरमा वैद्य माओवादीले जनव्रिदोहका लागि वातावरण बन्दै गएको उल्लेख गर्दै बिस्तारै अर्धभूमिगत हुने, त्यसपछि हतियार प्रयोग गर्ने र त्यसपछि पूर्ण रूपमा भूमिगत हुने रणनीति लिएको कुरा उल्लेख छ ।
चुनाव भाँड्न सम्पूर्ण शक्ति खर्च गर्ने निर्णय भएको सूचनाका आधारमा वैद्य माओवादीका क्रियाकलापमाथि सुरक्षा निकायले विशेष निगरानी बढाएको छ । सबै निर्वाचन क्षेत्रमा कमान्डर नै तोकेर माओवादीले निर्वाचन बहिष्कार तथा प्रतिकारका कार्यक्रम अघि सारेको छ । स्रोतका अनुसार सुरक्षाकर्मीले माओवादीका केन्द्रीय नेताको हरेक दिनको गतिविधि माथिल्लो निकायमा रिपोर्टिङ गर्न थालेका छन् ।
नेताले पिएसओ छाडे
सुरक्षा निकायले निगरानीमा राख्न थालेपछि सरकारबाट व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) लिएका नेकपा–माओवादीका नेताहरू अधिकांश समय पिएसओविना नै हिँड्न थालेका छन् । नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेल र सचिव नेत्रविक्रम चन्द विप्लव पिएसओलाई काठमाडौंमै छाडेर चुनावविरोधी गोप्य बैठक तथा कार्यक्रममा लागेका छन् । विप्लव सुदूरपश्चिममा छन् भने गजुरेल विराटनगरमा ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य तथा अन्य नेताहरू रामबहादुर थापा, पम्फा भुसाल र देव गुरुङले भने पिएसओ लिएरै हिँड्ने गरेका छन् । शान्तिप्रक्रियामा आएदेखि नै उनीहरूलाई सरकारले सुरक्षाका लागि नेपाल प्रहरीबाट पिएसओ खटाउँदै आएको छ । ‘पिएसओले आफ्ना गोप्य गतिविधिको माथिल्लो निकायमा रिपोर्टिङ गर्न सक्ने भएकाले पिएसओ लिन छाडेको हुनसक्छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।
पिएसओ पाएका माओवादीका नेताहरूले पनि पिएसओलाई काठमाडौंमै छाडेर उपत्यकाबाहिर जान थालेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । गृह मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि नेकपा–माओवादीले केही पेस्तोल सरकारलाई बुझाएको छैन ।
जनयुद्धका क्रममा कब्जा गरेका केही हतियार नेकपा–माओवादीसँग रहेको प्रहरीको आँकलन छ । जाजरकोटमा नियमित रूपमा मर्मतमा रहेका हतियार केही महिनाअघि प्रहरीले बरामद गरेको थियो । त्यो हतियार पनि वैद्य माओवादीको भएको प्रहरी स्रोत बताउँछ । माओवादी चुनाव असफल बनाउन २५ कात्तिकदेखि साताव्यापाी आमहडतालको घोषणा गरिसकेको छ । चुनावविरोधी गतिविधिलाई तिहारपछि चर्काउने उसको योजना रहेको गृहको सूचना छ । त्यसकारण सुरक्षा निकायले वैद्य माओवादीका गतिविधिमाथि निगरानी र सतर्कता बढाएको हो । सरकारले लागू गरेको एकीकृत सुरक्षा योजनामा पनि चुनावमा प्रमुख चुनौतीका रूपमा वैद्य माओवादीलाई लिइएको छ ।
बहिष्कारवादीको निशानामा उम्मेदवार
चुनाव बहिष्कारको आह्वान गरेको नेकपा–माओवादीले उम्मेदवारलाई प्रमुख निशाना बनाउने तयारी गरेको छ । मतदाता, सुरक्षाकर्मी र कर्मचारीभन्दा पनि प्रत्यक्ष वा समानुपातिकमा रहेका उम्मेदवारमाथि ‘हस्तक्षेप’ गर्ने नीति पोलिटब्युरो बैठकबाट तय भएको छ । केही जिल्लामा जबर्जस्ती हस्तक्षेप बढाउने र चुनाव स्थगनका लागि प्रमुख राजनीतिक दल र सरकारलाई दबाब दिने माओवादी नीति छ । माओवादीले उम्मेदवारमाथि नै हस्तक्षेप नबढाएसम्म चुनाव स्थगन नहुने भन्दै उम्मेदवारका कार्यक्रममा हस्तक्षेपको नीति लिएको छ । नेकपा–माओवादीले सुर्खेतमा चुनावी कागजात कब्जा गरेको छ, प्युठानमा माओवादी उम्मेदवारमाथि आक्रमण र पाँचथरमा कांग्रेस सभामा हस्तक्षेप गरेको छ । बुधबार नेकपा–माओवादीका कार्यकर्ताले रसुवामा एकीकृत माओवादीका कार्यकर्तामाथि आक्रमण गरेका छन् । बुधबार नै मतदाता शिक्षा सामग्री जलाएका छन् । नेकपा–माओवादी स्रोतका अनुसार चुनावका क्रममा उम्मेदवारलाई नियन्त्रणमा लिने, उम्मेदवार सहभागी भएका कार्यक्रममा हस्तक्षेप गर्ने, झडपको अवस्था आए उम्मेदवारमाथि निशाना बनाउनेलगायतका कार्यक्रम तय भएको छ । मतदातामाथि भने कुनै हस्तक्षेप नगर्ने नीति तय भएको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार चुनावमा खटिएका कर्मचारी र प्रहरीसँग पनि भिडन्त नगर्ने, राजनीति दलका स्थानीय नेता–कार्यकर्तासँग पनि सकेसम्म टकराव नगर्ने सो पार्टीले नीति तय गरेको छ । सचिव देव गुरुङले बहिष्कारको कार्यक्रम पूर्वघोषितअनुसार नै हुने बताए । मोर्चाको पूर्वघोषित कार्यक्रममा १० दिने आमहडताल, उम्मेदवारलाई सामाजिक बहिष्कार, जिल्ला प्रवेशमा रोक लगाउने, शीर्ष नेताहरूको पुत्लादहन गर्नेजस्ता छन् । चुनावमा हस्तक्षेप बढाउने नीतिअन्तर्गत माओवादीका नेता–कार्यकर्तासमेत प्रहरी प्रशासनको पहुँचबाट टाढा हुन थालेका छन् । माओवादी उपाध्यक्ष सिपी गजुरेलले र सचिव विप्लवले त आफ्नो निजी सुरक्षा अधिकारी (पिएसओ) र गाडी छाडेर काठमाडौंबाहिर निस्केका छन् । चुनाव बहिष्कारको राजनीतिक नेतृत्व सचिव विप्लवले र सैन्य नेतृत्व पूर्व लडाकु कमान्डर उदय चलाउने पाएका छन् । चलाउने माओवादी युवा संघ जनस्वयंसेवक संघका संयोजकसमेत हुन् । माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले २५ कात्तिकदेखि ५ मंसिरसम्मलाई १० दिने आमहडतालको आह्वान गरिसकेको छ । ३ कात्तिकबाट भएको सेना परिचालनबाट पनि माओवादी झस्किएको छ । तर, माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्य यस्तो संक्रमणमा सेना बहिष्कारवादीहरूका विरोधमा आउन नसक्ने बताउँछन् । माओवादीले ‘गाउँगाउँमा बहिष्कार र ठाउँठाउँमा प्रतिरोध’को नारा बनाएको छ । माओवादीमा एउटा पक्ष दमन भए प्रतिकार गर्ने र त्यसैबाट युद्ध थाल्ने भन्नेमा छ । अर्को पक्ष बहिष्कार मात्रै गर्ने भन्नेमा छ । उसका नेताहरूले सशक्त बहिष्कारको शब्द प्रयोग गरिरहेका छन् । ‘हामी सशक्त बहिष्कार गर्छौँ,’ पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले भने । उनले बहिष्कारको रूप सरकार र चार दलले चाल्ने कदमले निर्धारण गर्ने बताए । ‘सरकार र चार दलले कस्तो कदम चाल्छन्, त्यसैमा भर पर्छ,’ केसीले भने, ‘दमन गरे प्रतिरोध गर्ने विश्वव्यापी नियम हो ।’ तीन दिनयता नेकपा–माओवादीका निर्वाचन बहिष्कार गतिविधि ६ कात्तिक घटना १– जागरकोट १ मा एकीकृत माओवादीले प्रचारका लागि लगेको प्रचारप्रसारका सामग्री नेकपा–माओवादीका कार्यकर्ताबाट कब्जा । घटना २– नुवाकोटमा नेकपा–माओवादीका कार्यकताले एकीकृत माओवादीका रसुवाका उम्मेदवार प्रेम तामाङका प्रचार सामग्रीमा आगजनी । घटना ३– रसुवामा नेकपा–माओवादीका कार्यकर्ताले एकीकृत माओवादीका प्रचार सामग्रीमा आगजनी, रसुवा लहरेपौवा–३ निवासी लक्ष्मी आचार्य घाइते । ७ कात्तिक घटना १ एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड धनकुटा जाने भएपछि नेकपा–माओवादीबाट धनकुटा बन्द । धनकुटा जान नदिन नेकपा–माओवादीका कार्यकर्ताद्वारा कोसी राजमार्गका विभिन्न स्थानमा रूख ढाली बाटो अवरोध । घटना २ दाङ ४ मा एमाले सचिव शंकर पोखरेलको गाडीमा नेकपा–माओवादीका कार्यकर्ताबाट ढुंगा प्रहार । घटना ३ ताप्लेजुङ १ एकीकृत माओवादीका उम्मेदवार सञ्चपाल मादेनसहितका कार्यकर्तामाथि नेकपा–माओवादीका कार्यकर्ताबाट आक्रमण । घटनामा मादेनसहित जिल्ला सहइन्चार्ज काजी भट्टराई र वाइसिएल जिल्ला अध्यक्ष तारा भट्टराईलगायत कार्यकर्ता घाइते । घटना ४ मोरङ शनिश्चरे–७ मा खस समाजवादीको प्रचार सामग्री नेकपा–माओवादीबाट कब्जा । ८ कात्तिक घटना १ सिरहाको जमदह–३ स्थित सरस्वती माध्यमिक विद्यालयको परिसर र मुक्सार–३ स्थित एमाओवादीको गाउँ इकाइ कमिटीको कार्यालयमा बम फेला । बम नेकपा–माओवादीले राखेको आशंका, तर पुष्टि भएको छैन । घटना २ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरदैलो कार्यक्रम प्रभावित पार्न वैद्य माओवादीद्वारा सिरहा बन्द घोषणा, तर बन्द असफल । सेनालाई गोली हान्नेसम्म अधिकार निर्वाचन सुरक्षा गर्दा सेनाले गोली प्रहारसम्मको अधिकार पाएको छ । निर्वाचन बिथोल्नेलाई सेनाले गोली प्रहारसम्म गर्न सक्ने सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलको भनाइ छ । सुरक्षा स्थिति प्रहरी र सशस्त्रको नियन्त्रणभन्दा बाहिर गएमा सेना मैदानमा उत्रने सैनिक प्रवक्ताले बताए । ‘वातावरण प्रहरी र सशस्त्रको नियन्त्रणभन्दा बाहिर गए मैदानमा खटिने सेना हो,’ उनले भने, ‘यस क्रममा सेनाले सबै उपाय अपनाउनेछ, त्यो भनेको गोली प्रहारसम्मको अधिकार प्रयोग हुनु हो ।’ गोली प्रहारको अधिकार प्रयोग गर्न जिल्ला सुरक्षा समिति, क्षेत्रीय सुरक्षा परिषद्को निर्णय निर्णायक हुने उनको भनाइ छ । ‘निर्वाचन सुरक्षा वातावरण बिथोल्न खोज्नेमाथि गोली प्रहारसम्म हुन सक्छ,’ उनले भने, ‘तर यसका लागि निश्चित चरणहरू पूरा गर्नुपर्ने हुन्छ ।’ सम्बन्धित जिल्ला सुरक्षा समिति, क्षेत्रीय सुरक्षा परिषद्को सुरक्षा विश्लेषण यसमा निर्णायक हुने उनले बताए । एकीकृत निर्वाचन सुरक्षा योजनामा सेनालाई चुनावी सुरक्षा घेराका तेस्रो तहमा राखिएको छ । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहनेछ । अवाञ्छित गतिविधिमा संलग्नको गिरफ्तारी, भीड नियन्त्रण गर्न लाठी प्रहार, अश्रुग्यास प्रयोगलगायतका सुरक्षा उपाय प्रहरीले अपनाउन सक्ने गृह मन्त्रालयले जनाएको छ । ब्याक सपोर्टमा रहेका सशस्त्रले प्रहरीलाई सहयोग गर्नेछ । सैनिक मुख्यालय स्रोतका अनुसार एकीकृत सुरक्षा योजनाअन्तर्गत तय गरिएका अति संवेदनशील र संवेदनशील क्षेत्रमा चुनावी वातावरण बिथोलिन सक्ने सम्भावना धेरै रहेको विश्लेषण गरिएको छ । सोहीअनुसार परिचालित हुने सेनाको संख्या निर्धारण गरिएको छ । सेनाले ती निर्वाचन क्षेत्रमा घटीमा सेनानीको कमान्डमा एक सय ५७ सैनिक परिचालन गरिसकेको छ । सुरक्षाको दृष्टिले सामान्य मानिएको चुनावी क्षेत्रमा भने सहसेनानीको कमान्डमा ४९ सेना परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ । प्रवक्ता पोखरेलले भने, ‘आवश्यकताअनुसार सेनाको संख्या थपघट हुन सक्छ । हाम्रो उद्देश्य निर्वाचनलाई सहज ढंगले सम्पन्न गराउन सुरक्षा वातावरण निर्माण नै हो । यसमा हामी कटिबद्ध छौँ ।’ चुनावी सुरक्षाकै क्रममा सेनाले मतपेटिका, मतपत्र सुरक्षा, बम डिस्पोज, हवाई गस्ती, मोबाइल गस्ती, पैदल गस्ती, मतपत्र ढुवानीलगायतका काम गर्नेछ । |
Post a Comment