0

दसैं : नो न्युज प्लिज

कोतमा बलीको तयारीकोतमा बलीको तयारी तस्बिर:दीपेश श्रेष्ठ
'नो न्युज इज गुड न्युज। नो जर्नालिस्ट इज इभन बेटर,' निकोलस वेन्टलीका यी शब्दले यतिखेर समाचार कक्षमा काम गर्नेलाई होच्याइरहन्छ। राष्ट्रिय पर्व छ। अखबारहरु सबै बन्द छन्। समुन्द्री तुफानको लहर दक्षिणतिर आउँदा यहाँको आकाशमा पर्दा लागेको छ। सूर्य निस्तेज। समाचार कक्ष रित्ता।
टेलिभिजन र रेडियो अनि नयाँ पुस्ताको अनलाइन मिडियामा काम गर्नेहरु यही नवमीको 'ग्लुमी सन्डे'मा पेशाको मर्म जोगाइरहेका छन्। आज नवमी। सुन्धाराबाट ५ मिनेटको दुरीमा रहेको तलेजुमा लामो लाम छ। नजिकैको कोतघरमा रगतको भल बगेको छ – बलीले। त्यही भलनजिकैबाट नागरिककर्मी दीपेश श्रेष्ठले बली दिँदै गरेका तस्बिरहरु खिचेर इमेल गरिसकेका छन् – अफिसको मेलमा।

विदामा घर हिँडेका साथीहरुले पनि समाचार टिपाउने कर्म गरेका छन्। जवकी उनीहरुको दायित्व थिएन त्यो। समाचारसँग ठोक्किँदै रमाउनेहरु समाचार दिन किन चुक्थे र। समाचार दिने कर्म आजमात्र होइन विदाका कुनै दिन पनि टुटेको छैन। जिल्लाका साथीहरु मिथिलेश यादव, मदन ठाकुरका मेलहरु कुनै पनि बेला फुत्त आइपुग्छन पत्तो छैन।

फुलपातीको दिन समाचारको खडेरी थियो। फोन बज्यो। केशव थोकरको रहेछ। 'बस पल्टियो। कति मरे भन्न सक्दिन उद्दारमा छु,' उसले एकै सासमा भन्यो। दोलखातिर जाँदै गरेको बस भिरतिर झरेछ। केशव चढेको बस केही पछाडि थियो रे।

साथीहरुसँग मस्त म त्यहाँबाट सोझै अफिस हानिएँ। नो न्युज इज गुड न्युज। यस्ता समाचार हुनुभन्दा समाचार नहुनु नै बेस। फोटो पत्रकार केशव फोटो खिच्नुभन्दा पहिले मानिसको उद्दारमा लागेछ। त्यसपछिमात्रै क्यामरा चलाएछ। उसले समाचार दिनु र स्कुप फोटो दिनुभन्दा केहीको ज्यान जोगाउनु ठीक ठान्यो। उसैलाई उदृत गर्दै समाचार हालेँ। त्यसमा दोलखाका पत्रकार रमेश खतिवडाले थपथाप पारे।

भोलिपल्ट मैले फेसबुकमा लेखिदिएँ –

हिजोनागरिकका फोटोपत्रकार केशव थोकरले थुप्रैको उद्दार गरे-दोलखा बसदुर्घटनामा। समाचार पनि टिपाए घटनास्थलबाटै। फोटो चै खिच्न भ्याएनछन्क्यार!

सामाजिक सञ्जालमा उसको कदमको तारिफ भयो। पत्रकार मित्र उमेश श्रेष्ठले लेखे: सलाम केशव थोकर, जसले मेरो काम त क्यामेरा चलाउनु मात्र हो भनेर सोचेनन्।

अर्का फोटो पत्रकार मित्र रवि मानन्धरले लेखे:फोटोपत्रकारकोहृदयकति कोमलहुन्छ भनेर केशव थोकरले प्रमाणित गरिदिएको छ। हिजोकोकेशवको कामले सारा नेपाली फोटोपत्रकारको शिर उचो भएको छ। स्यावास केशव मपनि तिमीलाई सलाम गर्छु।

अब आजको कुरा। ९:३० मा सम्पादन सकिएको राससको समाचार ११:३० मा मात्र अपलोड भएको रहेछ। ठूला समाचार छैनन्। मुलुकको एकमात्र समाचार संस्थामा आउने समाचार देख्दा कहिलेकाँही विरक्तै पनि लाग्छ। अनि भन्न मन लाग्छ: केही न केहीको समाचार भन्दा नो न्युज इड गुड न्युज।

दसैंमा राजनीतिक गतिविधि छैनन्। राजधानी सुनसान पार्ने गरी मानिसहरु घर फर्केका छन्। यही फर्काइको क्रममा दुर्घटना बढ्छन्। अनि त्यही समाचार पस्केर हामी संचारकर्मी काम देखाइरहेका हुन्छौं।

सबैतिर बिदा। मानिसहरु घर परिवारमा व्यस्त। ठूला समाचार खोज्ने जनशक्ति पनि विदामा। अनि के हालेर समय भर्ने? मिडियामाथि ठूलो दवाव परेको छ।

अफिसमा एक्लै होइन्छ। आफू हुँदा सहकर्मी मदन चौधरी हुन्न। उ यता अक्षर खेतीमा जुट्दा म हुन्न। अरु साथीलाई दसैं लागेको छ।

अर्कोतिर धेरै स्कुप पनि खेरै जान्छ यतिखेर। टेलिभिजनका दर्शक कम छन्। रेडियोका स्रोता पनि कम्ति नै। अनलाइन त अझ ओरालो। मानिसहरु नो न्युज इज गुड न्युज र नो जर्नालिस्ट इज इभन बेटर भनेर रमाइलो गरिरहेका छन्। तर, समाचार आएकैछ- भलै त्यो महत्वका हिसाबले कमजोर होस। नो जर्नालिस्ट इज बेटर भने पनि आफै त्यही कर्ममा छु। र अक्षर खेती गरिरहेको छु। र यो क्रम जारी रहन्छ जसले जे भने पनि…।

Post a Comment

 
Top