कांग्रेस कार्यकर्तामाथि एमाओवादीको आक्रमण
कात्तिक ११ –
भोट माग्न गाउँ छिरेका नेपाली कांग्रेसका कार्यकर्तामाथि नुवाकोटको क्षेत्र नं २ को गाउँखर्कमा एकीकृत नेकपा माओवादी कार्यकर्ताले आक्रमण गरेका छन् ।
आक्रमणबाट वेतिनीका नुरबहादुर तामाङ, राउतवेशीका अच्युत आचार्य र नर्जामण्डपका सहदेव उप्रेती घाइते भएका छन् । घाइतेलाई सोमबार विहान जिल्ला अस्पताल ल्याइएको छ ।
राउतवेशीको चुनावी कार्यक्रम सकेर गाउँखर्क गएका कांग्रेसका जिल्ला सचिव रमेश महतको समुहमाथि माओवादीले सोमबार राती साढे १२ बजेतिर वास बसेको ठाउँमा आक्रमण गरेका हुन् ।
वाइसिएल केन्द्रीय सदस्य राजन गौतमको समूहले घेरा हालेर कुटपिट गरेको नेपाली कांग्रेसले जनाएको छ । आक्रमणको क्रममा भागाभाग हुँदा गाउँखर्कका टपिन्द्रसिंह तामाङ र बेतिनीका रुप लामा तामाङ सोमबार विहान ११ वजेसम्म सम्पर्क विहीन भएको सचिव रमेश महतले बताउनुभयो ।
सदरमुकामबाट ४० किलोमिटर टाढा चुनावी कार्यक्रममा हिडेका कांग्रेस कार्यकर्ताहरु एक घरमा दुई समूह बनाई वास वसेका थिए । घरको माथिल्लो तलामा वसेका महतलाई आघा घण्टा नियन्त्रणमा लिएर तल्लो तलामा सुतेका कार्यकर्तामाथि माओवादीले कुटपिट गरेका थिए ।
हतियारधारी माओवादीको समूहले ‘गाउँको लागि के गर्यौं र भोट माग्न आउँछौं । यहाँ भन्दा माथि भोट माग्न गए ज्यान लिइन्छ’ भन्दै कुटपिट गरेको सचिव महतले बताउनुभयो । माओवादीले कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेसको टोली राउतवेशीको कार्यक्रम स्थगित गरी सदरमुकाम फर्किएको छ ।
एकीकृत नेकपा माओवादीले भने आफूहरुलाई घटनामा मुछिएको मात्र दावी गरेको छ । ‘हाम्रा साथीहरु त्यस्तो घटनामा संलग्न भएको जानकारी आएको छैन, हामीलाई मुछ्ने काम मात्र गरिएको हो’ जिल्ला कार्यालय सचिव नवीन पुडाशैनीले भन्नुभयो
Post a Comment