प्रचण्डकी छोरी हुनुको पीडारोसन पुरी
कात्तिक ११ –
संविधानसभा चुनावमा प्रत्यक्ष तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार भएदेखि नै प्रचण्डपुत्री रेणु दाहाल चर्चामा आउनुभएको छ ।
एकीकृत नेकपा माओवादीको उम्मेदवार भन्दा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी भएर उम्मेदवार बनेको भन्नेहरु धेरै छन् । तर अध्यक्षको छोरी भएर होइन आफ्नै क्षमताका कारण उहाँ उम्मेदवार बन्नुभएको एमाओवादीका नेता कार्यकर्ता बताउँछन् ।
प्रचण्ड निवास लाजिम्पाट स्रोतका अनुसार परिवारमा फरक स्वभावकी रेणुले आफ्नै बाबुलाई भेट्न समेत राजनीतिक हैसियतमा जानुहुन्छ । श्रीमान अर्जुन पाठक सहित काठमाडौंको बबरमहलमा बस्ने उहाँले अध्यक्ष प्रचण्डसँग हरेक भेटमा पारिवारिक भन्दा पनि पार्टीगत कुराकानी गर्नुहुन्छ ।
तर चुनावी प्रचार तीव्र भएपछि भने उहाँले आफ्नै बाबुलाई पारिवारिक मात्र होइन, राजनीतिक नाताले समेट भेट्नुभएको छैन ।
प्रचण्डसंगको भेटमा पनि पारिवारिक कुराकानी हुँदैन
पारिवारिक हिसाबले प्रचण्डसँग उहाँको भेट नभएको त लामो समय भएको छ । पार्टीगत हिसाबले पछिल्लो समय एकीकृत नेकपा माओवादी काठमाडौं क्षेत्र नम्बर १ ले गरेको चियापान कार्यक्रममा उहाँको प्रचण्डसँग भेट भएको थियो । उहाँलाई बुवा प्रचण्डसँग भेटवार्ता गर्न पहिलेदेखि नै समस्या हुने गरेको छ ।

रेणुले भन्नुभयो ‘बुबासँग भेटवार्ताका लागि पहिले पनि समस्या हुन्थ्यो । लामो समय भयो उहाँसँग भेट भएको छैन । भेट हुँदा पनि पारिवारिक हिसाबले कुरा हुँदैन । अरुलाई दिनुपर्ने समय मैले नै लिएँ भने तमाम पार्टी कार्यकर्तालाई समस्या हुनसक्छ । त्यसैले पनि मैले उहाँसँग पारिवारिक कुराकानी गर्दिन । अझ अहिले त यो असम्भव छ ।’
रेणुको घरतर्फको परिवार पनि पुरै पार्टीमा होमिएको छ । संविधानसभा चुनावमा उम्मेदवार बन्ने भन्दा पनि अभियानमा लाग्ने उहाँको इच्छा थियो । एकीकृत नेकपा माओवादी काठमाडौं क्षेत्र नम्बर १ की संयोजक समेत भएकी रेणुलाई क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको थियो । अरु निर्वाचन क्षेत्रमा विवाद भएपनि क्षेत्र नम्बर एकमा पार्टीकै तर्फबाट कुनै विवाद भएन । नेपाली कांगेसका महामन्त्री प्रकाशमान सिंहसँग चुनाव लड्नु उहाँका लागि पनि चुनौतीको कुरा हो ।
प्रचण्डकै कारण चुनावमा टिकट पाएको भन्नेहरुलाई रेणुले यसरी जवाफ दिने गर्नुभएको छ ‘अध्यक्षले चाहेको भए त अत्यन्त सजिलो क्षेत्रमा मलाई उम्मेदवार बनाउनुहुन्थ्यो होला । चुनौतीपूर्ण क्षेत्रमा मलाई किन उम्मेदवार बनाउनु हुन्थ्यो होला र ? तर म उम्मेदवार भएपछि काठमाडौं क्षेत्र नम्बर १ मा जित सुनिश्चित भएको छ । कार्यकर्तामा निकै नै उत्साह छ ।’
नेताका छोराछोरी हुनु नै समस्या
बाबु आमा राजनीतिमा लागेपछि राम्रोसँग आमा बाबुको माया ममता पाउन नसकेको भन्दै रेणु आफूहरुका समस्या कसैले नसुन्ने गुनासो गर्नुहुन्छ । उहाँले राजनीतिका कारण पढ्न पाउनु भएन भने राजनीतिक अवस्थाले नै उहाँलाई छिट्टै विवाह बन्धनमा बाँधिन बाध्य पारेको थियो ।
उहाँले नेताका छोराछोरीका साझा समस्याको प्रतिनिधित्व गर्नुहुन्छ । नेताका छोराछोरीलाई अहिले परिरहेको समस्याका विषयमा बुझ्दै नबुझ्ने र अनावश्यक आलोचना गर्नेहरुलाई उहाँको यस्तो प्रश्न छ :
नेताका छोराछोरीले पढे भने हेर न नेताले अरुका छोराछोरीलाई राजनीतिमा लगाएको छ आफ्ना छोराछोरीलाई पढाएको भन्छन् । हामी राजनीतिमा लाग्यौं, अनि हेर न नेताले आफ्ना छोराछोरीलाई राजनीतिमा स्थान दियो भन्छन् । राजनीति पनि नगर्ने र नपढ्ने हो भने हेर न नेताले आफ्नै छोराछोरीलाई राजनीतिमा पनि लगाउन सकेको छैन न त पढाउन सकेको छ यस्ताले के गर्छन् भनेर आलोचना हुन्छ । व्यवसाय गरेपनि बाबुको आडमा व्यवसाय गरेको भन्छन् । जे गरेपनि हामीलाई आलोचना गरिरहन्छन् । यो हामीले निम्त्याएको समस्या भन्दा पनि बिरोधीले सस्तो प्रचारका लागि गर्ने मिडियाखेती हो । हामी हाम्रै बलबुताले राजनीतिमा लागेका हौं । एकपटक राजनीतिक पृष्ठभूमिलाई हेर्न म सबैलाई आग्रह गर्छु । सस्तो लोकप्रियताका लागि समाचार बनाउनेहरुले तमाम यस्ता प्रश्नको जवाफ कसरी दिनुहुन्छ ? ’
रेणु दाहालको राजनीतिक पृष्ठभूमि
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डकी छोरी रेणु वि.सं. २०३४ साल असार २४ गते चितवनको शिवनगरमा जन्मनुभएको हो । उहाँ माओवादीको नेवा राज्य समितिको सचिवालय सदस्य हुनुहुन्छ ।
सधैं साधारण जीवनशैलीमा रहने उहाँ सानै उमेरदेखि राजनीतिमा लाग्नुभयो । बुबा प्रचण्ड देश र जनताको निम्ति राजनीतिमा सक्रिय भएर लागेकाले पनि रेणुलाई सानैदेखि राजनीतिमा लाग्ने प्रेरणा मिल्यो ।
२०५३ सालमा अर्जुन पाठकसँग जनवादी विवाह गरेकी रेणुका दुई सन्तान छन् । बबरमहलमा भाडामा बस्ने उहाँ पार्टीले ०५२ सालमा सशस्त्र युद्ध सुरु गर्नुभन्दा पहिलेदेखि विभिन्न राजनीतिक कार्यक्रमहरुमा सहभागी हुनुहुन्थ्यो ।
बुबा भूमिगत भएदेखि उहाँलाई पनि सुरक्षाका दृष्टिले खतरा बढ्दै गयो । उहाँ अध्यक्ष प्रचण्डलाई भारतमा भेट्न जाँदा उहाँको विवाह भयो र प्रवासमा रहेर पार्टीको काम गर्नुभयो ।
औपचारिक रुपमा २०५३ सालमा तत्कालीन माओवादीको पार्टी सदस्यता लिएकी उहाँ अखिल भारत महिला संघमा आबद्ध हुनुभयो । महिला इकाई सदस्य हुँदै जिल्ला, राज्य र केन्द्रको महासचिव हुँदै उहाँ केन्द्रीय अध्यक्ष भएर काम गर्नुभयो ।
उहाँ २०५८ सालमा पार्टीको राज्य समिति सदस्य बन्नुभयो । त्यस क्रममा माओवादीको हरियाणा–पञ्जाव क्षेत्रको इन्चार्ज समेत बन्नुभएको थियो ।
२०६३ सालमा नेपाल फर्केर रोल्पा जिल्लाको सह–इन्चार्ज बनेकी रेणु एकीकृत नेकपा(माओवादी) को नेवा राज्य समिति सचिवालय सदस्य र अनेमसंघ (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य हुनुहुन्छ ।
महिला इकाइदेखि राजनीतिक यात्रामा भूमिगत भएर लागेकी रेणु पहिलो संविधानसभामा समानुपातिकको तर्फबाट सभासद् बन्नुभएको थियो ।
Post a Comment