0

देशभरिमा ४९ मतदान केन्द्र अपाङ्ग मैत्री

यो पटक विद्युतीय मतदान नहुने

१० कात्तिक,
मंसिर ४ को संविधानसभाको चुनावमा देशभरिका ११ वटा निर्वाचन क्षेत्रका ४९ वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने भएको छ । निर्वाचन आयोगले मतदान केन्द्रसम्म पुग्ने अपाङ्गता भएका मतदाताहरुलाई लाइनमा नबसी मतदान गर्न सक्ने व्यवस्था मिलाउने जनाएको छ ।
अपांगता भएका मतदाताले हृविल चियरबाट गुडेर अपांग मैत्री मतदान केन्द्रमा प्रवेश गरी भोट दिन सक्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सिरहा, कञ्चनपुर, धनकुटा, मोरङ, पर्सा, सर्लाही, कैलाली, झापा, कास्की, बाँके, बाग्लुङ, रूपन्देही र दाङ लगायत जिल्लामा अपाङ्गमैत्री मतदान केन्द बनाउने तयारी गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले बतउनुभयो ।
wheelchair-users‘अपाङ्गता भएका मतदाताहरुको बढी जनसंख्या भएको स्थान र स्थानीयस्तरबाट भएको मागवमोजिम योपटकको चुनावमा पहिलोपटक परीक्षणको रुपमा अपाङ्ग मैत्री मतदान केन्द्र बनाउँदैछौं ।’ प्रवक्ता राईले भन्नुभयो, ‘अपाङ्ग महासंघसँग आवश्यक परामर्श गरेर यो व्यवस्था गर्न लागिएको हो । हृवीलचियर गुडेर जान सक्ने स्थानमा मात्र हामीले यो व्यवस्था गरेका हौं ।’
यो पटक विद्युतीय मतदान नहुने
आयोगले काठमाडौं, कास्की, रोल्पाका एक एक क्षेत्र र मधेसका २० जिल्लाका एक सय १९ निर्वाचन क्षेत्रमा विद्युतीय मतदान यन्त्र (ईभीएम) प्रयोग गर्ने जनाएको थियो । ६४ वटा दलको मात्र सूची इभिएममा अटाउन सकेकाले योपटक इभिएम लागू नगरिएको आयोगको भनाइ छ । निर्वाचन कार्यालय पर्साले वीरगन्जमा ४ वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्साका ५ निर्वाचनक्षेत्र मध्ये ४ वटा निर्वाचन क्षेत्रमा एक-एकवटा अपाङ्ग मैत्री मतदान केन्द्र बनाउन लागिएको हो ।
पर्सा क्षेत्र नम्बर १ को बीरगञ्ज उपमहानगरपालिका १९ स्थित नेराप्रावि मतदान केन्द्र, २ नम्बर क्षेत्रमा वीरगंज उपमहानगरपालिका १४ स्थित श्री नेपाल राष्ट्रि्रय उच्च माध्यामिक विद्यापीठ श्रीपुर मतदान केन्द्रमा , ३ नम्बर क्षेत्रको रामस्वरुप रामप्रीत मावि झौवागुठी मतदान केन्द्रमा र ४ नम्बरको जिल्ला उचांगल मावि पोखरीया मतदान केन्द्रमा गरी ४ स्थानमा अपांग मैत्री मतदान केन्द्र बनाउन लागिएको निर्वाचन कार्यालय पर्साका प्रमुख मधुकर पोखरेलले बताउनुभयो ।
त्यसैगरी बागलुङमा पनि ३ वटा अपांगता मैत्री मतदान केन्द्र बनाइने भएको छ । जिल्लाको क्षेत्र नं. १ को रामरेखा निमाविको मतदान केन्द्र, २ को जनताधन उच्च मावि र ३ को उत्तर गंगा उच्च माविमा अपांग मैत्री मतदान केन्द्र बनाउने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले जानकारी दिनुभयो ।
अपांग मैत्री मतदान केन्द्र निर्माण गरेपछि दुवै कान नसुन्ने, आंखा नदेख्ने, बोल्ने नसक्ने, दुवै हात नभएका, हिंडडुल गर्न नसक्ने लगायतका अपांगता भएका व्यक्तिले सजिलै मतदान गर्न पाउने छन् । जिल्लाका करिव एक हजार अपांगता भएका व्यक्तिले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका छन् । योपटकको चुनावमा कैलालीका चार र कञ्चनपुरका तीनवटा मतदान केन्द्र पनि अपांगमैत्री हुने भएका छन् । अपांगता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म हृवीवलचियर गुडाएर पुग्ने गरी अपांगमैत्री बनाइएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
पहिलोपटक निर्माण गरिएका अपांगमैत्री केन्द्रमा अपांगता भएकाहरुलाई सजिलोसँग मतदान गर्न सहयोग पुग्ने कैलाली निर्वाचन कार्यालयका शाखा अधिकृत लक्ष्मीराज जोशीले बताउनुभयो । कैलालीको क्षेत्र नम्बर २ को बलियामा रहेको राष्ट्रिय उमावि मोतिपुर मतदान केन्द्र, क्षेत्र नम्बर ४ को सुखडस्थित राष्ट्रिय उमावि, क्षेत्र नंम्बर ५ को श्रीपुरस्थित शैलेश्वरी उमावि र क्षेत्र नम्बर ६ को बेहडी स्कुलको मतदान केन्द्रमा अपांगमैत्री बनाइएको हो ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को गुलरियास्थित कृष्ण उमावि मतदान केन्द्र, क्षेत्र नम्बर ४ को शान्ति निकेतन उमाविको मतदान केन्द्र र सोही निर्वाचन क्षेत्रको महेन्द्रनगर उमावि मतदान केन्द्रमा अपांगमैत्री निर्वाचन केन्द्र रहेका छन् । जिल्लास्थित निर्वाचन कार्यालयहरुले मतदाताको मागको आधारमा यो पटक सीमित स्थानका मतदान केन्द्रलाई मात्र अपाङ्गमैत्री बनाइएको जनाउँदै निर्वाचन आयोगका प्रवक्ता राईले यो पटकको प्रतिकृया बुझेर अर्कोपटकको निर्वाचनमा यसलाई विस्तार गर्न सकिने बताउनुभयो ।

Post a Comment

 
Top