मह जोडीः कुनै दिन छुटि्टने अवस्थासम्म पनि पुगेको थियो
शेखर अधिकारी
- जीवनभर सँगै जिउने वाचा गरेर सात फेरो लगाउने जोडी छुटिन्छ । मितेरी साइनो टुक्रन्छ । साथीभाइको सम्बन्ध क्षणभरमै सकिन्छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ३४ वर्षसम्म कसरी सँगै ? अनि मह जोडीबीच फाटो, झगडा, बैमनश्यता छँदै छैन ?
'अवश्य छ,' राजधानीमा जारी साहित्य सम्मेलनमा मह जोडीले खोले सम्बन्धमा कुनैबेला उत्पन्न भएका दरार । 'नढाँटी भन्दा हामीबीच प्रतिस्पर्धा छ,' मह जोडीको सम्बन्धको उतारचढावबारे हरिवंश पहिले बोले, 'मदन दाइ मेरो प्रतिस्पर्धी पनि हो, र म उहाँको प्रतिस्पर्धी, हामी दुवैको रोल राम्रो होस् भन्ने चाहन्छौं, त्यति हुँदा पनि मेरो राम्रो होस् भन्ने हाम्रो चाहना हुन्छ ।'
मदनकृष्णले पनि जोडीमा आएका उतारचढावलाई लुकाएनन् । 'तर कम्प्रोमाइजमा चल्छ यो जोडी,' करिव एक हजार दर्शकमाझ मदनकृष्णले खुलाए ।
कुन समय थियो, मह जोडीबीच साँच्चै फाटो आउन खोजेको थियो ? हरिवंश ती दिन पनि सम्झिए, मदनकृष्णले पनि 'हैन' सकेनन् ।
फिलिम नामको चलचित्र निर्माण गर्नेताका यो जोडीबीच फाटो आउन खोजेको रहेछ । हरिवंशले 'टेलिसिरियल र नाटकमात्र कति खेल्नु दाइ अब फिल्म बनाउँ' भनेर मदनकृष्णलाई प्रस्ताव गरेछन् । 'दाइले वास्ता गर्नुभएन,' हरिवंशले विगत कोट्याए, 'म किन चुप लाग्ने भन्ने भयो म फिलिम नामको फिल्म बनाउन लागेँ ।'
सोचेपछि काम फत्ते गर्ने स्वभावका हरिवंशले फिल्मको काम सवै एक्लैले पूरा गरे । मह जोडी फुटेको सन्देश बाहिर जाला भन्ने पीर थियो । मदनकृष्णलाई निर्देशकमा नाम राख्न आग्रह गरे । उनले मानेनन् । 'यति काम एक्लै गरेपछि म किन निर्देशकमा बस्ने भन्ने लाग्यो मैले मानिनँ,' मदनकृष्णले पनि अनुभूति फुकाए ।
फिलिम 'फ्लप' भयो । हरिवंशलाई लाग्यो- एक्लै हिंडेको थिइस् खुच्चिङ भन्नुभयो होला मदनदाइले । मलाई पनि फिल भयो एक्लै हुँदा चलेन भनेर । त्यो तुष बाँकी थियो । फेरि एक्लै अर्को फिल्म बनाए- 'तँ त साह्रै बिग्रिस नि बद्रि' । यो फिल्म धेरै हिट भयो । हरिवंश एकाएक सिंगल प्रोजेक्टमा अघि बढेपछि मदनकृष्ण बिरक्तिए । र गीत लेखे-
सवै पर पर भए पोखुँ बह कोसँग ।
देउता पनि सायद अचेल खुसी छैन मसँग ।।
फिल्म त हिट भयो । हरिवंश कुँडुलिएका थिए । गल्ती गरेको मनमा लागिरहेको थियो । उनले माफी मागे । मदनकृष्ण चाहन्थे हरिवंश आफूसँगै रहोस्, जोडी नटुटोस् । जोडी फेरि 'कम्प्रोमाइज'मा सुरु भयो ।
२०३६ सालमा राष्ट्रबैंकको रजत जयन्तीमा संयुक्त प्रहसनबाट सुरु भएको मह जोडीको यात्रामा यसबाहेक सायदै कुनै घटना छैन, जसले सम्बन्धमा ठेस पुर्याओस् ।
.....
साढे सात वर्ष जेठाकान्छाको जोडीमा अब कुनै मोह छैन । लोभ छैन, लालच छैन । बरु कल्पना गर्दा रहेछन् एकजना मर्दा अर्को कसरी बाँच्ने ।
एउटा पत्रिकाले दुवैलाई राखेर अन्तर्वार्ता लिन लगायो । दुईबीच थाहा नहुने कुनै विषय थिएन । प्रश्न कहाँबाट गर्ने ? हरिवंश तम्सिहाले । मदनकृष्णलाई सोधे- दाइ म मरें भने तपाईं के गर्नुहुन्छ ।
मदनकृष्णले मुख बिगारे । उत्तर दिन गाह्रो लाग्यो । उनले जवाफ दिएछन्- सरकारसँग एउटा हिमाल माग्छु, त्यसलाई हरिवंश हिमाल राख्छु । दिएन भने पहाड माग्छु, त्यो पनि दिएन भने डाँडो माग्छु । त्यो पनि दिएन भने घर नजिकै एउटा थुम्को बनाउँछु । हरिवंश थुम्को राख्छु । त्यहि थुम्को हेर्छु ।
अनि तिमि नि ? मदनकृष्णले सोधे- हरिवंशले जवाफ दिइहाले- भोलिपल्ट सवै पत्रिकामा मेरो फोटो दिएर हरिवंश आजदेखि मर्यो भनेर समवेदनाको विज्ञापन दिन्छु ।
जोडी र जीवनको उत्तरार्धमा मदनकृष्ण चाहन्छन्- मह जोडी मित्रताको लोगो बनोस्, सम्बन्धको प्रतीक बनोस् र सम्बन्धको उदाहरण बनोस् ।

Post a Comment