0

वर्षमान पुनको प्रश्न- हामीमाथि लुकेर आक्रमण गर्ने को हो ?

१५ कात्तिक, 
 एकीकृत नेकपा माओवादीका नेता तथा मोरङ ९ का उम्मेद्वार वर्षमान पुन (अनन्त) ले वैद्य माओवादी विसर्जन भएर सिद्धिने बताउनुभएको छ । देशैभरि एकीकृत माओवादीमाथि आक्रमण गर्ने को हो ? भन्ने प्रश्न गर्दै पुनले वैद्य माओवादीले या त आक्रमणको जिम्मा लिनुपर्ने या घटना आफूले गराएको होइन भनेर सार्वजनिकरुपमा खण्डन गर्नुपर्ने बताउनुभयो ।
Barshaman_pun‘हामीमाथि लुकी-लुकी आक्रमण गर्ने को हो ? ड्यास माओवादी हो ? पूर्वराजावादी हुन् ? या कांग्रेस एमालेका साथीहरुले ड्यास माओवादीको कभरमा हामीमाथि आक्रमण गरेका हुन् ? को हो हामीमाथि आक्रमण गर्ने ?’ मोरङको उर्लाबारीमा आफ्नो कार्यालय अगाडि कुकर बम भेटिएपछि आक्रोशित मुद्रामा देखिनुभएका पूर्वअर्थमन्त्री पुनले कोणसभामा बोल्दै प्रश्न गर्नुभयो- ‘यसरी आक्रमण गर्नेहरु आपराधिक समूह हुन् कि राजनीतिको कभरमा आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरु हुन् ? म सरकारलाई सोध्न चाहन्छु, हामीमाथि आक्रमण गर्नेहरु को हुन् ?’
उर्लाबारी स्थित चुनाव प्रचार कार्यालय अगाडि कुकर बम भेटिएको, मोरङ क्षेत्र नं ८ स्थित एमाओवादी उम्मेद्वार गोपी अछामीको गाडीमा आगजनी भएको र आजै राति सुनसरी २ की एमाओवादी उम्मेद्वार रामकुमारी चौधरीको गाडीमाथि आगजनी भएको घटनापछि पूर्वी ब्यूरोका ४४ निर्वाचन क्षेत्रको चुनावी कमाण्ड सम्हालिरहेका पुनले आफूहरुमाथि आक्रमण गर्नेहरु को हुन् भन्दै सरकार र वैद्य माओवादी दुबैलाई प्रश्न गर्नुभएको हो ।
लुकेर आक्रमण गर्नु अपराध
एमाओवादी नेता पुनले राति सबै सुतेका बेला लुकीलुकी आक्रमण गर्नु राजनीतिक नभएर आपराधिक कार्य भएको बताउनुभयो । ‘हामी जनयुद्धकालमा जस्तो सुकै आक्रमणको जिम्मा लिने गथ्यौं र हामीले नगराएको भए त्यसको खण्डन गथ्यौं’ उहाँले भन्नुभयो,-’म आफूलाई क्रान्तिकारी भन्ने ड्यास माओवादीलाई सोध्न चाहन्छु, तपाईहरु किन लुकेर यस्तो कार्य गर्दै हुनुहुन्छ ? कि घटनाको जिम्मा लिनोस्, होइन भने खण्डन गर्नोस् ।’
वैद्य माओवादीमाथि आक्रमकरुपमा प्रस्तुत हुनुभएका पुनले रोष व्यक्त गर्दै थप प्रश्न गर्नुभयो- ‘तपाईहरुले नै यसरी क्रान्तिकारी शक्तिमाथि आक्रमण गरिरहेको हो या तपाईहरुको कभरमा पूर्वराजावादी या कांग्रेस एमालेले हामीमाथि आक्रमण गरेका हुन् ?’ नेता पुनले वैद्य माओवादी र दक्षिणपन्थीहरु मिलेर आफूमाथि आक्रमण भइरहेको बताउनुभयो ।
पूर्वराजावादी र कांग्रेस, एमालेमाथि आशंका
पूर्वराजावादी र कांग्रेस, एमालेले समेत ड्यास माओवादीको कभरमा आफूहरुमाथि आक्रमण गरेको हुनसक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । उग्रवामपन्थी र दक्षिणपन्थीहरु मिलेर एमाओवादीमाथि आक्रमण गरिरहेकाले एमाओवादी पार्टी नै एकमात्र क्रान्तिकारी शक्ति पुष्टी भएको उहाँले दाबी गर्नुभयो । यस्ता आक्रमणबाट आफूहरु नडराउने पुनले बताउनुभयो ।

Post a Comment

 
Top