0


वैद्य सिरक ओढेर सुते पनि चुनाव बिथोलिने खतरा

अरुण बराल
१५ कात्तिक, 
 चुनाव बहिस्कार घोषणा गरेको नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलाई यतिबेला प्रचण्डलाई जस्तो धपेडी छैन । दिनहुँ हेलीकोप्टर चढेर भोट माग्न हिँड्नु पनि परेको छैन । तर, घरैमा बसीबसी वैद्यले आफ्नो नामबाट आरामसँग चुनाव बिथोल्ने खेल देखाइरहनुभएको छ । वैद्य माओवादीले खासै केही पनि गरिरहनुपरेको mohan-baidyaछैन । उसले चुनावमा हिंसात्मक क्रियाकलाप नगर्ने बताएको छ । तर, घटनाको जिम्मेवारी नै नलिई कुनै भूमिगत गिरोहले निर्वाचनविरोधी गतिविधि बढाउँदै लगेको छ ।
एमाओवादीले ‘नाथे’ सम्झेको यही वैद्य समूहका कारण प्रचण्डले काभ्रे जानका लागि हेलीकोप्टर चढ्नुपर्‍यो र त्यसवापत पैसा त खर्च भयो नै, निर्वाचन आयोगको स्पष्टीकरण र जनताको आलोचना समेत सहनुपर्‍यो । प्रचण्डलाई यो सब गराउने उनै वैद्य हुन् ।जतिखेर चार राजनीतिक दलले वैद्य माओवादीलाई सहमतिमा ल्याउन खोजेका थिए, त्यसबेला प्रचण्डले भड्काएको वैद्य पक्षको आरोप छ । र, अहिले त्यही ‘अपमान’को पैंचो तिर्न मोहन वैद्यले छापामार बाटो समाउनुभएको छ । एमाओवादीलाई चुनावमा हराउन चाहने शक्तिका लागि त झन् यो अवस्था ‘खुदो’ पल्टिएको छ ।
माओवादी भन्छ- हिंसा चार दल आफैंले मच्चाइरहेका छन्
माओवादी सचिव देव गुरुङसँगको केही दिनअघिको भेटमा अनलाइनखबरले प्रश्न गरेको थियो- ‘ताप्लेजुङमा एमाओवादी उम्मेद्वार काटिएको घटनाको तपाईहरुले जिम्मेवारी नै लिनुभएन, त्यो तपाईहरुबाटै भएको हो कि होइन ? गुरुङको जवाफ थियो,’चुनाव लड्नेहरु नै आपसमा मारामार गरिरहेका छन्, त्यसैले यी घटनालाई शान्तिपूर्णरुपमै लिनुपर्छ ।’
माओवादी नेता गुरुङलाई अनलाइनखरले थप प्रश्न गर्‍यो,-’काठमाडौंमा कांग्रेस नेता नरहरी आचार्यको गाडीमा तपाईहरुले आगजनी गर्नुभएको हो कि हैन ?’ गुरुङको जवाफ थियो,- ‘त्यहाँ हाम्रो यस्तो नीति थिएन, कतिपय घटनाबारे हामीले छानविन गर्नुपर्ने हुन्छ ।’ ताप्लेजुङ र काठमाडौंका यी घटनामात्रै होइन, देशैभरि भइरहेका कुनै पनि घटनाको जिम्मेवारी अहिलेसम्म बहिस्कार घोषणा गरेको नेकपा-माओवादी वा ३३ दलीय मोर्चाले लिएको छैन । ‘बहिस्कारका क्रममा हिंसात्मक घटना गराउँदै जाने र पार्टीले कुनै पनि घटनाको जिम्मेवारी नलिने तपाईहरुको नीति हो ?’ यस्तो प्रश्नमा गुरुङले गाडीहरु जल्ने, तोडफोड हुने र सामान्य कुटाकुट एवं झडपहरु हुने घटनालाई हिंसात्मक भन्न नमिल्ने र शान्तिपूर्ण मान्नुपर्ने तर्क दोहोर्‍याउनुभयो ।
‘चार दलका नेता-कार्यकर्ताहरु नै आपसमा लडिरहेका छन्, उनीहरु मारामारसम्म गरिरहेका छन् । बारामा उनीहरुले नै उम्मेद्वारलाई मारेका छन् । त्यसैले हामीले अशान्ति र हिंसा मच्चाएको भन्ने आरोप सही छैन ।’-उहाँले भन्नुभयो ।
घटनाको जिम्मेवारी नलिने नीति
चुनाव बहिस्कारका नाममा देशैभरि छापामार शैलीमा आगजनी र उम्मेद्वारमाथि आक्रमणका घटनाहरु भइरहेका छन् । यी सबै घटनाहरु वैद्य माओवादीले गराएको भनिए पनि अहिलेसम्म नेकपा-माओवादीले कुनै पनि घटनाको जिम्मा लिएको छैन ।मोहन वैद्यले कुनै पनि घटनाको जिम्मा नलिँदा यी घटनाहरु कसले गराइरहेको छ भन्ने पहिचान गर्न गाह्रो भएको छ । कतिपय ठाउँमा कांग्रेस र एमालेलाई तह लगाउन एमाओवादी आफैंले वैद्य माओवादीका नाममा आक्रमण गरेको कांग्रेस र एमालेको आरोप छ । एमाओवादीले चाहिँ वैद्यको कभरमा कांग्रेस एमाले र पूर्वराजावादीहरुबाट यस्तो आक्रमण भएको हुनसक्ने अनुमान लगाउन थालेको छ । प्रमुख तीन दलवीचमै वैद्यको कभरमा लुकेको आरोप प्रत्यारोप शुरु भएपछि वैद्य पक्षका नेताहरु सिरकभित्र लुकेर मुसुमुसु हाँस्दै सुते पनि उनीहरुको बहिस्कारवादी आन्दोलन अरु ै कुनै अदृश्य शक्तिले सफल बनाइदिने सम्भावना बढ्दै जान थालेको छ ।
ताप्लेजुङका एमाओवादी उम्मेद्वार सञ्चपाल मादेनमाथि भएको आक्रमण होस् या तनहुँमा रामचन्द्र पौडेलमाथि बम प्रहार, कुनै पनि घटनाको जिम्मेवारी वैद्य माओवादीले अहिलेसम्म लिएको छैन र लिने नीति पनि देखिँदैन । तनहुँको बमकाण्डपछि नेपाली कांग्रेसले उक्त घटनामा वैद्य माओवादीको साटो एमाओवादीकै संलग्नता हुन सक्ने आशंका गरेको छ । वैद्यका नाममा एमाओवादीले देशैभरि आफूहरुमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।
‘कोचिला राज्य समिति’ अन्तरगत सुनसरी र मोरङमा एक साथ एमाओवादीलाई लक्षित गरी गाडी जलाउने र बम राख्नेसम्मका घटना भएपछि एमाओवादी नेता वर्षमान पुनले यी घटना कसले गराएका हुन् भन्दै सरकारसँग प्रश्न सोधेका छन् । स्थानीय स्रोतका अनुसार एमाओवादीले यी घटनामा एमालेको संलग्नता रहेको आशंका गरेको छ । वैद्य पक्षले घटनाबारे नबोल्दा एमाओवादी नेताहरुमा एकप्रकारको असहज छटपटी पैदा भएको छ । यसैले गर्दा एमाओवादी नेताहरुले घटनाको जिम्मेवारी लिन या खण्डन गर्न वैद्य माओवादीलाई दबाव दिन थालेका छन् ।
प्युठानमा एमाओवादी उम्मेद्वार नवराज सुवेदी, अर्घाखाँचीमा टोपबहादुर रायमाझीलगायत एमाओवादी उम्मेद्वारका सवारी साधन जलाइएका छन् । एमाले उम्मे्वार शान्ता चौधरीको गाडी जलेको छ । धनकुटामा कांग्रेस उम्मेद्वार आनन्द सन्तोषीको गाडी जलेको छ । चार दलका कुनै पनि नेताहरु आत्रमण्मको तारो हुनबाट छुटेका छैनन् । तर, सबैले आक्रमणमा वैल्ाके नाममा आफ्नै चुनावी सहकर्मी दलमाथि आरोप लगाउन थालेका छन् । चुनावमा भाग लिएकै दलवीच यस्ता आरोप प्रत्यारोप शुरु भएपछि वैद्य माओवादीलाई फाइदा पुग्न थालेको छ ।
एमाओवादीको चाहना र वैद्य माओवादीको नीति
एकीकृत माओवादी के चाहन्छ भने चुनावमा वैद्य माओवादीले आफ्नो निशाना कांग्रेस र एमालेसँगमात्रै सोझ्याओस् र आफूमाथि नरम नीति लिइदेओस् । कतिपय चुनाव क्षेत्रमा त वैद्यको भेषमा कांग्रेस र एमालेको कार्यक्रम बिथोल्न पाइयोस् भन्ने चाहना पनि एमाओवादीका नेताहरुले राख्ने गरेको सूचना छ । तर, प्रचण्ड र एमाओवादी नेताहरुको यो चाहना पूरा गरिदिने पक्षमा माओवादी नेता, कार्यकर्ताहरु देखिँदैनन् । उनीहरु देशैभरिबाट एमाओवादीलाई कमजोर बनाउन र चुनाव हारेको देख्न चाहन्छन्, जसले गर्दा चुनावपछि आफ्नो राजनीतिक श्रेष्ठता कायम गर्न सकियोस् ।
आक्रमणको जिम्मा आफूले नलिने तर जसले जुन दलमाथि आक्रमण गरे पनि चुनावमा संकट उत्पन्न भई त्यसको फाइदा वैद्य माओवादीकै पोल्टामा पर्ने छ । एमाओवादीमाथि एमाले, कांंग्रेस या पूर्वराजावादी जो सुकैले आक्रमण गरे पनि त्यो वैद्यका लागि चिन्ताको विषय बनेको छैन । किनभने वैद्य पक्षले एमाओवादीलाई नजिक र अन्य तीन दललाई टाढाको शक्तिका रुपमा विश्लेषण गरेको छैन । अझ उसले सहमतिको सबैभन्दा ठूलो बाधक भन्दै प्रचण्डविरुद्ध प्रहार केन्दि्रत गर्ने नीति लिएको छ । यो अवस्थामा वैद्यको नाम लिएर जसले चुनावमा हिंसा मच्चाए पनि वैद्यलाई भन्दा बढी घाटा चार दल, एमाओवादी र रेग्मी सरकारलाई नै हुने छ । यो अवस्था राम्रोसँग बुझेको माओवादीले चुनावमा भएका सबै घटनापिच्छे प्रेस वक्तव्य निकाल्दै आफूले गरेको र अरुले गरेको छुट्याइदेओस् भन्ने एमाओवादीको इच्छा पूरा गर्ने कुनै सम्भावना देखिन्न ।
घटनाक्रमले यस्तो देखाउन थालेको छ कि वैद्य पक्षका नेताहरु कानमा तेल हालेर सुते भने पनि उनीहरुका नाममा देशैभरि आगजनीलगायतका गतिविधि भइरहने छन् । र, ती घटनामा कतै एमाओवादीको, कतै कांग्रेसको, कतै एमाले त कतै राजावादी वा अन्य गैर राजनीतिक समूहको सहभागिता हुन सक्ने छ ।
वैद्य माओवादीलगायत ३३ दलीय मोर्चालाई समेत लिए तीनमहिनापछि चुनाव गर्ने निर्णयमा चार दल र रेग्मी सरकार सहमत भैदिएको भए यसरी कसैले पनि ‘भूमिगत गिरोह’को मारमा पर्नुपर्ने थिएन । अब जसोतसो प्राविधिक रुपमा चुनावसम्म गरियो । ५० प्रतिशत भन्दा कममात्र मत खस्यो भने त्यसको वैधानिकतामाथि समेत प्रश्न उठ्ने खतरा छ ।
तर, पूर्वी नेपालमा भने केही साना दलका उम्मेद्वारहरुले आफ्नो ज्यानमाथि खतरा पर्न थालेको गुनासो पोखेका छन् । ठूला नेताहरु उठेको ठाउँमा नेताले हार्ने अवस्था देखिएमा साना उम्मेद्वारको हत्या गरेर भए पनि तत् क्षेत्रको पुन निर्वाचन गराउने खेलमा पो परिने हो कि भन्ने डर साना उम्मेद्वारमा देखिन स्रोत बताउँछ ।
चुनावपछिको परिदृश्य
चुनावपछि वैद्य माओवादी सिद्धिने एमाओवादी नेताहरुले दाबी गर्न थालेका छन् । यसैगरी हिंसात्मक घटना बढ्दै गए वैद्यलाई घाटा हुने उनीहरुको विश्लेषण छ । तर, मुलुकमा अस्थिरता बढ्दा विद्रोहीलाई घाटा हुँदैन । अझ छापामार शैलीमा गरिने घटनामा विद्रोहीलाई चिन्न नसकिने हुँदा प्रहार गर्न गाह्रो हुन्छ । तरमा सुतिरहेका बेला वैद्यका कार्यकर्ता वा नेतालाई उठाएर जेलमा हालेर चुनाव त सफल पार्न सकिएला तर, यसले लोकतन्त्रमा राम्रो सन्देश दिँदैन र भोलि निर्जाचनको वैधानकितामाथि प्रश्न उठ्न सक्छ । वैद्य समूहका नेताहरुले यो कुराको पक्कै विश्लेषण गरेका छन् । उनीहरु वातावरणलाई उत्तेजक बनाउन र आफूहरुलाई सरकारले जेलसम्म पुर्‍याओस् भन्न चाहन्छन् । यसरी आफूहरुलाई जेलमा हालेर चुनाव गरियो भने आफ्नो विजय हुने वैद्यपक्षका नेताहरुको आँकलन छ ।
अर्को के पनि निश्चित छ भने चुनावमा बहुमत ल्याउने दाबी गरिरहेका दलले नै चुनावलाई अवैधानिक बनाउने सम्भावना छ । आफूभित्र लोकतान्त्रिक चरित्र कम भएकाले एमाओवादीले चुनाव हार्‍यो भने उसले परिणामलाई स्वीकार गर्न गाह्रो पर्न सक्छ । सकभर हार्ने स्थितिमा उसले चुनावै हुन दिँदैन । र, अन्य दलको हकमा पनि यही कुरा सत्य हो । एमाले र कांग्रेस पनि अनेक जालझेल गरेर भए पनि एमाओवादीलाई जित्न नदिने रणनीतिमा देखिन्छ । यो अवस्थामा यी चारदलहरु चुनाव अघिमात्रै होइन, चुनावपछिसमेत वैधानिकताको विषयमा खिचलोमा रुमलिने खतरा छ ।

Post a Comment

 
Top