गच्छदार किन हात जोडेर मत माग्दैनन् ?
कार्तिक २२ -
मधेससी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उम्मेदवार मनोनयन गर्ने दिन भनेका थिए, 'चुनाव कसरी जिन्नुपर्छ, मलाई राम्ररी थाहा छ ।'
यसपटक सुनसरी ३ र मोरङ ७ मा उम्मेदवारी दिएका उनले अरू नेताहरू जस्तो हात जोड्दै घरदैलो गरी मत मागेका छैनन् । निर्वाचन सभाहरू पनि अरूभन्दा कमै गरेका छन् । बरु उनले कोठै बैठकमा व्यस्त छन् । त्यस्तै बैठकबाट आफ्नो निर्वाचन अभियान चलाएका छन् । निर्वाचन सभाहरूमा अरू नेता जस्तो काठमाडौंमा आफूले घर नबनाएको भन्दै उनले 'विशुद्ध जनताको सेवाका लागि राजनीति गरिरहेको' बताउन छुटाउँदैनन् । सभाहरूमा ठूलो शक्ति प्रदर्शन गर्दै आएका उनले त्यसरी नै मतदातालाई विश्वासमा लिने तरिका अवलम्बन गरेका छन् ।
सुनसरीलाई 'फलामे किल्ला' ठान्ने उनले गत संविधानसभामा मोरङमा समेत कोइराला परिवारमाथि धावा बोलेका थिए । बीपीका भतिज शेखर कोइरालालाई पराजित गरी उनले आफू उत्तिकै शक्तिशाली भएको देखाए । हाल पनि उनी त्यसलाई निरन्तरता दिने कसरतमा छन् । गच्छदारका प्रतिस्पर्धी मोरङ ७ का कांग्रेस उम्मेदवार डा. कोइराला यसपटक भने विगतजस्तो मतदाता 'भ्रममा नपर्ने' दाबी गर्छन् ।
'त्यसबेला जातीय मुद्दाले प्राथमिकता पाएको थियो, माहोल त्यतैतिर गयो' शेखर कोइराला भन्छन्, 'यसपटक मतदाताले बुझिसकेका छन् ।' यति हँुदाहुँदै पनि गच्छदारले अपनाउने रणनीतिबाट कोइराला त्रसित छन् । जानकारहरूका अनुसार निर्वाचन हुने अन्तिम दिनहरूमा गच्छदार आफ्नो निर्वाचन क्षेत्रमा निकै सक्रिय हुन्छन् ।
विगतदेखि नै गच्छदारले निर्वाचन जित्न राजनीतिक भन्दा अन्य स्रोतको प्रयोग बढी गर्दै आएका त्यस क्षेत्रका जानकारहरू बताउँछन् । निर्वाचनसभामा उनले लामो राजनीतिक भाषण गर्दैनन् । विगतमा आफूले गरेका विकास, सिर्जना गरेको रोजगारीका विषय धेरै र जनजाति, मधेसीका मुद्दा कम उठाउँछन् । उनी उठेको दुवै क्षेत्रमा जनजाति र मधेसी मतदाताको बाहुलियता भएकाले उनको मुख्य चासो पनि त्यही छ । मन्त्री हुँदा सुनसरीमा विकास खन्याएका उनले मतदातालाई विश्वासमा लिन 'सबै उपाय अवलम्बन गर्ने' उनका प्रतिस्पर्धीहरू बताउँछन् ।
जनजाति, मधेससी मतदाता भएको क्षेत्रमा गच्छदारले निर्वाचन अन्तिम समयमा मतदाता आकषिर्त गर्न 'अस्वस्थ' नीति अपनाउने सक्ने आशंका प्रतिस्पर्धीले गरेका छन् । सुनसरी ३ की गच्छदारका प्रतिस्पर्धी एमाले उम्मेदवार भगवती चौधरी पहिलेभन्दा मतदाता धेरै सचेत भएकाले 'कुनै लोभमा नपर्ने' दाबी गर्छिन् । 'मतदाताहरू धेरै सचेत भइसकेका छन्' उनले भनिन्, 'पहिलेजस्तो लोभ लालचमा मतदाता पर्नु हुन्छ जस्तो लाग्दैन ।' त्यस क्षेत्रमा लामो समय लघु वित्त कार्यक्रम चलाएकी उनी गच्छदारकी मुख्य प्रतिस्पर्धी मानिन्छिन् ।
थारू मतदाता धेरै रहेको त्यस क्षेत्रमा गच्छदारले चौधरीलाई उम्मेदवार हुनबाट रोक्ने प्रयाससमेत गरेका थिए ।

Post a Comment