हेलिकप्टरको प्रतिस्पर्धा
कार्तिक २२ -
चुनाव प्रचारमा हेलिकप्टर चार्टरको प्रतिस्पर्धामा विघटित संविधानसभाको सबैभन्दा सानो परिवार दल एमाओवादीसँग प्रतिस्पर्धा गर्दैछ । निर्वाचन आयोगले हेलिकप्टर उडानमा दिएको सहमतिको तथ्यांकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपछि सबभन्दा बढी हेलिकप्टर उडाउनेमा परिवार दलका अध्यक्ष एकनाथ ढकाल देखापरेका हुन् ।
प्राकृतिक प्रकोप वा अन्य कारणले यातायात अवरुद्ध भएको अवस्थामा आयोगको पूर्वअनुमतिले हेलिकप्टर प्रयोग गर्न पाइने आचारसंहिताको संशोधित व्यवस्थाअनुसार दलका नेताहरू धमाधम हेलिकप्टरबाट देश दौडाहा गरिरहेका छन् । परिवार दलका अध्यक्ष ढकालले कात्तिक २२ गते भोजपुर, संखुवासभा र ओखलढुंगा, कात्तिक २५ र २६ मा रोल्पा, कालिकोट, अछाम, कात्तिक २७ गते सुर्खेत र दैलेखका आमसभालाई सम्बोधन गर्न हेलिकोप्टर प्रयोगको अनुमति लिएका छन् । २०६४ को निर्वाचनमा देशभरिबाट २३ हजार ५ सय १२ मत जोडेको परिवार दलले पहिलो संविधानसभामा समानुपातिकमा एक सिट पाएको थियो ।
केही दिनअघि ढकालले भ्रमणमा जाने जिल्ला र मितिसमेत नखुलाई निर्वाचन आयोगमा हेलिकप्टर प्रयोगको अनुमति मागेका थिए । कहाँ, कहिले, को जाने हो नखुलेको उल्लेख गर्दै आयोगले यातायात नचलेको स्थानका लागि पूर्वसहमति लिएर मात्र हेलिकप्टर प्रयोग गर्न मिल्ने जवाफ पठाएको थियो । दोस्रो पटक उनले कार्यक्रमको तिथि-मिति र स्थानसहितको विवरणसहित हेलिकप्टर प्रयोगको माग गरेपछि आयोगले सहमति दिएको हो । उनले सिराहा, महोत्तरी र रूपन्देहीका लागिसमेत हेलिकप्टर चार्टर गर्न खोजेका थिए । 'ती जिल्लामा हुने कार्यक्रममा जान हेलिकप्टर प्रयोगको अनुमति माग भए पनि आयोगले सहमति प्रदान गरेन,' आयोगका प्रवक्ता वीरबहादुर राईले भने ।
आचारसंहिताले उम्मेदवार र दलको चुनाव खर्चको सीमा तोके पनि दलहरूले धमाधम हेलिकप्टर चार्टर गरिरहेका छन् । नागरिक उड्डयन स्रोतका अनुसार हेलिकप्टर उडान भाडा प्रतिघन्टा साढे दुई लाख हाराहारीमा पर्छ । त्यस अतिरिक्त गन्तव्यमा एक घन्टाभन्दा बढी पर्खनुपर्दा अतिरिक्त शुल्क लाग्छ । आचारसंहिता अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले बढीमा १० लाख रुपैयाँ र समानुपातिकतर्फ प्रत्येक दलले एक उम्मेदवार बराबर एक लाख रुपैयाँसम्म मात्र खर्च गर्न सक्छ ।
सबभन्दा बढी हेलिकप्टर चार्टर गर्नेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन् । उनले कात्तिक ११ गते सोलुखुम्बलगायत हिमाली जिल्ला, १६ गते डोल्पा, दैलेख र सुर्खेत, १७ गते सिन्धुलीका लागि हेलिकप्टर प्रयोगको अनुमति लिएका थिए । दाहालले एकपटक निर्वाचन आयोगले पूर्वअनुमतिबिना हेलिकप्टर प्रयोग गरेको भन्दै सचेतसमेत गराएको थियो ।
एमाओवादी नेता बाबुराम भट्टराईले कात्तिक १४ गते हुम्ला, मुगु, दैलेख र बाजुरामा चुनावी प्रचारका लागि हेलिकप्टर प्रयोगको अनुमति लिएका थिए । एमाले नेता केपी ओलीले कात्तिक १८ गते दार्चुलाका लागि हेलिकप्टर प्रयोगको अनुमति पाएका थिए ।
कांग्रस सभापति सुशील कोइरालाले कात्तिक २७ गते संखुवासभाका लागि हेलिकप्टर प्रयोगको पूर्वअनुमति लिएका छन् । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कात्तिक २५ र २६ गते डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र अछामका लागि हेलिकप्टर प्रयोगको अनुमति लिएका छन् । यसअघि उनले पनि कार्यक्रमको मिति उल्लेख नगरी अनुमति माग गरेका कारण आयोगले पूर्ण विवरण खोजेको थियो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कात्तिक २१ गते अर्घाखाँची, कात्तिक २५ गते रामेछाप, कात्तिक २९ गते मुस्ताङ, म्याग्दी र स्याङजाका चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर प्रयोगका लागि सहमति पाएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कात्तिक २३ गते जाजरकोट, दैलेख र सल्यानका लागि हेलिकप्टर प्रयोगको अनुमति लिएका छन् ।
Post a Comment