शृंखलाबद्ध हत्याका अभियुक्त पक्राउ
कार्तिक २१ -
आठ वर्षयता ६ जना हत्यामा संलग्नता अभियोगमा अभिषेकराज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । उनी फरार सूचीमा थिए । ललितपुरको रिलायबल कोलोनीबाट पक्राउ परेका उनलाई बुधबार सार्वजनिक गरिएको हो ।
तत्कालीन नेकपा माओवादीले ८ भदौ ०६२ मा बाबुको हत्या गरेपछि उनले बदलाको भावनाबाट आपराधिक गतिविधी सुरु गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी विजयलाल कायस्थले बताए । उनले हत्या गरेका ४ को पहिचान भए पनि माओवादी कार्यकर्ता भनिएका २ को परिचय अझै खुलेको छैन । महाशाखाका अनुसार उनले सिन्धुपाल्चोक पिस्कर ८ का ३२ वषर्ीय नीरजजंग पाण्डे, इचंगुनारायण २ का निरप भन्ने नरबहादुर गोतामे, काभ्रे शंखु पाटीचौर ४ घर भई भक्तपुर गठ्ठाघर बस्ने बुद्ध भन्ने जगतसिंह तामाङ, काभ्रे शंखु पाटीचौर ४ घर भई कोटेश्वर बस्ने सार्की तामाङको हत्या गरेका थिए ।
प्रहरीलाई दिएको बयानमा उनले ६ जनाको हत्या स्विकारेका छन् । 'प्रारम्भिक सोधपुछमा सिंहले आफूले हालसम्म ६ वटा हत्या तथा केही ठगी गरेको स्विकारेका छन्,' एसएसपी कायस्थले भने, 'उनले समिर घिमिरेको नाममा जिल्ला प्रशासन झापाबाट झुटो विवरण पेश गरी नागरिकता र राहदानी तथा यातायात व्यवस्था कार्यालय नारायणीबाट सवारी चालक अनुमति पत्र किर्ते गरी निकालेको बयान दिएका छन् ।'
उनका बाबु अजयराज सिंहलाई तत्कालीन माओवादीका २ कार्यकर्ताले नेपालगन्जस्थित जिविस कार्यालयमा गोली हानी हत्या गरेका थिए । उक्त घटनामा संलग्न बाँके खजुरासीका दुवैको अभिषेकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १७/१८ वर्ष उमेरका उनीहरूलाई गोली प्रहार गरी हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन् । यद्यपि, हत्या गरिएका उनीहरूको पहिचान नभएकाले बाँके प्रहरीले अनुसन्धान सुरु गरेको छ । 'प्रारम्भिक अनुसन्धानमा उनले बदलाको भावना र आर्थिक प्रलोभनका कारण योजनाबद्ध हत्याहरू गरेको देखिन्छ,' कायस्थले भने ।
सिंहले लोमस औषधि कम्पनीको स्टोर प्रबन्धक रहेका पाण्डेको गत ९ असोजमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्याको अघिल्लो दिन पाण्डेलाई होटल सोल्टीबाट अभिषेक र प्रभाकर नरसिंह राणाले नागमणी खोज्न हेटौंडा खोप्लाङ जाने भन्दै धनुषा बेंगाडावर ८ लालगढस्थित पूर्व-पश्चिम राजमार्गनजिक पुर्याएर हत्या गरेका थिए । घटनामा संलग्न उनीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेहोस बनाई हत्या गर्ने अभिषेकको सालो नाता पर्ने प्रभाकर नरसिंह राणा, बारा ब्रह्मपुरी २ का अनिलकुमार पटेल र दोलखा भ्याकु-६ का राज भन्ने कुमारविक्रम खत्री पक्राउ परेको महाशाखाले जनाएको छ । पाण्डे हत्या अभियोगमा थप अनुसन्धानका लागि उनलाई जनकपुर पठाइएको महाशाखाले जनाएको छ ।
अभिषेकले इचंगुनारायणका गोतामेको पनि हत्या गरेको खुलेको छ । गोतामे ११ साउन ०६७ मा सुर्खेतको आशीर्वाद होटलमा बेहोस अवस्थामा फेला परेका थिए । जग्गाको कमिसन विवादमा गोतामेलाई ५ वटा डाईजिपाम र ४ नाइट्रोभेट इन्जेक्सन दिएर बेहोस बनाई अभिषेक फरार थिए । उपचार क्रममा उनको मृत्यु भएको थियो । उनका बाबु विष्णुले अभिषेकका नाममा किटानी जाहेरी दिएका थिए । जग्गा किनबेचसम्बन्धी विवादपछि उनको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
यस्तै, ६ साउन ०६९ मा सिंहसँगै घरबाट निस्केका तामाङलाई भारत उत्तरप्रदेश पुर्याएर एक पुरानो बस्तीनजिक हत्या भएको थियो । भारत सिलिगुडी हुँदै लखनउ पुर्याइएका उनलाई बाराबंकी र फैजावाद बीचको होटल हाइवेमा आराम गर्ने बहानामा झुक्याएर अभिषेकले डिप्रेसनको औषधी हल्दी र दुधमा मिलाएर खुवाएका थिए । उनी बेहोस भएपछि फ्याँकिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनापछि उनी काठमाडौं र नेपालगन्जमा लुकीछिपी हिंड्ने गरेको प्रहरीले जनाएको छ । तामाङसँग आर्थिक कारोबार र व्यक्तिगत रिसइवीका कारण हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।
उनले १३ कात्तिक ०६९ मा काभ्रे शंखु पाटिचौर ४ कै सार्की तामाङको हत्या गरेका थिए । अभिषेक कै घरमा खाना पकाउने उनको सुनधारास्थित न्यु आकाश गेस्ट हाउसको १०२ नम्बर कोठामा हत्या भएको थियो । हत्याको एक वर्षअघिदेखि खाना पकाउने काम गदै आएका तामाङलाई रक्सी सेवन गर्न लगाई बेहोस बनाएर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ । आफ्ना गोप्य जानकारी सार्वजनिक गरिदिने आशंकामा उनको हत्या गरेको बयान अभिषेकले दिएका छन् ।
प्रहरीका अनुसार उनले केही वर्षअघि रूपन्देहीमा १८ जनासँग जनही ४० हजार दरले पैसा र राहदानी संकलन गरी अस्ट्रेलिया पठाइदिने भन्दै ७ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए ।
Post a Comment