यो समय जनताको अति महत्वपूर्ण, महंगो र सही निर्णय गर्ने समय हो । एक जना जनताको भोटले एक जना उम्मेदवार संविधान बनाउने जस्ता ऐतिहासिक सभामा पुग्न निर्णायक भूमिका खेल्छ । नेपाली जनताले निक्कै आशावादी भएर पहिलो संविधान सभाको चुनावमा उत्साहपूर्वक सहभागी भई शान्ति स्थापनामा अतुलनीय योगदान दिएका थिए । तर विडम्बना ! संविधान सभामा दलका वरिष्ठ नेताहरुको लाजमर्दो रुपले अनुपस्थिति रहनु, दलका नेताहरुले विषायान्तर गरी प्रधानमन्त्री, मन्त्री हुने होडबाजीमा समय पकाउनु, रेड पासपोर्ट प्रकरणमा सामेल हुनु, विदेश भ्रमण गर्नमा लालायित र आतुर हुुनु संघीयता र पहिचानका मुद्दालाई विवादित बनाएर संविधान सभाको आयु अझै लामो बनाउने कुनियत र कुचेष्टा मौलाएकालाई सर्वाेच्च अदालतले समयको पाबन्दीको डण्डा वर्षाएपछि संविधान बनाउन नै अशक्त भए र नेपाली जनताले आफूले भोट दिएर जिताएका सभासदहरुबाट महाघात भएको महशुस गरेका थिए ।
हिजो आज कोही पुरानै कोट लगाएका, कोही नयाँ अनुहार भिरेका संविधान सभामा हाम्रा अनुपस्थिति बिना संविधान बन्दैन, त्यसैले हामीलाई मौका दिनुस् भन्दै पहिलो संविधान सभामा सभासदले पाएको भत्ता, सुविधा र माननिय शब्दले छाएको देखेर लोभ्याएकाहरु हाम्रा घर दैलामा टेक्न भ्याएका छन् । दश औंला जोडेर हाम्रा आमा बुबालाई हामीले भन्दा अति न्यानो, ममतामयी भाषामा बोलाएर भोटका लागि मगन्ते बन्दै छन् । आज हर एक महिला, पुरुष, युवा र पार्टीका कार्यकर्ताहरुले औंला ठड्याएर हर एक उम्मेदवारलाई प्रश्न गर्ने समय हो ः
o सोध्नुहोस् वहाँ जनताको को हुनुहुन्छ । o सोध्नोस् मेरो भोटको इज्जत कसरी राख्ने । o सोध्नोस् वहाँले किन सभासद बन्ने इच्छा गर्नु भएको । o सोध्नुहोस् वहाँ देशको इज्जत कसरी राख्दै हुनुहुन्छ । o सोध्नुहोस् वहाँ आफ््नो भनाइमा कति प्रतिवद्ध हुनुहुन्छ । o सोध्नुहोस् राष्ट्र हीत विपरित कार्य विरुद्ध आफ्नै पाटीमा विद्रोह गर्न सक्नु हुन्छ या हुन्न? o राष्ट्र र जनताको आकांक्षा विपरित कार्यमा संलग्न ठहरिएमा र संविधान सभाको आचार संहिता उल्लंघन गरिएको ठहरिएमा स्वतः राजीनामा दिन प्रतिवद्ध हुनुहुन्छ या हुनुहुन्न ।
भोट दिने नागरिकल ओफ्नो भोटको सही सदुपयोग होस् भन्ने चाहना हुनु अस्वाभाविक होइन । त्यसका लागि हरेक नागरिक सचेत हुनु आवश्यक छ ।
पार्टीको घोषणा पत्र एक जाल हो, भ्रम हो, र सत्तामा पुग्ने भर्याङ्ग हो । जो आफू भन्दा जनताको मतलाई कृतज्ञ भएर सम्पूर्ण राष्ट्रको मान सम्मान र त्यस राष्टका जनताको विषयमा गम्भीर भएर सोचको विकास गर्न लालायित छ, नागरिक सर्वोच्चता ओठमा हैन, आफ्नो जीवनमा परावर्तन गर्ने अठोट राख्दछ र राष्ट्रको आवश्यकताका लागि मरिमेट्छ, त्यसता सभासदको आवश्यकता यो समयको माग हो । होइन, त्यस्ता कोही भेटिंदैन भने यो देशको विडम्बना हो । हामीले त्यस्ता सभासदका लागि कुर्ने धैर्यता गुमाउनु हुन्न । नत्र, फेरि एकपटक हात्ती आयो हात्ती आयो फुस्सा । नेताका दुबै हातमा लड्डु, जनताका हात खाली ।
Post a Comment