धरौटीको लोभै गर्दैनन, स्वतन्त्र उमेद्वारहरु
कार्तिक २३ -
अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौं-१ मा ९ जनाले स्वतन्त्र उमेद्वारी दिए । तर सबैको जमानत जफत भयो । स्वतन्त्र उमेद्वारमा सबैभन्दा बढी रामप्रसार विश्वकर्माले ६५ मत पाएका थिए । उक्त क्षेत्रमा अहिले १२ जना स्वतन्त्र उमेद्वार छन् । अघिल्लो निर्वाचनमा १० जना स्वतन्त्र उमेद्वार रहेको काठमाडौं-२ मा यसपाली १२ स्वतन्त्र उमेद्वार छन् । उक्त क्षेत्रमा अधिकांश उमेद्वारले पाएको मत ५० को हाराहारीमा थियो । सचेत मतदाताको बाहुल्य मानिने राजधानीमै मतदाताहरुको अविश्वासका बाबजुद स्वतन्त्र उमेद्वारीप्रतिको मोह भने बढो छ ।
काठमाडौ-३ मा अघिल्लो निर्वाचनमा ८ जनाले उमेद्वारी दिएकोमा सबैभन्दा बढी उद्दव सुवेदीले २१ मत पाएका थिए । उमेद्वारी दिएका तुलसीराम सुवेदीले दुई मतमात्रै पाए । उमेद्वारीका क्रममा आवश्यक पर्ने प्रस्तावक/समर्थकको पनि मत नपाउने अवस्था भएपनि सोही क्षेत्रमा यसपाली ५ जना स्वतन्त्र उमेद्वार खडा भएका छन् । ऐनमा तोकिएको मत ल्याउन नसक्ने उमेद्वारको जमानत जफत हुने व्यवस्थाका बाबजुद हरेक निर्वाचन क्षेत्रमा पाँच जनाभन्दा बढीले स्वतन्त्र उमेद्वारी दिएको देखिन्छ । केही दर्जन मतमा सीमित अघिल्लो निर्वाचनको परिणामले यसपालीका स्वतन्त्र उमेद्वारका आकांक्षीलाई हतोस्सारित गर्न सकेको छैन ।
सामान्यतयाः दलिय रुपमा कतैपनि आस्था नराख्ने तर आफ्नो क्षेत्रमा लोकपि्रय भएका आकांक्षीले आफूलाई जनताको प्रतिनिधीको रुपमा उभ्याउन स्वतन्त्र उमेद्वारी दिने गर्छन । स्वतन्त्र उमेद्वारीका लागि सम्बन्धित क्षेत्रमा योगदान पुर्याएको वा परिचित अनुहार हुनुपर्ने भएपनि अधिकांश अपरिचित व्यक्तिहरु छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा उमेद्वारी दिएका १३ उमेद्वारमध्ये सुप्रभा घिमिरे पूर्व सभासदो नाताले परिचित स्वतन्त्र उम्मेदवार हुन् ।
लोकतन्त्रमा आफ्नो स्वतन्त्रता उपभोग गर्न पाउने अधिकार हरेकलाई हुने उल्लेख गर्ने पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ कतिपय व्यक्तिको महत्वकांक्षाका कारण स्वतन्त्र उमेद्वारको संख्या बढेको बताउछन् । 'लोकतान्त्रिक परिपाटीमा दलिय प्रतिस्पर्धा नै अहं हुने भएकाले व्यक्तिगत उमेद्वारी र त्यसमाथिको विश्वास निकै कम हुन्छ' राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती(नियोक)का अध्यक्ष समेत रहेका श्रेष्ठले भने, 'कतिपय अवस्थामा लहड, महत्वाकांक्षा वा खिचातानीले पनि यस्तो उमेद्वारी बढ्ने हुन्छ ।' उनका अनुसार दलहरुको संख्या र पार्टीबाट टिकटको आकांक्षी पनि बढेकाले स्वतन्त्र उमेद्वारहरुको संख्यात्मक उपस्थिती भारी देखिएको हो ।
काठमाडौंका सबै निर्वाचन क्षेत्रमा पाँच जनाभन्दा बढी स्वतन्त्र उमेद्वारहरु छन् । यसपटक नौं जनाले उमेद्वारी दिएको काठमाडौं-६ मा अघिल्लो निर्वाचनमा इन्दिरा घिमिरेले सबैभन्दा बढी ५२ मत पाएकी थिईन । अघिल्लोपटक सबैभन्दा बढी १८ जनाको स्वतन्त्र उमेद्वारी परेको काठमाडौं-७ मा यसपटक ६ जनाले स्वतन्त्र उमेद्वारी दिएका छन् ।
तीन हजार रुपैंया धरौटी, सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता रहेको एक/एक जना प्रस्तावक/समर्थक जुटाउन सके जो सुकैले उमेद्वारी दिन पाउने खुकुलो व्यवस्था छ । जसको फाईदा उठाउदै लहड वा चर्चामा आउन पाउनेहरुले उमेद्वारी दिने गर्छन । एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा आएका पदम कुवरले स्वतन्त्र उमेद्वारीमार्फत दाहालसँग प्रतिस्पर्धामा छन् । कुस्तीवाज भरत बहादुर विसुराल पनि सोही क्षेत्रमा उमेद्वारी दिएका छन् । ललितपुरमा पनि स्वतन्त्र उमेद्वारहरुको भीड छ । क्षेत्र नम्बर एकमा ८, दुईमा १० र तीनमा ७ जनाले उमेद्वारी दिएका थिए ।
अघिल्लो संविधानसभा निर्वाचनमा स्वतन्त्रतर्फ रौतहटका बवन सिंह एकमात्रै विजयी भएका थिए । काठमाडौं उपत्यकाबाट उमेद्वारी दिएका झण्डै एक सय उमेद्वारमध्ये सबैको जमानत जफत भएको थियो । उपत्यकामा पाँच सयभन्दा बढी मत पाउने स्वतन्त्र उमेद्वार दुई जनामात्रै थिए । जसमध्ये भक्तपुर १ राजाराम दुवालले ६१७ र ललितपुर-३ मा राजभाई महर्जनले ५६४ मत पाएका थिए ।
डमी पनि उत्तिकै
स्वतन्त्रको संख्या बढ्नुमा 'डमी' उमेद्वारी पनि कारक रहेको जानकारहरु बताउछन् । प्रचारप्रसारदेखि मतगणनाको अवधिसम्म प्राप्त हुने अवसरहरुको उपयोग गर्ने उद्देश्यले मुख्य उमेद्वारले अघि सारेको व्यक्तिलाई डमी उमेद्वार भनिन्छ । उमेद्वारीपछि उसले प्राप्त गर्नेसहुलियत र सुविधा मुख्य उमेद्वारले प्रयोग गर्छन् ।
निर्वाचन आयोगले हरेक उमेद्वारलाई दुईवटा हल्का सवारीसाधन, प्रति उमेद्वार १० लाख रुपैंया खर्च गर्न पाउने व्यवस्था गरेको छ । मतदान तथा गणनाका दिन हरेक उमेद्वारले आफ्ना प्रतिनिधी राख्न पाउछन्, तर डमी उमेद्वारले आफ्ना सबै सुविधा मुख्य उमेद्वारलाई दिएर स्रोत साधन दुरुपयोगमा सघाउछन् । काठमाडौं उपत्यकाकै निर्वाचन क्षेत्रहरुमा स्वतन्त्र उमेद्वारी दिनेमध्ये कतिपयहरु लामो समयदेखि कुनै दल वा नेता निकट भएर काम गरेको जानकारहरु बताउछन् । मतदानको दिन बुथमा रहने डमीका एजेण्टहरुले आफ्ना मुल उमेद्वारलाई सघाएर प्रभावित गर्न खोज्ने अवस्था पनि रहन्छ ।
पूर्व प्रमुखनिर्वाचन आयुक्त श्रेष्ठका अनुसार, उमेद्वारहरुले सुविधा उपयोगका लागि पनि आफ्ना कार्यकर्तालाई स्वतन्त्र उमेद्वार बनाउने गरेको भेटिएको छ । प्रभावकारी अनुगमन नहुने गरेकाले सुविधा दुरुपयोगवारे निर्वाचन अधिकृतहरुले सूचना पाउने सम्भावना कम हुन्छ । कानूनी रुपमा पनि कडा व्यवस्था नहुदा निर्वाचनमा यस्ता विकृती पस्ने गरेको श्रेष्ठले बताए ।
Post a Comment