0
शीर्ष नेताको मधेस मोह
(विकास लोहनी )
 
, २० कात्तिक ।
 प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले संविधानसभाको निर्वाचनलाई तराई मधेस केन्द्रित बनाउनु भएर नयाँ वातावरण सिर्जना गर्नुभएको छ । 
 
उहाँहरूले तराई मधेसमा आफनो उम्मेदवारी दिएर त्यसक्षेत्रका जनताप्रति आफ्नो सद्भाव रहेको र मधेसी जनताको हक अधिकारका साथै विकास निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
 
 
ठूला दलले मधेसलाई उपेक्षा गरेको मधेसवादी दलका नेताले आरोप लगाउँदै आउनुभएको छ । अहिले ठूला दलका नेताका उम्मेदवारी मधेसवादी दलका लागि पनि चुनौती नै बनेको देखिन्छ ।
 
  एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, सोही पार्टीका नेताद्वय माधवकुमार नेपाल, केपी ओली, एमाओवादी नेता डा बाबुराम भट्टराईलगायत मधेसलाई चुनावी मैदानको रुपमा रोजेर त्यसक्षेत्रमा आआफ्नो सहानुभूति, पकड र प्रभाव जमाउने होडबाजीमा हुनुहुन्छ । यसले गर्दा २०६४ सालको निर्वाचनको भन्दा तराई मधेसको चुनावी वातावरण अहिले भिन्न र रोचक बन्न गएको अनुभव गरिएको छ । 
 
देशका पचास प्रतिशतभन्दा बढी मतदाता तराई मधेसमा नै रहेकाले त्यसक्षेत्रबाट नै निर्णायक मत आउने ठूला दलका नेताको ठहर रहेको छ । मधेस आन्दोलनको नेतृत्व गरेका मधेसवादी दलहरू र त्यसका नेताहरूले नै आन्दोलनका भावनालाई बिर्सिएर पद र पैसाका लागि पार्टी फुटाउने गरेको मधेसी जनताको गुनासो आइरहेका बेला ठुला दलहरूले त्यसको विकल्पमा आफूलाई प्रस्तुत गराउन खोजेको देखिन्छ । 
 
सङ्घीयता, पहिचान र अस्तित्वका लागि आन्दोलनको नेतृत्व गर्ने मधेसवादी दलहरूनै अहिले मधेसमा प्रदेशको सङ्ख्याका सवालमा नै विभाजित भएका छन् । मधेसवादी दलबीच चुनावी एकीकरण र तालमेल हुन नसकेको अवस्थामा त्यसको फाइदा ठूला दलले लिने मधेसवादी बुद्धिजीवीको ठम्याइ रहेको छ ।
 
पहिलो संविधानसभामा काठमाडौ र रोल्पाबाट विजयी हुनु भएका एमाओवादी अध्यक्ष प्रचण्ड यस पटक माओवादी आन्दोलनको उद्गमस्थल रोल्पालाई छोडेर सिराहा क्षेत्र न.५बाट उम्मेदवारी दिन पुग्नु भएको छ । उहाँले केही समयअधि तराई मधेससँग आफनो ‘लभ परेको छ’ भनी दिनु भएको अभिव्यक्तिले चर्चा पाएको थियो ।
 
पहिलो संविधानसभामा पराजित भएपनि पुन बाँके जिल्ला क्षेत्र न. तीनमा उम्मेदवारी दिएर काँग्रेस सभापति कोइरालाले त्यसक्षेत्रको जनताको विश्वास जित्न प्रयासरत हुनुहुन्छ । उहाँले त्यसक्षेत्रमा बकरिद पर्वमा समेत सामेल भइ मुसलमान समुदायको विश्वास जित्न खोज्नु भएको छ र अहिले उहाँका प्रतिद्वन्द्वीले नै आफनो मुख्य प्रतिस्पर्धी कोइराला नै हो भनेर अभिव्यक्ति दिएका छन् ।
 
त्यसैगरी उहाँले अर्को चुनावी क्षेत्र भित्री मधेसकै चितवनलाई रोज्नु भएको छ । त्यहाँ पनि कोइराला घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । एमाले अध्यक्ष खनाल ०४८ देखि नै इलामबाट प्रतिनिधित्व गर्दै आउनुभएको थियो । यसपल्ट उहाँले आफनो गृहजिल्ला इलामका साथै सर्लाही क्षेत्र नं १ बाटसमेत उम्मेदवारी दिइ आफनो दल, बलका साथ चुनावी प्रतिस्पर्धामा होमिनु भएको छ ।
 
मधेसका सर्लाही जिल्लामा खनाल लगायत पाँच अन्य राजनीतिक दलका उम्मेदवारहरू प्रतिस्पर्धामा रहेकाले पनि यो जिल्लाका चुनावी गतिविधि रोचक र चर्चामा रहेको छ । एमालेका वरिष्ठ नेता नेपाल रौतहट जिल्लामा पहिलो संविधानसभामा पराजित हुनुभएको थियो । तरपनि उहाँ मधेसी जनताले यसपटक आफूलाई विजयी गराउने दृढविश्वासका साथ रौतहटमा नै प्रतिस्पर्धा गरिरहनु भएको छ । अर्का नेता ओली पनि झापामै पहिले पराजित भएको क्षेत्रमा चुनावी मैदानमा हुनुहुन्छ ।
 
 
पहिलो संविधानसभामा गोरखाबाट अत्यधिक मतले विजयी भएका एमाओवादी नेता डा भट्टराईले यस पटक गोरखाका साथै रुपन्देहीको क्षेत्र नं ४ बाटसमेत उम्मेदवार भई मधेसप्रति आफ्नो मोह देखाउनु भएको छ । प्रमुख तीनदलका शीर्ष नेताहरूले एक वर्षभित्र संविधान ल्याउने प्रतिवद्धता गरेकाले पनि यी नेताको उम्मेदवारीबाट मधेसवादी मतदातामा केही आशा र उत्साह जागेको देखिन्छ । 

Post a Comment

 
Top