0

डोटेली संस्कृतिको मौलिक पहिचान पुस १५

 पुस १५– 
एकापसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुषे १५’ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।
पुस १५ गते मनाइने भएकाले यो पर्व डोटेली लोक संस्कृतिमा पुषे १५ का रुपमा चर्चित रहेको छ ।
डोटेली लोक संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई आजको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । यो पर्वमा दिनमा भन्दा रातभरि एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेरिने गरिन्छ ।
यो पर्व मनाउने क्रममा टोल छिमेकको एक ठाउँमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, तरुल, पिँडालुलगायतका कन्दमूल उसिनेर खाने, वृद्धवृद्धाबाट लोककथा एवम् दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ । यसरी एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झन्डै २० फिट लामो) मुढोको आगो ताप्नुपर्ने र एकापसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ ।
पर्वको तयारीस्वरुप हरेक घरका गृहिणीले आज आ–आफ्नो घरमा लाउन, बाबर, असिका, माणा, निसौसे रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने, विवाहिता छोरीबेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत एवम् सत्कार गर्ने गरिन्छ ।
विशेषगरी रातभरि यो पर्व मनाउने परम्परा रहे पनि आधुनिक एवम् बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै गएकाले पर्वको मौलिकपना नै लोप हुनेतर्फ भने बूढापाकाहरुले चिन्ता व्यक्त गर्न थालेको स्थानीय शिक्षक लेखराज ओझा बताउनुहुन्छ ।
डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वको संरक्षण एवम् सम्बद्र्धनका लागि राज्यस्तरबाट नै पहल हुनुपर्नेमा स्थानीयवासीको माग रहेको छ ।

Post a Comment

 
Top