योजना सुरु भएको पन्ध्र वर्षपछि विद्युतीकरण
१० माघ ।
म्याग्दीको दग्नाम गाविसमा विद्युतीकरणको योजना सुरु भएको १५ वर्षपछि गाउँमा बिजुली बलेको छ ।
विसं २०५५ देखि सुरु भएको विद्युतीकरणको योजनाले अहिले पूर्णताः पाएसँगै गाउँमा केन्द्रीय विद्युत् लाइनको सुविधा पुगेको उपभोक्ता समितिका सचिव कृष्ण गर्वुजाले जानकारी दिनुभयो ।
सदरमुकाम बेनीदेखि एक बिहानको पैदलदुरीमा रहेको दग्नाममा छिमेकी गाविस पिप्लेको मौवाफाँटदेखि मुख्य लाइन जडान गरी परीक्षणको रुपमा विद्युत् बाल्न थालिएको हो ।
नेपाल सरकार विद्युत् प्राधिकरणको सहयोगमा सुरु गरिएको विद्युतीकरणको योजना गाउँ विकास समितिको रु ६ लाख ५० हजार, जिल्ला विकास समितिको रु दुई लाख आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानबाट सम्पन्न भएको बताइएको छ । सोलार र टुकीको प्रयोग गर्दै आएका दग्नामवासी केन्द्रीय विद्युतीकरणको पहुँच पुगेपछि हर्षित भएका दग्नाम विद्युत् उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पाइजाले बताउनुभयो ।
गाविसको एकदेखि ६ वडासम्म १५२ घरधुरी रहे पनि अहिले ७० घरमा मात्रै परीक्षण स्वरुप बिजुली बत्तीको सुविधा पु¥याइएको सचिव गर्वुजाले जानकारी दिनुभयो । मौवाफाँटदेखी ७५ वटा पोलमार्फत दग्नाममा पु¥याइएको विद्युत्लाई ५० केभिए ट्रान्सफरमरमा जडान गरी ५१ वटा पोलबाट शाखा लाइन विस्तार गरिएको विद्युत् उपभोक्ता समितिले जनाएको छ ।
Post a Comment