0
पुल नहुँदा समस्या
    १० माघ 
छिन्चु–जाजरकोट सडक निर्माण सम्पन्न भएको सात वर्ष बित्दा पनि यो सडकखण्डभित्रका नदी र खोलामा अझै पुल निर्माण नहँुदा बर्सेनि समस्या हुँदै आएको छ ।

    कुल १०७ किलोमिटर लम्बाइ रहेको यस सडकमा पर्ने ठूला–साना गरी डेढ दर्जन नदी र खोलामा पुल निर्माण हुन नसक्दा पाँच महिना मात्र यात्रा हुने गरेको छ । सुर्खेत जिल्लाको छिन्चुबाट ३० वर्षअघि यो सडकको  निर्माण कार्य सुरु गरिएको थियो । २०६४ सालमा यो सडकको  कच्ची कटानको काम सम्पन्न भएको हो ।

    सोही अवसरमा हेलिकोप्टरमा जिपहरु तारेर तत्कालीन प्रधान सेनापति रुकमाङ्गत कटुवालले छिन्चु जाजरकोट सडकको उद्घाटन गरेका थिए । एक वर्षअघिदेखि सल्लीबजारदेखि जाजरकोट सदरमुकामसम्म कालोपत्रेसमेत सुरु भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सडक विभागले कालोपत्रे थालेको हो तर पुल निर्माण नहुँदा यातायात सेवा नियमित हुन सकेको छैन । यही कारण चार ठाउँमा गाडी नै फेर्नुपर्ने अवस्था छ ।

    सडक कालोपत्रे गरिए पनि विभिन्न नदी तथा खोलामा पुल बनाउनेतर्फ कसैले ध्यान दिन नसकेको निर्माण व्यवसायी सङ्घका अध्यक्ष तेजविक्रम शाहले बताउनुभयो । सडक विभागले यस सडकखण्डभित्र पर्ने सुर्खेतको सल्लीबजार–राकमस्थित भेरी नदी, कालीखोला, गोजीखोला र जगई खोला, सल्यानको वनगाउँ खोला तथा जाजरकोटकोे किमखोला, कावलीखोला, बुरुङखोलो, खोदाखोला, खरखोला, फेराखोला पासागाड र पुन्मा खोलामा पुल निर्माण गर्नुपर्ने अवस्था रहेको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

    निर्माण कार्य सुरु भएको १० वर्ष बित्दा पनि भेरी नदीको पुल सम्पन्न हुन सकेको छैन भने अन्य खोलामा सर्भे, डिजाइन र बजेट व्यवस्थापनसमेत भएको छैन । “ती खोलामा पुल निर्माणका लागि जिल्ला जनप्रतिनिधिले पनि चासो देखाएको पाइएको छैन,” शाहले गुनासो गर्नुभयो । भेरी नदीमा पुल नबन्दा वर्षको तीन महिना थोत्रो फेरीद्वारा यातायात साधन वारपार हुन्छन् ।

    अन्य खोलामा पुल नबन्दा बर्खामा यातायात वारपार गर्न नसकी अलपत्र पर्ने गर्छन् । पुल नबन्दा वर्षौंदेखि यात्रुले सास्ती बेहोर्दै आएका छन् । यसले जिल्लाको अन्य विकास निर्माण पनि प्रभावित भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । “खोलाहरुमा पुल निर्माण नहुँदा यस सडकमा वर्षको ६ महिना पनि यातायात सञ्चालन हुन सकेका छैनन्”– प्रजिअ पाण्डेले भन्नुभयो ।

    यस्तै पुल अभावकै कारण दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको उहाँले बताउनुभयो । सडक चौडा गर्ने, पर्खाल निर्माण, नाली, ग्याभिङ, कालोपत्रेलगायत काम चालु आर्थिक वर्षमा सम्पन्न हुने आयोजना प्रमुख दीपक केसीले बताउनुभयो ।

केही दिनअघि मात्र जिल्लाका सभासद् शक्तिबहादुर बस्नेत, रीता रावल र राजीव शाहले तत्काल जाजरकोटवासीको समस्या समाधान गर्न संयुक्त ज्ञापनपत्र यातायात मन्त्रालयलाई बुझाएका थिए । जाजरकोटलाई विकासको दृष्टिकोणले राज्यका नीतिनिर्माण तहमा बस्नेहरुले कहिले पनि ध्यान नदिएको जाजरकोटवासीको भनाइ छ । 

Post a Comment

 
Top