0

डा गोविन्द केसीको अनसन तोडियो

 माघ १० –

 सरकार र आन्दोलनरत चिकित्सकबीच ८ बुँदे सहमतिसँगै दुई हप्तादेखि अनसन बसेका डा गोविन्द केसीले अनसन तोड्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका विषयमा उहाँले उठाएका माग सम्बोधन हुने गरी सहमति भएको हो ।
त्यसअघि आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच बिहान स्वास्थ्य मन्त्रालयमा वार्ता भएको थियो । सरकारले आफ्ना सबै माग पूरा गर्ने सहमति जनाएपछि केसीले अनसन तोड्नु भएको छ ।
अस्पतालका दुई जना बिरामी र एक जना डाक्टरले जुस खुवाएर केसीको अनसन तोडाएका हुन् । सहमति अनुसार चिकित्सा शिक्षा नीति बनाएर मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिइने छ ।
यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने सहमति भएको छ । डा केसीले राजनीतिक दबाबका कारण राजीनामा दिन बाध्य पारिएका डिन प्रकाश सायमीको पुनर्बहाली वा उहाँले अस्वीकार गरेमा वरिष्ठताका आधारमा डिन नियुक्ती हुनुपर्ने माग उठाउनुभएको थियो ।
यस्तै आइओएमलाई स्वायत्त विश्वविद्यालय बनाउनका लागि ९ सदस्यीय समिति पनि बनाइएको छ । चिकित्सक, प्राध्यापक तथा शिक्षा र स्वास्थ्य मन्त्रालयका पदाधिकारी रहेको समितिले अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।
आफ्ना माग सम्बोधन भएपछि अनसन तोड्दै डा केसीले यो उपलब्धि क्षणिक नभइ दीर्घकालिन रुपमा स्थापित गराउनका लागि भूमिका खेल्न सबैसँग आग्रह गर्नुभयो ।
सरकारसँगको सहमतिसँगै चिकित्सक संघले देशैभर गरेको आन्दोलन पनि फिर्ता लिएको छ । शिक्षण अस्पताललगायत सबै स्वास्थ्य संस्थामा सेवा नियमित सञ्चालन भएको संघले जनाएको छ ।

Post a Comment

 
Top