केराखेतीबाट वार्षिक लाखौँ आम्दानी
११ माघ
विगत ११ वर्षदेखि व्यावसायिक केराखेतीमा संलग्न यहाँका एक किसानले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।
बागलुङ नगरपालिका–४ गौँडाकोटका ३८ वर्षीय नारायण शर्माले केराखेतीमा नसोचेको सफलता हासिल गर्नुभएको छ ।
विसं २०६० मा एक घारी केराबाट खेती सुरु गर्नुभएका शर्माको बगानमा अहिले ३०० घारी केरा छन् । कुल १० रोपनी क्षेत्रफलमा लगाइएको केराखेतीबाट सम्पूर्ण खर्च कटाएर वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी हुने गरेको शर्माले बताउनुभयो । शर्माको सात जना परिवारको पालनपोषण र पढाइ खर्च केरा बिक्रीबाट हुने आम्दानीले चल्ने गरेको छ ।
शर्माका तीन छोरी र एक छोराले बागलुङ बजारको सुविधासम्पन्न निजी विद्यालयमा पढ्दै आएका छन् । शर्माले आफ्नै खेतबारीमा अन्य बाली लगाउन छोडेर व्यावसायिक केराखेती सुरु गर्नुभएको हो ।
“अन्न बालीभन्दा फलफूल तथा नगदी बालीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि मैले केराखेती रोजेँ,” शर्माले भन्नुभयो, “म अहिले यसैबाट सबैभन्दा बढी खुसी छु, मेरो सम्पूर्ण घर व्यवहार पनि यसैबाट चलेको छ, वार्षिक रु तीन÷चार लाख बचत गर्न पनि सक्ने भएको छु” । उहाँको बगानमा झापाली मालुङ्गा जातको ३०० घारी केरा छन् ।
एकै याममा हजारौँ रुपैयाँको केरा बिक्रीका लागि तयार हुने गरेको शर्माको भनाइ छ । शर्माको बगानमा उत्पादन भएको केरा खरिदका लागि व्यापारीहरू बगानमै पुग्ने गरेका छन् । स्थानीय हावापानीमा उत्पादन भएको केरा बजारमा पनि व्यापारीले खोजीखोजी खरिद गर्ने गरेका छन् । “बजारका लागि कुनै समस्या छैन, यहाँ उत्पादन भएको केरा बागलुङ बजारमै खपत हुन्छ”, शर्माले भन्नुभयो, “व्यापारीहरू बगानमै आउँछन्, केरा खरिदका लागि ।” शर्माका अनुसार जाडोयाममा प्रतिदर्जन रु ७० सम्ममा केरा बिक्री हुने गरेको छ ।
गर्मीयाममा भने रु ८० देखि रु ९० सम्ममा केरा बिक्री हुने गरेको छ । तुलनात्मक रूपमा गर्मीयाममा केराको बिक्री मूल्य बढी हुने गरेको छ । बगानबाट उक्त मूल्यमा खरिद गरेको केरा खुद्रा व्यापारीले भने दर्जनको रु १०० भन्दा बढी मूल्य बिक्री गर्ने गरेका छन् । प्रतिकोसा केराको मूल्य रु छ देखि रु सातसम्म पर्ने गरेको छ ।
शर्माको १० वर्षको अन्तरालमा केराखेतीमा अहिलेसम्म रु तीन लाख जतिमात्र लगानी भएको छ । उहाँ र परिवारका सदस्य मिलेर केरा बगानमा काम गर्ने गरेका छन् । बगानको छाँटकाँट, बिरुवा निकाल्ने र मल हाल्ने याममा भने ज्यालादारीमा मजदुरहरू लगाउने गरेको शर्माले जानकारी दिनुभयो ।

Post a Comment