काभ्रेमा कुखुरा व्यवसायीलाई क्षतिपूर्ति वितरण
, ११ माघ
बर्डफ्लुको सङ्क्रमणबाट कुखुरा नष्ट भएपछि मारमा परेका कुखुरा व्यवसायीलाई काभ्रेमा रु चार करोड १२ लाख १७ हजार ७३९ क्षतिपूर्तिस्वरूप वितरण गरिएको छ ।
उनीहरूलाई प्यारेन्ट ब्रोइलरको रु २५०, लेयर्स प्यारेन्टको रु ५००, कमर्सियल ब्रोइलर लेयर्स चार हप्तामाथिका जुनसुकै भएपनि रु १३०, चार हप्तामुनिको चल्लाको रु ५०, अन्डा प्रतिगोटा रु तीन र दाना प्रतिकेजी रु १० का दरले क्षतिपूर्ति वितरण गरिएको पशुसेवा कार्यालय काभ्रेका प्राविधिक सहायक मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
काभ्रेका विभिन्न गाविसमा रहेका छवटा ह्याचरी उद्योग र ४२ वटा कुखुरा फार्मसहित ४८ वटालाई क्षतिपूर्ति वितरण गरिएको हो ।
काभ्रेमा बर्डफ्लुको सङ्क्रमणबाट झन्डै कुल रु ३० करोडको हाराहारीमा क्षति भएको थियो । कुखुरापालनको क्षेत्रमा करिब रु एक अर्ब ११ करोड ३८ लाख २५ हजार लगानी भएको पशु सेवा कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको नासिकास्थान, उग्रतारा जनागाल, महेन्द्रज्योति, उग्रचण्डीनाला, टुकुचा नाला र पात्लेखेत गाविस र धुलिखेल, बनेपा र पनौती नगरपालिकाका फार्ममा बर्डफ्लु देखापरेपछि त्यहाँका कुखुरा नष्ट गरिएको थियो ।
कुखुरापालनको व्यवसाय गरेका नीरञ्जन दाहालले अहिले बैंकको ऋण तिर्नसमेत धौधौ भएको उल्लेख गर्दै सरकारको राहतको पर्खाइमा रहेको बताउनुभयो ।
उहाँले राहत आए पुनः सो व्यवसाय सञ्चालन गर्ने सोच बताउनुभएको छ । रु पाँच लाख ऋण लिएर कुखुरापालन सुरु गरेका दाहालले बैंकको व्याज नतिरेको तीन महिना भइसकेको जानकारी दिनुभयो ।
उहाँले सरकारले उपलब्ध गराएको क्षतिपूर्ति अत्यन्त न्यून रहेको पनि बताउनुभयो ।
Post a Comment