0

झुपडीमा आइजीपी, नाटक कि सुधारको प्रयास !


काठमाडौं
बाक्लो घेरा र हेलिकप्टरमा सयरगर्दै गरिवको घरमा बास बस्न जाने प्रधानमन्त्रीको कार्यशैलीले सहानुभुती हैन आलोचनानै बढायो। बाबुरामको प्रधानमन्त्री पदवाट विदाईसँगै गरिवको घरमा प्रधानमन्त्री पनि हरायो। अहिले त्यस्तै शैलीको अभियान नेपाल प्रहरीका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले शुरु गरेका छन्… प्रहरी जवानसँग प्रहरी महानिरिक्षक।

तल्लोतहका प्रहरी कर्मचारीको संगठन प्रमुखसँग सहज र सिधा सम्पर्क जालो बनाउन पूर्व प्रहरी प्रमुख कुवेरसिंह रानाले आइजीपीसँग प्रहरी जवान नामको कार्यक्रम अगाडि सारेका थिए।
यो कार्यक्रम अनुसार महिनाको अन्तिम दिन उनले प्रहरी जवान र प्रहरी हवल्दारहरुसँग टेलिफोन संवाद गरेर उनीहरुका गुनासा सुन्थे। प्राय घर पायक सरुवा र समयमै आफ्नो बढुवा नभएको गुनासाहरु आइरहे यो कार्यक्रम चलेसम्म। यसरी आएका कति समस्या समाधान भए भन्ने तथ्य चै उनी विदा भएर जाने अन्तिम समयसम्म सार्वजनिक गरिएन। जसकारण फोनइन कार्यक्रमको प्रभावकारीता छुट्टीएन।
३० वर्षिय सेवा अवधीका कारण रानाको अवकाससँगै प्रहरी प्रमुखमा नियुक्त भएका उपेन्द्रकान्त अर्याल थप एक कदम क्रान्तीकारी बन्दै आइजीपीसँग प्रहरी जवान हैन, जवानसँग प्रहरी प्रमुख कार्यक्रम नाम राखेर बाबुराम शैलीको मोडल ल्याए।
कार्यक्रमको मोडल अनुसार आइजीपी अर्याल महिनाको एक दिन दुर्गम भेगका प्रहरी इकाईहरुमा गएर बस्नेछन्। उनको बसाईको उदेश्य प्रहरीले भोग्नु परेको समस्या, प्रहरी र स्थानीयको सम्बन्ध र प्रहरीको सेवाको स्तरकोको अवलोकन र सुधार गरी प्रहरीको सेवामा सुधार गर्ने हो।
यही कार्यक्रमको पहिलो पाइला उनले रामेछापको राकाथुम गाविसको लुभुघाट प्रहरी चौकीमा पुगेर त्यहाँका प्रहरीसँगै रात विताए भने भोलिपल्ट स्थानियसँग प्रहरीको गतिविधिबारे जानकारी लिएर काठमाडौं फर्किए। ह्वाङग परेको छानामुनी बसेर खाना आए भने प्लास्टिकले बोरेको छानामुनी रात विताएर उनी आइतवार काठमाडौं फर्किएका छन्।
केन्द्रमा बसेर दोस्रोतह मार्फत अनुगमन गराउनुभन्दा प्रहरी प्रमुख आफैं बेलाबखत कार्यक्षेत्रमा खटिएर प्रहरीले ब्यहोरेको सास्ती र स्थानीयको प्रहरीप्रतिको धारणा अनुभव गर्नु पक्कै पनि सकारात्मक पाटो हो। यसले प्रहरी प्रमुख र तल्लोतहका प्रहरीको सम्बन्ध सुमधुर हुन्छनै , आफ्नो संगठनको सदस्य कुनतहको अवस्थामा बसेर शान्ति सुरक्षामा खटिइरहेका छन् भन्ने तथ्य संगठन प्रमुख आफैंले प्रत्यक्ष अनुभव समेत गर्न पाउँछन्। प्रहरी महानिरिक्षक आफैं उपस्थित भएर स्थानीयसँग भलाकुसारी गर्ने भएकाले तल्लोतहका प्रहरीको व्यवहारमा सकारात्मक सुधार समेत आउनसक्छ। यो त भयो भावना र सम्भावनाको कुरो। मुलकुरा कार्यान्वयनको पाटो नै हो।
प्रहरी महानिरिक्षक जहाँ पुग्छन्, आफ्ना संगठनका सदस्यले ब्यहोरेका जस्तो दुख देखेर फर्कन्छन् त्यसपछि त्यसमा सुधार हुन्छ की हुन्न?
स्थानीयवाट प्रहरीको ब्यबहार र सेवाप्रति जस्तो प्रतिकृया आउँछ त्यसमा सुधार हुन्छ की हुन्न? यही प्रश्नको उत्तरपछि मात्रै प्रहरी जवानसँग आइजीपी कार्यक्रमको औचित्य पुष्टी हुनेछ।
जाने, एक रात बस्ने, भलाकुसारी गर्दै चुक्चुकाउने र सुधारको आश्वासन दिएर फर्कने तर, कार्यान्वयन नहुने हो भने यो अरु आइजीपी भन्दा फरक देखिन मञ्चन गरिएको नाटकमा मात्रै समेटिने पक्का छ। यसले उही बाबुराम पारामा केही दिन हल्ला त गराउँछ तर, यसको मुल निचोड दुखद नै बनाउने छ।
आखिर यो कार्यक्रम फरकपन देखाउन र सस्तो लोकप्रियताका लागी मात्रै बनाइएको हो या साच्चिकै संगठन प्रमुख संगठनका तल्लोतहका कर्मचारीले ब्यहोर्ने दुख र स्थानीयको गुनासो सुधार गरी संगठनको छवी सुधार्ननै सक्रिय भएका हुन् यो कार्यक्रमको केही श्रृंखलापछि पक्कै प्रष्टिन्छनै। आशा गरौं आइजीपीको यो कार्यक्रम उही बाबुराम पाराको मात्रै हुने छैन।

Post a Comment

 
Top