0

गलत बाटोमा प्रचन्ड

संविधान सभा निर्वाचनमा १५० सिटको अपेक्षा गरेको एकिकृत माओवादी प्रारम्भिक मतगणनाको परिणाम अनुसार तेस्रो शक्तिको रुपमा खुम्चिने भएपछि हिंसाउन्मुख भएको छ ।

काठमाडौं क्षेत्र नम्बर १० मा पार्टी अध्यक्ष पुष्पकमल दाहालनै पराजीत हुने निश्चित भएपछि माओवादीले केन्द्रिय पदाधिकारीको बैठक राखेर मत गणना अपेक्षा अनुसार अगाडि नबढेको भन्दै मत गणना केन्द्रमा रहेका आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउँदै मत परिमाण स्थगीत गर्न माग गरेको थियो ।
मतदान सकिए लगत्तै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई लगायतले निर्वाचन शान्तिपूर्ण भएको भन्दै खुसी ब्यक्त गरेको थियो ।
७५ प्रतिशत मतदाताले मत पत्र मार्फत दिएको जनादेशलाई अस्विकार गर्दै माओवादीले धम्किको भाषा प्रयोग गर्दै माओवादीलाई हराउन देशी विदेशी शक्तिले चलखेल गरेको आरोप लगायो ।
पहिलो संविधान सभा निर्वाचनमा पहिलो शक्ति काँग्रेस माओवादीको तुलनामा एक तिहाई मात्रै प्रत्यक्षमा जीतेर दोस्रो र नेकपा एमाले तेस्रो पार्टीमा खुम्चिए पनि उनीहरुले परिणाम स्विकार गरेका थिए ।
माओवादीको सो निर्णयले उसमा राजनीतिक संस्कार नरहेको पुष्टी गरेको छ नै, जनादेश आफु अनुकुल भए त्यसको आडमा सत्तामा जाने र आफु प्रतिकुल भए बहिस्कार भन्दै अपमान गर्ने दोहोरो चरित्रले उसैलाई घाटा हुने पक्का छ ।
निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादी हिंसाउन्मुख राजनीतिमा सक्रिय भइरहेको अवस्थामा एकिकृत माओवादीको यो निर्णयले शान्तिपूर्ण बाटोमा हिड्ने प्रयास पुन हिंसात्मक बन्ने खतरा बढेको छ ।
माओवादीले आफ्नो निर्णयमा पूर्नविचार नगर्ने हो भने राजनीतिक रुपमा यसले उसलाई भन्दा बढी नेकपा–माओवादीलाई फाइदा पूर्याउने छ नै संगै माओवादीले ६ वर्ष गरेको लोकतान्त्रिक अभ्यास समेत केवल ढोंग मात्रै रहेछ भन्ने पुष्टी हुनेछ ।
आम नागरिकमा माओवादी जनमतमा भन्दा छलकपटको राजनीतिमा बढी विश्वास गर्ने दलको छवी बन्नेछ । यसले घट्दोक्रममा रहेको उसको जनमतलाई थप कमजोर बनाउने छ ।
त्यसैले अहिलेको अवस्थामा आएको परिणाम स्विकार गरेर दोस्रो संविधान सभा मार्फत संविधान बनाउन अन्य दलभन्दा बढी सक्रिय र सकारात्मक वातावरण बनाउँदै खस्किएको जनमत बढाउनु र अर्को निर्वाचनमा गुमेको शक्ति जनमतमार्फत प्राप्त गर्न प्रयासरत रहनुमै माओवादी र उसको नेताहरुको राजनीतिक भविष्य सुरक्षित हुने पक्का छ ।

Post a Comment

 
Top