0

अनसन बसेका अधिकारी दम्पतीलाई छिमेकीले बोलाए

किरण लोहनी
 माघ ११ –
 छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनसनमा बसेका नन्दप्रसाद र गंगामाया अधिकारीलार्इ छिमेकीले गाउँ फर्कन आग्रह गरेका छन् ।
गाउँमा पुगेका अधिकारकर्मीहरुसँग छलफलका क्रममा स्थानीय वासिन्दाले अधिकारी दम्पतीलाई यस्तो आग्रह गरेका हुन् । गाउँ फर्कन समस्या नहुने र फर्कने हो भने आफूहरु सदरमुकामसम्म लिन आउने गाउँलेले बताएका स्राष्ट्रिय मानव अधिकार आयोगका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक यज्ञ अधिकारीले बताउनुभयो ।
झण्डै २ महिनादेखि अनसनरत अधिकारी दम्पतीको पुनस्र्थापनाबारे छलफल गर्न मानवअधिकारकर्मी सुदिप पाठक, क्षेत्रीय प्रमुख अधिकारी सहितको टोली शनिबार फुजेल पुगेको थियो ।
अधिकारकर्मीहरुले फुजेल गाविस ७ चमती गाउँस्थित  अधिकारी परिवारको घरको अवलोकन गरेपछि स्थानीय वासिन्दासँग छलफल गरेका थिए ।
२०६१ सालको भदौमा छोरा कृष्णप्रसाद अधिकारीको चितवनमा भएको हत्या, त्यसपछि उनका बाबुआमा न्याय खोज्दै बसेको अनशन र गाउँमा पुनस्र्थापनाका विषयमा गाउँलेहरुले आफ्ना धारणा राखेका थिए ।
कतिपय स्थानीय वासिन्दाले भने आरोप प्रत्यारोप गर्ने, शङ्का गर्ने, दोष लगाउने प्रवृत्ति अझै कायम रहेको भन्दै तत्काल उनीहरुको पुनस्र्थापना सम्भव नभएको बताएका छन् ।
गाँउमा विजुली बत्ति विस्तार गर्ने क्रममा बिबाद भएपछि २०६४ पुस १० गते स्थानीय माओवादी कार्यकर्ताले कुटपिट गरेपछि नन्दप्रसाद र गंगामाया गाउँबाट विस्थापित भएका थिए ।
गाउँबाट विस्थापित भएपछि अधिकारी परिवारको घर झाडीले घेरिएर जीर्ण बनेको छ । उनीहरु घर छाडेर हिँडेपछि गाईभैंसी, बाख्रा पनि गोठमै मरेको थियो ।

Post a Comment

 
Top