प्रहरीद्वारा नै वन फँडानी, अख्तियारमा उजुरी
१० माघ
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र कानुनको पालना गर्ने गराउने शपथ खाएर जिम्मेवारी बहन गर्न खटिएका व्यक्तिले नै कानुनको धज्जी उडाउँदै सार्वजनिक सम्पत्ति नै कब्जा गर्न खोज्छन् भने त्यसलाई विडम्बना नै भन्नुपर्छ ।
यस्तै भएको छ, अहिले भक्तपुरका चित्तपोल, भङ्गाल र काभ्रेका साँगाका बासिन्दालाई । सरकारकै लगानीमा बनेको दुई जिल्ला र तीनवटा गाविस जोड्ने दुईवटा सडक हुँदाहुँदै नेपाल प्रहरीले सामुदायिक वनलाई जानकारीसमेत नदिई सार्वजनिक सम्पत्तिको रुपमा रहेको सामुदायिक वन नै फँडानी गरेर निजी सडक लैजान डोजर चलाएपछि यहाँका बासिन्दाको प्रहरीप्रतिको विश्वास नै उडेको छ ।
नेपाल प्रहरी उच्च माध्यमिक विद्यालय साँगाले भक्तपुरको चित्तपोल गाविसस्थित लटरम्वेश्वर देउराली सामुदायिक वन क्षेत्रमा रहेको २० रोपनी सामुदायिक वनको बीचबाट वन फँडानी गर्दै सडक निर्माण सुरु गरेपछि वर्षौंदेखि प्रहरी र स्थानीय बासिन्दाबीच रहेको मित्रता, सहयोग र सद्भाव यतिखेर टुटेको छ ।
यही माघ १ गते अञ्चल प्रहरी कार्यालयका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक रमेशचन्द्र खरेलले डोजर लगाएर सडक निर्माणको उद्घाटन गरेलगत्तै सामुदायिक वनका रुख ढाल्दै सडक खन्न थालिएपछि स्थानीय बासिन्दा र प्रहरीबीचको वर्षौंदेखिको सद्भाव भत्किएर एकअर्कामा विरोधीका रुपमा खडा हुन पुगेका छन् ।
स्थानीय बासिन्दा र विभिन्न सामुदायिक समूहले वन फँडानी गर्दै डोजर चलाउनु र वन फँडानी गरेको १०० भन्दा बढी रुखसमेत बेपत्ता पार्ने उच्च माविका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक राजुबाबु श्रेष्ठको कार्यलाई ज्यादतिको सङ्ज्ञा दिएका छन् ।
स्थानीय बासिन्दा, लटरम्वेश्वर देउराली सामुदायिक वन उपभोक्ता समिति, साँगा नगरकोट सरोकार समाज, साँगा नगरकोट सडक उपभोक्ता समिति, भंगाल सडक उपभोक्ता समितिलगायतले वन फँडानी गरेर सडक निर्माण कार्यको विरोध गर्दै गाउँमा प्रहरीविरुद्ध ¥यालीसमेत निकालेका छन् ।
स्थानीयवासीले वन फँडानी रोक्न र प्रहरी नायब उपरीक्षकमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् भने न्यायका लागि अदालतमा मुद्दा हाल्ने तयारीमा जुटेका छन् ।
चित्तपोल गाविस वडा नं ६ र ७ मा रहेको उक्त सामुदायिक वन, उपभोक्ता समिति, जिल्ला वन कार्यालयसमेतलाई जानकारी नदिई प्रहरीले सामुदायिक वन फँडानी गरेर सडक निर्माण सुरु गर्नु भनेको कानुनको पालना गराउने प्रहरीद्वारा नै कानुनको धज्जी उडाएको ठहर्ने साँगा–नगरकोट सरोकार समितिका अध्यक्ष राजाराम कार्कीले बताउनुभयो ।
साँगाबाट चित्तपोल ७, ८ र ९ जाने दुईवटा वैकल्पिक सडक र साँगाबाट उच्च मावि जाने सडक हुँदाहँुदै प्रहरीले जबर्जस्ती सामुदायिक वन नै फँडानी गरेर सडक निर्माण गर्न थालेपछि स्थानीयवासी विरोधमा उत्रिँदा पनि प्रहरीले अटेर गरेको उहाँको भनाइ छ ।
प्रहरीले दशकौँदेखि नासिका स्थान गाविस–२, टुकुचा, उग्रचण्डी, भक्तपुरको चित्तपोल, ताथली र नगरकोटका १६ हजारभन्दा बढी जनताले आवतजावत गर्दै आएको साँगा नगरकोट पर्यटकीय मार्गलाई बन्द गर्ने गरी प्रहरीले उक्त सडक निर्माण गर्न लागेको चित्तपोल–७ का अमिर कार्कीले बताउनुभयो ।
स्थानीय जनता र प्रहरी उच्च माविले समेत प्रयोग गर्दैआएको कालोपत्रे सडकसमेत बिगार्ने गरी सडक निर्माण भएको बारेमा छलफल गर्न जाँदा प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय शिक्षक उद्धव कार्कीलाई समेत हातपात गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।
प्रहरीले सामुदायिक वन क्षेत्र मिचेर तारबार लगाएको बताउँदै भंगाल सडक उपभोक्ता समितिका अध्यक्ष रामकृष्ण ढकालले प्रहरीको ज्यादतिविरुद्ध जिल्ला वन कार्यालयमा उजुरी दिएको बताउनुभयो ।
साँगा नगरकोट सडक उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र खड्काले प्रहरी विद्यालयले भइरहेको सडक बन्द गराउने उद्देश्यले वन फँडानी गरेर सडक निर्माण गर्न लागेपछि चित्तपोल, नासिका, टुकुचा, भंगाल गाविसका बासिन्दा विरोधमा उत्रिएका उहाँको भनाइ छ ।
यता जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख सूर्यकान्त सिग्देलले प्रहरीले वन फँडानी गरेर सडक निर्माण गर्न लागेको भन्ने जानकारी आएकाले सत्यतथ्य बुझ्न अनुसन्धान अधिकृतको नेतृत्वमा छानबिन टोली गठन गरिएको बताउनुभयो ।
प्रहरीले वन फँडानी गरेको भन्न नमिल्ने दाबी गर्दै उहाँले वनको बीचबाट सडक खन्न जिल्ला वन कार्यालयसँग कुनै स्वीकृति भने नलिएको बताउनुभयो । उहाँले सडक खन्दा ढालिएको रुखको अवस्थाबारे पनि जानकारी नभएको बताउनुभयो ।
काभ्रेमा रहेको प्रहरी उच्च माविले भक्तपुरमा रहेको वन फँडानी गर्दा चित्तपोल गाविस र अन्य निकायलाई समेत जानकारी नगराई कानुन मिच्दै अगाडि बढेको बताउँदै उहाँले वन फँडानी गर्दा विनास भएको रुख समितिलाई बुझाएर सडक निर्माण कार्य नरोकेसम्म स्थानीयवासी प्रहरीविरुद्ध उत्रिने बताएका छन् ।
लटरम्वेश्वर देउराली सामुदायिक वनका अध्यक्ष डोलबहादुर कार्कीलाई समेत प्रहरीले आर्थिक प्रलोभनमा पारेर वन फँडानी गरेको बताइन्छ । वन उपभोक्ता समितिको बृहत् भेलाले कार्कीलाई अध्यक्षबाट हटाइसकेको छ ।
Post a Comment