0
ठोरीमा जङ्गली हात्तीको आतङ्क
 पर्साको ठोरीमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट आइतबार राति निस्किएको जङ्गली हात्तीले मानवबस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि ठोरीवासी रातभर जाग्रम बस्न बाध्य भएका छन् । 
 
मानवबस्तीमा पसेर जङ्गली हात्तीले घर भत्काउनुका साथै घरमा भण्डारण गरेर राखेको अन्नपात खाएर उत्पात मच्चाउन थालेपछि ठोरीवासी पुनः आतङ्कित बनेका स्थानीय शिक्षक प्रेम लामाले बताउनुभयो । 
 
गएराति ८ बजे पनि ठोरी गाविस–१ चौताराबाट मानवबस्तीमा पसेको जङ्गली हात्तीले स्थानीय गोपाल खनियाको घर भत्काउनुका साथै उनको घरमा भण्डारण गरी राखेको १० मुरी धान नष्ट गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले जानकारी दिनुभयो ।
 
जङ्गली हात्तीले उपद्रो मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा मध्यरातमा हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जतर्फ धपाउन सफल भएको उहाँले बताउनुभयो । 
 
जङ्गल फर्किएको हात्ती पुनः ठोरी गाविस–३ सरस्वतीनगरको फारलाइनमा राति ३ बजे पसेर आतङ्क मच्चाएको थियो । हात्ती रातभर मानवबस्तीमा बसेर आतङ्क मच्चाउन थालेपछि स्थानीयवासी रातभर जाग्रम बस्न बाध्य भएका थिए ।
 
चितवन राष्ट्रिय निकुञ्जबाट दैनिक जसो साँझ पर्नासाथ मानवबस्तीमा प्रवेश गरी आतङ्क मच्चाउँदै आएको हात्तीले यसअघि २४ वटाभन्दा बढी घर भत्काई क्षति पु¥याइसकेको छ । 

Post a Comment

 
Top