परिवर्तनकारी शक्तिको बाहुल्यताका कारण संविधान लेखनले पूर्णता पाउने – नेताहरु
८ माघ
प्रमुख राजनीतिक दलका नेताहरुले निर्वाचनको जनादेशअनुरुप प्रमुख दलहरुले साना दलहरुलाई समेत विश्वासमा लिएर संविधान निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा नेताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले अत्यन्त चासो साथ हेरिरहेका दोस्रो संविधानसभाको गतिविधि यथाशीघ्र संविधान लेखनतर्फ नै केन्द्रित गर्न प्रयास गर्ने प्रतिबद्धता ती नेताहरुले व्यक्त गरे ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले सङ्ख्यात्मक रुपमा कमी बेसी भए पनि हिजो सहमति गर्ने दलहरु नै यसपटक पनि संविधानसभामा मुख्य शक्तिका रुपमा प्रवेश गरेकाले विगतका सहमतिलाई ग्रहण गर्न कुनै व्यवधान नरहेको उल्लेख गर्नुभयो ।
“अघिल्लो संविधानसभा परिणामका हिसाबले असफल ठहरिएपनि केही महत्वपूर्ण काम भएका छन्, ती राम्रा कामलाई ग्रहण गरेर बैठक निरन्तर बसेर शासकीय स्वरुप र सङ्घीयता जस्ता विषयमा संविधानसभाभित्रै बसेर निर्णयमा पुग्नुपर्छ,” नेता लेखकले भन्नुभयो ।
संविधानसभाको बैठक प्रधानमन्त्रीले डाक्ने संवैधानिक व्यवस्थाका आधारमा आह्वान भइसकेको दृष्टान्त दिँदै उहाँले राष्ट्रपति पनि संविधान जारी नभएसम्मका लागि रहने संवैधानिक प्रावधानअनुसार अघि बढ्नु उपयुक्त हुने बताउनुभयो ।
नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको बाहुल्यता, शान्ति प्रक्रियाअन्तर्गत सेना समायोजनको काम सकिएको र दलहरुले वाचा गरेको समयावधिभित्र संविधान लेख्नुपर्छ भन्ने चौतर्फी दबाब भएकाले यसपटक संविधान बन्ने आधार बलियो रहेको छ भन्नुभयो ।
“काँग्रेस र एमालेबीच बलियो समझदारी हुनुपर्छ, यी शक्तिबीच दुरी बढे संविधान लेखनको काम प्रभावित हुन्छ, त्यसैले हिजोको परिवर्तनका शक्ति सहभागी संयुक्त सरकार गठन गरेर अघि बढ्दा नै संविधान लेखनले सुनिश्चितता पाउँछ,” नेता ज्ञवालीले भन्नुभयो ।
उहाँले राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने कि अहिलेकैलाई निरन्तरता दिने भन्ने विषय संविधानसभाको बैठकमा छलफलको विषय बनाइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एनेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टी संविधान बनाउन सम्पूर्ण शक्तिका साथ लाग्ने बताउनुभयो ।
नयाँ संविधानसभाको गठन भएकाले राष्ट्रपतिको नयाँ निर्वाचन गराउनुपर्छ, यसमा केही विवाद गर्नुहुँदैन भन्दै उहाँले एमाओवादी सरकारको गठनको चासोमा होइन संविधान निर्माणलाई नै प्राथमिकता दिने पक्षमा रहेको छ भन्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ संविधान जारी नभएसम्मका लागि वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिनु उपयुक्त हुने धारणा राख्नुभयो ।
उहाँले एक वर्षभित्र संविधान जारी गरेर यही संविधानसभाले नयाँ राष्ट्रपति चयन गर्ने गरी अहिलेको राष्ट्रपतिलाई निरन्तरता दिँदा अहिले नै राष्ट्रपति फेर्नुपर्छ र पर्दैन भन्ने दुवै किसिमका भावनाको कदर हुने तर्क प्रस्तुत गर्नुभयो ।
Post a Comment