पशुपतिको पण्डितले लुटेपछि
“एक सय रुप्पेले कही ग्रह शान्ति हुन्छ ? एघार सय घटी त हुदै हुदैन। ब्रह्मणलाई त खुसी पारेर पो फल पाइन्छ।”पण्डितनी बज्यै हाम्रो सातो जाने गरी झर्किइन्।
“एतिमै सन्तोक गर्नुहोस् न माता। हामीलाई आशिर्वाद दिनुहोस्।” मेरी आमाले हात जोडेर अनुनय विनय गर्नुभयो।
“बरु लानुहोस् यो दान दक्षिणा पनि अरु कसैलाई दिनुहोस्।” पण्डितनी बज्यैको रिस अझै थामिएन। उनलाई पण्डित बाजेले पनि साथ दिइरहेका थिए।
फूल अक्षता किन्ने ठाउँ कटेपछि पशुपति परिसर छिर्ने गेट आउछ। त्यहीं तन्ना ओच्छ्याएर बसेका पण्डितलाई ग्रह शान्ति गर्न लगाएका थियौं हामीले। पण्डित बाजेकी सेक्रेटरीलाई आमाबुवा दुवै मिलेर सम्झाउन थाल्नु भयो।
दुना टपरीमा राखिएका दक्षिणालाई यसो ओल्टाई पल्टाई मैले नजर दौडाएँ। सय, पचास, वीस इत्यादिको नोटहरु गन्दा करिव नौ सय रुपैयाँ थियो। दश, पाँच र खुद्रा सिक्काहरु गन्ने जाँगर मसँग थिएन। त्यो जोड्दा अझ बढि हुन सक्थ्यो। घरबाट लगेको तीन किलो चामल सबै त्यहीं टपरीमा राखीसकिएको थियो।
मलाई एक मन त लाग्यो, सबै दान दक्षिणा र चामल उठाउँ र पशुपति वरपर बसेका असाहाय र बृद्धाहरुलाई बाँडीदिउँ तर आमा बुवाको धार्मिक आस्थामा चोट पुग्न सक्ने देखेर संयमता अपनाएँ।
श्रीमतिले इशारा गरेपछि मैले पुन एक सय रुपैयाँ थपीदिएँ र भने “अब चाहिं एघार सय पुग्यो होला बज्यै।”
उनको पारो अझ चढ्यो, “यो त दुना टपरीमा राखेर भगवानलाई चढाउने पैसा पो भयो त। ब्राम्हणलाई टिका लगाएर दिने दक्षिणा पो एघार सय भनेको मैले।”
खासमा मैले ब्राम्हणलाई टिका लगाई दिएर सय रुपैयाँ दक्षिणा दिएपछि यो विवाद तन्किएको थियो।
…………………………………………
अब म थोरै शव्दमा यसको पृष्ठभूमि तिर लाग्छु। खासमा मेरो आमा बुवालाई उपचार गर्नको लागि मैले काठमाण्डु बोलाएँ। उहाँहरु धर्मकर्ममा बडो आस्था राख्नु हुन्छ। यता आउनु अघि उतैको पण्डितलाई मेरो र मेरो फुच्चे छोरोको चिना देखाउनु भएछ। पण्डितले मलाई राहु र फुच्चेलाई केतु ग्रह चलेको भनेर आमा बुवालाई तर्साएछ। अनि मेरो ग्रह शान्ति नगरी के मान्थे बुढाबुढी।
मलाई भने यस्ता कुरामा रत्तिभर विश्वास भए पो। मैले जति सुकै आनाकानी गरे पनि केही जोड चलेन। अनि चैत १६ गते शनिवार छुट्टीको दिन पारेर लागियो स-परिवार पशुपति तिर ग्रहशान्ति गराउन। राहुको लागि कालो र केतुको लागि खैरो एक एक मिटरको कपडा, तिल, जौं के के जाति सवै सामाग्री तयार थिए। फलाम पनि दान गर्नु पर्छ भनेर बुवा आफैले आफ्नै आरानबाट दुईवटा कर्द बनाएर ल्याउनु भएको थियो।
ग्राहक कुरेर लहरै बसेका पण्डितहरु मध्ये अलि फुर्सदिलो खोज्दै हिंडे म। ग्राहक नपाएको एउटाले मलाई परैबाट घाटी तन्काई तन्काई हेर्यो। मैले उसैसँग ग्रह शान्ति गराइदिन प्रस्ताव राखें।
उसले आमालाई सोध्यो, “के थरी ?”
“रसाइली” आमाले जवाफ दिनु भो।
“रसाइली भनेको के जात ?” उसले फेरि सोध्यो।
आमा अक्मकिनु भो।
आमा अक्मकिनुको कारण मलाई थाहा थियो। अझै पनि विभिन्न ठाउँमा हुने धार्मिक यज्ञ अनुष्ठानहरुमा आमाको जात ‘कमिनी’ भन्ने थाहा पाएपछि यज्ञ स्थलमा प्रवेश गर्न वञ्चित गरीएको अनुभव आमाले सुनाउनु भएको छ मलाई। त्यहा नजानु न त भन्दा नि आमा माने पो।
यो पण्डितले जात थाहा पाएर ग्रह शान्ति गर्न नमान्ला भन्ने त्रासले उहाँलाई समातेको थियो।
म अघि सरें र पण्डितको अनुहार नजिक मेरो अनुहार लगेर आँखा जुधाएँ र भनें, “मेरो जात विश्वकर्मा हो।”
पण्डित बाजे र बज्यैले एकछिन मुखामुख गरे र हामीलाई त्यहीं तन्नामा बस्नु भने।
ग्रह शान्तिका सामानहरु फिजाउन सुरु भो। मेरो र फुच्चेको लागि अलग अलग टपरामा पुजा सामाग्रीहरु राखिए। म र फुच्चे चाहिं सँगै बस्यौं। सुरुमा हामी दुई जनाले चामलले भरिएको टपरामा सय सय रुपैयाँ राखेर दक्षिणाको सुरुवात गर्यौं। घरी फलाना ग्रहलाई मन्साउन त घरी ढिस्काना प्रेतलाई भगाउन भन्दै हामीले सय, पचास, वीस, दस, पाँचका नोट र सिक्काहरु थप्दै गयौं।
पण्डित के के जाती मन्त्रहरु पढ्थे। पण्डित्नी पैसा अझै थप्न हामीलाई उक्साई रहन्थिन्।
मलाई दिक्क लागिरहेको थियो। फुच्चेले बडो जिज्ञासु भएर रमाइलो मानिरहेको देखेर चित्त बुझाएँ। पण्डितले घरी ढोग्नुस् भन्छन् घरी फलाना चिज चढाउनुस् भन्छन्। फुच्चेलाई उसकी आमाले सघाइरहेकी थिइन्।
कार्यक्रमको समापनतिर दुईटा टपरीमा राखिएको चामल, केही रुपैयाँ र कपडा चाहिं कान चिरीएको जोगीलाई दिनु पर्ने रहेछ। आफ्नो ग्रह उसमा सार्न यसो गर्नु पर्ने रे। मलाई पिर्ने ग्रहले त्यसलाई चाहिं पिर्दैन कि क्या हो?
पण्डितनी बज्यैले एउटा कालो कपडाधारी जोगीलाई लिएर आइन्। जोगीले यसो टपरातिर आँखा दौडायो। बीस बीस रुपैयाँको नोट देखेर उसले पैसा थपेर दिए लान्छु नत्र लान्न भनेर बार्गेनिङ सुरु गर्यो। त्यसो भए अर्को जोगीलाई दिन्छौ भनेपछि उ जति छ त्यति नै लान राजी भयो।
यहाँ उल्लेख गर्नै पर्ने कुरा अर्को पनि छ। मैले र फुच्चे छोरोले फलाम दान गर्नु पर्ने भनिएकोले दुई वटा टपरीमा एक एक वटा कर्द राखिएको थियो। जुन कान चिरीएको जोगीलाई दान गर्नु पर्ने थियो। पण्डितले यसो मौका छोपेर मेरो टपरीमा भएको एउटा कर्द चाहिं खुसुक्क आफ्नो थाली मुनी राखी सकेका थिए। मैले थाहा नपाए झैं गरीदिएँ। मेरो पिताजीको सिर्जनाको उपभोग उनैले गरुन भनेर।
अन्तिममा हामी सबैलाई टिका लाईदिए पण्डितले। हामीले पनि उनलाई टिका लगाई दिएर दक्षिणा दिनु पर्ने उनले बताए। अघि नै ठिकैको दक्षिणा दिइ सकिएको छ भन्ने लाग्यो मलाई। मैले टिका लगाई दिएर सय रुपैयाँ हातमा राखीदिएँ। अनि सुरु भयो विवाद।
…………………………………………….
मैले यसो हिसाव गरें। आधा घण्टा जति उनले समय दिए बापत हामीले एक हजार रुपैंया भन्दा बढि दियौं। यो आम्दानी कतारको टाउको फुट्ने घाममा काम गरेर हाम्रा नेपाली दाजुभाईले कमाएको रकम भन्दा पचासौं गुणा धेरै हो। त्यति दिदा पनि अझै दक्षिणाको छुट्टै एघार सय रुपैयाँ चाहियो भन्दै थर्काउन थाले उनीहरुले।
मैले अलि कडाईका साथ यस्तो मोलमोलाई नगर्न चेतावनी दिएँ। आमा बुवा उनीहरुलाई अझै खुसी पार्ने प्रयत्न गर्दै हुनुहुन्थ्यो। ब्राह्मण रिसाए छोराको लागि गरेको यत्रो मेहनतको फल प्राप्त नहोला कि भन्ने चिन्ता थियो उहाँहरुलाई।
जति प्राप्त भयो त्यो भन्दा बढि नपाउने छाँट देखेर हामी हिड्ने बेलामा पण्डितले आफ्नी सेक्रेटरीलाई देखाउदै भने, “ल ठिकै छ। यिनले पनि अघिदेखि काममा सघाएकी छिन्। चेली सम्झेर यिनलाई पनि केही दक्षिणा दिएर जानुस् न त।”
ए बाबा ! लुट्नुको पनि हद हुन्छ नि यार। उसकी सेक्रेटरीलाई त उसैले पैसा दिनु पर्ने होइन र भन्या।

Post a Comment