हामी पढेलेखेका भाग्यवादी
गुरुले एउटा पिपलको बीज फुटाएर शिष्यहरुलाई देखाएछन् र सोधेछन्, “यस भित्र के छ ? देख्न सक्छौ ?”
त्यति मसिनो बीजभित्र के छ भनेर जवाफ दिन सबैलाई कठिन भएछ। तर कसैले गुदी छ भनेछन्। धेरै जसोले केही पनि छैन भन्ने जवाफ दिएछन्।
ति मध्ये एउटा शिष्यले जवाफ दिएछ, “गुरुदेव, म यो बीजभित्र विशाल वृक्ष देखीरहेछु।”
यो कथा सुनाउदै ओशो भन्छन् – हरेक मनुष्यभित्र विशाल बृक्ष हुने बीज लुकेर बसेको हुन्छ। त्यो बीजको सम्भाव्यतालाई कसैले देख्छन् त कसैले देख्दैनन्।
अब मैले उठाउन खोजेको प्रसंङ्ग तीर लागौं।
भर्खरै भारतको नयाँ दिल्लीमा आम आद्मी पार्टी खोलेर अरविन्द केजरीवाल उदाए। हामी पढेलेखेका, बुद्धिजिवी लगायतले चिच्यायौं – नेपालमा पनि केजरीवाल जन्मिनु पर्छ।
केही समयअघि नेल्सन मण्डेलाले देह त्याग गरे। हामीले श्रद्धाञ्जली प्रकट गर्दै भन्यौं – किन जन्मदैनन् हाम्रोमा मण्डेलाहरु ? हामी कहाँ पनि जन्मिदेउ न हे मण्डेला।
हामी कहाँ बुद्ध एक पटक मात्रै जन्मिएर पुगेन। पटक पटक फेरि बुद्ध जन्मिदेउ भनेर पुकारा गर्छौं। बीपी र पुष्पलालहरुलाई फेरि आइदेउ भन्छौं। हाम्रै वरपर मानव सेवामा मरिहत्ते गरेर लाग्नेहरुलाई प्रशंसा गर्न कञ्जस्याईँ गर्ने हामीहरु अर्की मदर टेरेसाको जन्मको प्रतिक्षा गर्छौं। वाह ! अतुलनीय छ हाम्रो पर्खाई, हाम्रो धैर्यता।
हामी आफैलाई केजरीवाल हुन कस्ले रोकेको छ ? भ्रष्टाचारको विरोधमा लागेकाहरुलाई नै हामी भ्रष्टाचारी देख्छौं र उसको नियतमा शंका गर्छौं। हामीलाई त प्रल्हादको प्रार्थना सुनेर हिरण्यकश्यपुको वध गर्न नरसिंह अवतार आए झैं छूऽ मन्तर भए जसरी एकै पटक केजरीवाल नै प्रकट भइदिनु पर्छ। केजरीवालको संघर्ष र विगत हामी हेर्दैनौं। कयौं केजरीवालहरु हाम्रै वरीपरी ‘नेपाल माता कि जय’ भन्दै हिडीरहेका छन्। हामी तिनलाई गन्दैनौं। हामी भित्रै केजरीवालको बीज अंकुराउन खोजीरहेको छ तर हामी त्यसलाई वृक्ष हुन दिदैनौं।
अनि छ कसैले हामीलाई मण्डेला हुन रोकेको ? बुद्ध हुन रोकेको ? हामी चमत्कारमा विश्वास गर्ने भयौं। भाग्यमा विश्वास गर्ने आधुनिक भाग्यवादी भयौं। हामी आफै मुक्त हुन चाहादैनौं। हामी आफुलाई मुक्ति दिन कुनै मसिहाँ आइदेओस् भनेर जीवन विताईदिन सक्छौं तर आफै भित्रको त्यस्तो मसिहाको हत्या गरीदिन्छौं।
मण्डेलाकै उदाहरण लिउँ। उनी रङ्गभेद विरोधी आन्दोलन गरेर मात्रै मण्डेला भएका होइनन्। न त दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति भएर नै। उनी त राष्ट्रपति जस्तो गरीमामय पदबाट अवकाश लिएर आफु राष्ट्रको अभिभावक र मार्गदर्शक भएर बसीदिनाले सबैका प्रिय माडिबा र मण्डेला बनेका हुन्। आफुले जीवनभरी गरेको संघर्षको ब्याज खाएर बसेनन् उनी। उनको महानता उनको ‘त्याग’ को सह-उत्पादन् (बाइ-प्रडक्ट) हो। छ फिटको जमिन मुनी नपुगुञ्जेल सम्म पद ओगटेर बसेका भए आज उनी यति सम्मानित हुने थिएनन्।
हाम्रा नेताहरुले समेत नेपालमा मण्डेलाको खाँचो भएको कुरा गर्दा बडो ताज्जुब लागेर आउछ। सके मर्दा पनि पद बोकेरै लाजाउँला झैं गर्ने प्रवृत्ति सुधारे आफै मण्डेला बनिहालिन्छ नि। आफु बाहेक सबै जना मण्डेला बनिदिउन् भन्ने लाग्छ उनीहरुलाई।
यसलाई अझैं मसिनो गरी सोचौं त। हामी मध्ये कति त अनेकौं संघ, संस्था र संगठनमा छौं होला। त्यहाँ प्रमुख पद आफुले पाउनु पर्ने दावी गर्दै कतिको चित्त दुखायौं होला। घात प्रतिघात गर्यौं होला। विगतको योगदानको व्याज माग्यौं होला। खोइ हामीभित्रको मण्डेला?
बुद्धकै कुरा गरौं न। बुद्ध जस्तै घरबार त्यागेर तपस्वीको भेषमा ज्ञानको ज्योति फिजाउदै हिड्न हामी कोही तयार छौं र ? हाम्रा साखा सन्तानमा त्यसरी हिडुन् भन्ने हामी चाहान्छौं र ? बुद्ध नै कोही हामीलाई ज्ञान बाँड्न आए हामीले चाख दिएर सुनौंला ? त्यो सुन्न हामीले फुर्सद निकालौंला ?
इमान्दार भएर यि प्रश्नहरु आफैलाई सोधौं। यसको उत्तर सकारात्मक आए हामीले पुकारेको ठिकै छ। होइन भने हामी जस्तो ढोंगी, पाखण्डी र भाग्यवादी संसारमा खोजेर पाउन मुस्किल छ।
अब भन्नुस् त, हामी भित्रको बीज कहिले वृक्ष होला ?

Post a Comment