0
बाघको क्रियाकलापबारे अनुसन्धान सुरु
दुर्लभ वन्यजन्तु बाघको क्रियाकलाप एवम् सन्तान उत्पादनको अवस्थाबारे विशेष ढङ्गबाट अनुसन्धान सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले विभिन्न दाताको सहयोगमा अनुसन्धान सुरु गरेको हो ।  निकुञ्जको बाघको बासस्थान रहेको केही ठाउँमा क्यामेरा ट्यापिङ प्रविधिबाट चार वर्ष लगाएर अनुसन्धान गर्न लागिएको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले बताउनुभयो । सोअन्तर्गत वर्षको चारपटक १५ दिनसम्म क्यामेरा ट्यापिङबाट बाघको गतिविधि लिइने उहाँले बताउनुभयो । जसका लागि १५ वटा क्यामेरा प्रयोगमा ल्याइएको छ । 
अनुसन्धानलाई चितवन राष्ट्रिय निकुञ्जको सुकेभार क्षेत्रअन्तर्गत खोरिया मुहानदेखि डुमरियासम्म र माडीको वनकट्टादेखि बोटे सिमरासम्म सीमित गरिएको छ । ती ठाउँमा चार वर्षसम्म वर्षको चारपटक ट्यापिङ गरी बाघको नियमित क्रियाकलाप, बानीव्यहोरा, सन्तान उत्पादनको अवस्था, स्वास्थ्य स्थिति, अन्य जनावारसँगको सम्बन्ध लगायतका विषयमा जानकारी लिने सहायक संरक्षण अधिकृत पौडेलले बताउनुभयो । 
 सबै तस्बिरलाई सङ्कलन गरी चार वर्षपछि सम्पूर्ण अवस्थाबारे अनुसन्धानले पूर्णता पाउने निकुञ्जले जनाएको छ । नेपालमा यस किसिमको विशिष्ट प्रकारको अनुसन्धान पहिलोपटक गरिएको हो । जसअन्तर्गत पहिलो चरणको क्यामेरा ट्यापिङ कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ रहेका छन् । यो निकुञ्ज बाघको बासस्थानका लागि उत्कृष्ट मानिन्छ ।

Post a Comment

 
Top