0

​बागलुङमा प्रमुख पार्टीका सम्भाव्य उम्मेदवार को को?

 ६ फागुन 
– आगामी चैत्र २८ गते हुने बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनमा उम्मेदवार बन्न प्रमुख तीन पार्टीमा चहल पहल बढेको छ । चैत १ गते मनोनयन दर्ता गर्ने गरी निर्वाचन आयोगले कार्यक्रम सार्वजनिक गरिसकेको छ । 

सो क्षेत्रबाट विजयी कांग्रेस सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा गत निर्वाचनमा एमाले उम्मेदवारले भन्दा करिव १३ सय मत बढी ल्याइ खड्का विजयी भएका थिए । अहिले पनि यी दुई पार्टीवीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

एमालेले उम्मेदवार सिफारिस गर्न क्षेत्रीय र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी निर्देशन अनुसार बिहीबार एमाले बागलुङ क्षेत्र नं १ को क्षेत्रीय कमिटीको बैठक बोलाइएको क्षेत्रीय अध्यक्ष लालबहादुर थापाले जानकारी दिए । थापाका अनुसार सम्भाव्य उम्मेवारको नाम जिल्ला कमिटीमा पठाइने छ । 

एमालेमा चार जना सम्भाव्य उम्मेदवारको रुपमा देखिएका छन् । चर्चामा रहेका उम्मेदवारहरुमा पार्टी जिल्ला कमिटीका पूर्व प्रमुख एवं युवा संघ नेपालका पूर्व महासचिव इन्द्रलाल सापकोटा, पार्टीका पूर्व अध्यक्ष जनक पौडेल, राष्ट्रिय परिषदका पूर्व सदस्य हिराबहादुर केसी तथा पार्टी केन्द्रीय सदस्य एवं अनेमसं केन्द्रीय सदस्य मन केसी रहेका छन् । एमाले स्रोतका अनुसार यीमध्ये पनि सापकोटा र मन केसीमध्ये एकले उम्मेदवारी पाउने बढी सम्भावना छ । 

नेपाली कांग्रेसले भने स्वर्गीय खड्काकै परिवारभित्रबाट उम्मेवारी दिने बढी सम्भावना रहेको कांग्रेसका स्थानीय नेताहरु बताउँंछन् । यसो भएमा खड्काकी श्रीमती चम्पादेवी वा छोरा सुदीपमध्ये एकलाई उम्मेवार बनाइने छ । छोरा सुदीप अमेरिकामा बस्दै आएका थिए, बाबुु दुर्घटनामा परेपछि स्वदेश फर्किए थिए । 

त्यसयता उनी पार्टी गतिविधिमै सक्रिय छन् । परिवार भित्रबाट उम्मेवारी दिने निर्णय नभएमा मणिभद्र शर्मा कँंडेल, जगदीशचन्द्र उपाध्याय, जितेन्द्र थापा सम्भाव्य उम्मेदवार देखिएका छन् । एमाओवादीले पनि उम्मेवार चयन गरिसकेको छैन । सो पार्टीभित्र कृष्ण केसी, यज्ञवल्लभ शर्मा, गीता शर्मा र तिलक उप्रेती सम्भाव्य उम्मेदवारको रुपमा चर्चित छन् ।  

Post a Comment

 
Top