दुर्घटनास्थलबाट शव ल्याउन मौसमले साथ दिएन
सिन्धुपाल्चोक घोरथलीमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाली सेनाका दुई र अमेरिकी सेनाका छ जनाको शव सङ्कलन गरिएको छ ।
भूकम्पपीडितको उद्धार गर्न दोलखातर्फ गएको अमेरिकी मारिन क्रप्सको युएच–वान आई हुई हेलिकप्टर गत मङ्गलबार दिउँसो एघार हजार २०० फिटको उचाइमा अवस्थित सिन्धुपाल्चोकको घोरथलीमा दुर्घटना भएको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरका पार्टपुर्जा छरिएका र सनाखत गर्न नसकिने अवस्थामा भेटिएका शव सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ । खराब मौसम र दुर्घटनाग्रस्त क्षेत्रमा पटकपटकको भूकम्पले तत्काल शव काठमाडौँ ल्याउन सकिएको थिएन ।
यसैबीच दुर्घटनाग्रस्त हेलिकोप्टरको छानबिन गर्न नेपाली सेनाले हवाइ महानिर्देशनालयका सहायकरथी पाइलट सुधिर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको छ । कार्यदललाई घटनाको छानबिन गरी दुईदिन भित्र रिपोर्ट बुझाउन समयसीमा तोकिएको छ ।
यसरी पत्ता लागेको थियो हेलिकप्टर
नेपाली सेना र प्रहरीले स्थलगत र हवाई गस्तीबाट पनि फेला पार्न नसकेको अमेरिकी सेनाको हेलिकप्टर स्थानीय बासिन्दाको सहयोगमा पत्ता लागेको हो । घोर्थलीका स्याङबो शेर्पाले शुक्रबार बिहान सात बजे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा फोन गरेर दुर्घटनास्थलबारे जानकारी गराएका थिए।
उनको सूचनाका आधारमा नेपाली सेनाको टोली हेलिकप्टरबाट त्यस क्षेत्रमा पुगेको थियो । तर, हेलिकप्टर भेट्न नसकेपछि फर्केको थियो । पछि फेरि फोन गर्दा शेर्पाले नेपाली सेनाको हेलिकप्टरले फेदीबाटै खोजेको तर अमेरिकी हेलिकप्टर डाँडामा दुर्घटना भएको जानकारी गराएका थिए । त्यसपछि उनी आफ्नो घरभन्दा पारिको घोर्थली डाँडामा चार घण्टा पैदल हिँडेर पुगेका थिए । त्यहाँ पुगेर आफू रातो कपडा टांगेर आगोको धुनी लगाएर बस्ने जानकारी गराएपछि नेपाली सेनाको टोली उनले भने अनुसार नै घोर्थली पुगेको थियो । त्यसपछि मात्रै सेनाको दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको थियो ।
Post a Comment