हिन्दूकृत तिहार र वलिहाङ मुन्धुम्
(किरातकालदेखि सुरु भएको चाड तिहार)
नेपाल वैधानिक र घुमाउरो रुपमा धर्मरिनपेक्ष राज्य त घोषित भयो । तर, व्यवहारमा लागु भएको छैन । यो लागु हुने दिन आउला भनेर विश्वास गर्न सकिने अवस्था पनि छैन । राज्य सञ्चाकहरूमा त्यो मानसिकता देखिँदैन । यसमा स्वयम् धर्मनिरपेक्ष राज्यको पक्षधर हुनुपर्ने व्यक्ति र समुदायको पनि कमजोरी छ । ती कमी-कमजोरीहरू महसुस गरी त्यसलाई सच्याएर लैजान सहयोग हुन्छ कि भनेर यो ‘तिहार’ चाडको बारेमा केही अभिमतहरू राख्न खोजिएको छ ।
दशैं केवल हिन्दूमात्रको चाड भनिए पनि तिहार भने त्यस्तो होइन । यो प्रायः नेपालका सबै आदिवासी जनजातिहरूको पनि चाड हो । त्यसैले, यसबारे हामी सबै अलिक बढी संवेदनशील भएर बहसमा जुट्नु पर्दछ ।
नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्य पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरातकालतिर पुग्नुपर्ने हुन्छ ।
तिहार चाड र शब्दको उत्पत्ति
यो ‘तिहार’ शब्दको शाब्दिक अर्थलाई औंल्याउँदा अवश्य पनि सबै जाति र सम्प्रदायअनुसार केही फरक मतहरू पाइन्छन् । तैपनि, खास तथ्य कुरा एउटै नै हुनुपर्ने हो । नेपालमा प्रचलित हिन्दू धार्मिक मतानुसार यमराजको जीत वा हार भन्ने प्रसङ्गबाट ‘त्यो हार’ (त्यो पराजय) हुँदै ‘तिहार’ शब्दको व्युत्पत्ति भएको हो भनिन्छ । तर, वास्तवमा त्यही यमराजको कथामा पनि यमराजको न त कतै जीत भएको हो, या त हार नै । त्यहाँ हार र जीतको प्रसङ्ग कतै पाइँदैन । यसकारण, यो तिहार ‘त्यो हार’ शब्दबाटै बनेको हो भनेर विश्वास गर्न सकिन्न ।
नेपालकै आदिवासी किरात लिम्बू समुदायमा पाइने मतानुसार यो तिहार शब्दको उत्पत्ति ‘त्यो हार’ बाट नभएर ‘तियाहा’ भन्ने शब्दबाट भएको हो । यो ‘तियाहा’ शब्दको निर्माण र उत्पत्तिको तथ्य पहिल्याउँदा नेपालकै प्रथम र सबभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्ने किरातकालतिर पुग्नुपर्ने हुन्छ ।
किरात इतिहासकार स्वर्गीय इमानसिङ् चेम्जोङ्का अनुसार नेपालको किरातकालिन समयमा वलिहाङ (‘हाङ्’ को अर्थ किरात समुदायले बोल्ने प्रायः सबै भाषामा राजनेता वा प्रतापी व्यक्ति भन्ने हुन्छ) नाम गरेका राजनेता थिए । वलिहाङ जनताको दुःख-सुखमा प्रत्यक्ष सहभागी हुने गर्दथे । उनी जनताप्रति बफादार, प्रतापी र दूरदर्शी भएकाले राज्यमा कुनै कष्ट थिएन ।
राजकाज गर्दै एवंरीतले समय बित्तै जाँदा एक समय एकाएक राजनेता वलिहाङको मुहारमा उदासिनता र मलिनता छाउन थाल्यो । जनताहरू छक्क परे, आश्चर्यचकित हुने भए । आफ्ना प्यारा राजनेतालाई विन्तिभाउ गर्दै जोड गरेर सोधेपछि रहस्योद्घाटन गर्दै राजनेताले भनेछन्– “मेरो मृत्युको दिन नजिक आइपुगिसकेको छ । म यही कातिक महिनाको कालरात्री औंशीको रातसम्ममा मर्दैछु । म मेरा प्यारा जनतादेखि मृत्युवरण गर्न जानुपर्दा चिन्तित छु, दुःखी भएको छु ।”
किरात याक्थुङ् भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्द नै खस नेपाली भाषामा अपभ्रंश हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो भन्ने भनाइ छ । अझै पनि किरात (याक्थुङ) समुदायमा कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।
राजनेता वलिहाङको यस्तो कारुणिक कुरा सुनेपछि राजदरवार र देशभरि रुवाबासी चल्न थाल्यो । पुनः राजनेतालाई बिन्ति चढाउँदै बाँच्ने उपाय बताइदिन आग्रह गरे । राजनेता वलिहाङ्ले सान्त्वना दिँदै भने रे- “हुन त मलाई कालले लैजान्छ नै, तैपनि त्यस रात सबैले आआफ्नो घरघरमा दियो-कलश राखी रातभरि उज्यालो बत्ती बालेर काललाई नलैजान बिन्ती गर्दै, ईश्वरसँग प्रार्थना गर्दै बस्यौं भने कतै मर्दिनँ कि ।”
त्यसपछि, राजनेताले भनेबमोजिम त्यो औंशीको रातमा दियो-कलश राखी बत्ती बालेर ईश्वर (तागेरा निङवा?भुमाङ्) सँग आफ्ना प्यारा राजनेताको दीर्घायुको कामना गरिबसे । दुःखी जनताको यो प्रार्थनाले स्वभावैले राजनेताको मनोवलमा ऊर्जा थप्यो । त्यो दिन वालिहाङ् पनि आफ्नो जीवनरक्षाका लागि ध्यानमा बसे । वालिहाङ् गहिरो ध्यानमा बस्दा बस्दै मध्यरातमा समाधिस्थ भए । बिहान उज्यालो घाम उदाउने बेलामा वालिहाङ् गहिरो समाधिबाट ब्यूँझी फर्के ।
हुनसक्छ, ईश्वरबाट पनि जनताको कामनालाई स्वीकार भयो र होला, राजआवासमा त्यसरात बितिसक्दा पनि राजाको मृत्यु भएन । अब क्रमशः राजनेताको मुहारमा मुस्कान छाउन थाल्यो । उनी शारीरिक र मानसिक दुबै रुपले स्वस्थ्य हुँदै गए । अनि, त्यस राजआवास वरिपरि रहेका जनताले खुशीले एकैसाथ भने- ‘तियाहा !”
यसरी हर्ष र खुशीमा भनिने यो ‘तियाहा’ भन्ने किरात (याक्थुङ) शब्दको अर्थ ‘जय’ वा ‘विजय’ भन्ने हुन्छ । यसप्रकार, राजनेता वलिहाङ र जनताको जित भयो मुत्यृसित । तसर्थ, यो कुनै अन्य समकक्षी व्यक्ति वा शत्रु विशेषसित भएको जय नभएर स्वयम् मृत्युसँग भएको विजय हो । यसपश्चात्, राजनेता वलिहाङले निर्देशन दिए कि यसरी निको भइसक्दा पनि विचरा जनताहरू राजनेता के भए भनेर विलौना गर्दै अझै पनि पीरमर्कामा दियो-कलश बालेर आआफ्नो देवताको पूजाआजा गरी सुर्ताएर बसेका होलान् । त्यसैले, अब यहाँका सम्पूर्ण कार्यकर्ताहरू पूर्व–पश्चिम, उत्तर–दक्षिण सबैतिर राजनेता वलिहाङको मृत्यु नभई निको भएर सकुसल रहेको खबर प्रत्येक कुनाकाप्चामा पुर्याउन निर्देशन दिने सल्लाह भयो ।
त्यही निर्देशनअनुसार सञ्चारकर्मीको रुपमा आम् कार्यकर्ताहरू गाउँघर डुल्दै ‘वलिहाङरेन् तियाहा !’ (वलिहाङको जय भयो)’ भन्दै खबर पुर्याउँदै हिँडे । तिनीहरू आजका सञ्चारवाहक पत्रकारजस्तै थिए । यसरी किरात याक्थुङ् भाषामा ‘जय होस्’ वा ‘जय भयो’ भन्ने अर्थमा प्रयोग हुने ‘तियाहा’ शब्द नै खस नेपाली भाषामा अपभ्रंश हुँदै ‘तिहा’ र ‘तिहार’ भएको हो भन्ने भनाइ छ । अझै पनि किरात (याक्थुङ) समुदायमा कुनै धार्मिक वा सांस्कृतिक अनुष्ठान गर्दा सामुहिक रुपमा ‘तियाहा’ भन्ने चलन छ ।
किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान-दक्षिणा दिने-लिने चलन छैन । बरु, त्यतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान-दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन ।
तिहारमा खेलिने देउसी–भैलोको अर्थ
‘देउसी’ वा ‘देउसिरे’ भन्ने शब्दको शाब्दिक अर्थ केलाउँदा यो शब्द कुनै सुर, असुर वा देवासुर आदिबाट बनेको नभई अर्कै फरक र सार्थक अर्थ लाग्ने किरात (याक्थुङ) शब्दबाटै बनेको देखिन्छ । किरात (लिम्बू) भाषामा त्रिकालदर्शी महात्मा व्यक्तिलाई ‘तेअङ्सि’ भनिन्छ । तेअङ्सि भन्ने शब्दको अर्थ ज्ञानी अवतारी व्यक्ति भन्ने पनि हुन्छ । किरात मतमा वर्णित राजनेता वलिहाङ त्रिकालदर्शी पनि थिए भनिन्छ । उनी भूत, वर्तमान र भविष्यबारे राम्ररी हेक्का राख्दथे, र त आफ्नो मृत्युबारे अग्रीम थाहा पाए । उनी सपना, विपनामा अतीत, वर्तमान र भविष्यबारे ज्ञान पाउँदथे, थाहा पाउँथे । यस्ता व्यक्तिलाई किरात लिम्बू समुदायमा ‘तेअङ्सि’ भनिन्छ । जस्तै, किरात सिरिजङ्गा लिपिका पुनरुत्थानकर्ता तेअङ्सि सिरिजङ्गा एक तेअङ्सि हुन् ।
अतीतका कुराहरू समयसँगै व्यतीत हुँदैजाँदा कथा-कहानीजस्तै हुन्छन् । यस्तै इतिहासमा आज कथाजस्तै वर्णित वलिहाङको वर्णनमा आउने सञ्चारकर्मी खबरदारीहरू ‘तियाहा ! हाम्रा राजनेताको जय भयो, उनी बाँचे’ भन्दै सञ्चारप्रवाह गर्दै हिँड्दा जनताले पहिलो पटक त्यति सजिलै विश्वास नगरेर उल्टै प्रश्न सोधे, ‘होइन तिमीहरूलाई यसरी कसले पठाएको ?’ जवाफमा उनीहरूले भनेँ- ‘तेअङ्सिरे (महात्माले) ।’ ती महात्मा तेअङ्सि तिनै राजनेता वलिहाङ थिए । यसरी ‘तेअङ्सि’ले पठाएको भनी पटक-पटक स्पष्टीकरण दिँदै हिँड्दा भनिएको ‘तेअङ्सिरे’ भन्ने शब्दनै अपभ्रंश हुँदै कालान्तारमा देअङ्सिरे हुँदै ‘देउसी वा देउसीरे’ भएको हो । अझै पनि देउसी खेल्दा आफ्नो देउसी खेल्ने हकअधिकारको सफाया गर्न देउसी टोलीहरू भन्ने गर्छन्- ‘ए हामी त्यसै आएको होइन, यहीँको भूमिराजले खटाएको, वलिराजले पठाएको’ भन्ने चलन छ ।
त्यसैगरी, आज खेलिने यो भैलोको बारेमा खोजतलास गर्दा भने यसको चलन यहाँका आदिवासी जनजाति समुदायको किंवदन्तिमा कतै पाइँदैन । आज प्रचलित भैलो चाहिँ किरात संस्कृतिभन्दा अलिक बेमेल खालको महसुस हुन्छ । यो भैलोचाहिँ किरात समुदामा आफ्नै मुन्धुम् गाएर खेलिँदैन । अहिले देउसी खेल्दा महिला-पुरुष दुबै मिलेर खेलिन्छ भने भैलोचाहिँ महिलाले मात्रै, त्यसमा पनि औंशीको रातमा खेलिने चलन आदिवासी समसुदायमा छैन । र, कतै नक्कल गरिएको भए पनि यसको मुन्धुमी आधार पाइँदैन ।
यसैगरी, किरात मुन्धुम् र संस्कारमा कतै पनि भीख माग्ने र दान-दक्षिणा दिने-लिने चलन छैन । बरु, त्यतिकै सहयोग मागिन्छ, केही चिजले साटिन्छ वा मूल्य नै तिरिन्छ । तर, त्यसलाई दान-दक्षिणाको रुपमा दिने-लिने चलन किरात संस्कार र संस्कृतिभित्र पर्दैपर्दैन । भैली खेल्नेहरू आउँछन् आँगनमा । त्यो पनि गुन्युँ चोलो माग्न । त्यै पनि अँधेरी औंशीको रातमा, त्यसमा पनि केवल महिलाहरू मात्रै । यो अलिक बेमेल छ ।
खासमा, वहिहाङको मुन्धुम्अनुसार देउसी खेल्नेले गाउँगाउँमा गएर सृष्टि र सभ्यताको मुन्धुमसँगै वलिहाङको मुन्धुम् सुनाउँदै सांस्कृतिक कार्यक्रमहरू गरेर सबै जनतालई सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सचेत गराउने खालका कार्यक्रमहरू गर्नुपर्ने हो । एउटा गाउँ र अर्को गाउँ अथवा एउटा जाति र अर्को जातीय समुदायमाबीचमा सहयोग र सद्भावको विकास हुने कार्यक्रमहरू गर्नुपर्ने हो । त्यसै गर्थे पहिले गाउँघरमा । र, अहिले कहींकतै यसको मर्म बुझ्नेले त्यसै गर्ने गर्छन् । तर, धेरैजसो व्यक्ति, संस्था र समुदायबाट यसलाई त्यसरी लिन र गर्नको सट्टा केवल पैसा उठाउने र रमाइलो गर्ने पक्षमा मात्र विकसित हुँदै जानुले तिहारको भविष्य पनि खतरामा पर्दै गएको आभास हुन्छ ।
देउसी खेल्दा पनि यही मुन्धुमको आधारमा राजनेता वालिहाङ् सुसमाचार प्रचार गर्नुपर्ने हो । औंशीरातको दोस्रो दिन बिहानबाट देउसी खेल्नुपर्ने हो । किरात लिम्बु समुदायमा राजनेता वालिहाङ् बिहानपाख घाम उदाएको बेलामा समाधीबाट फर्केर सकुसल भएको अवस्थालाई घाम झुल्केको प्रतीकस्वरूप मुन्धुम भट्याइसँगै “नाम्लिङ्से-घे”/लालिङ्से-घे (सुर्योदय भयो/चन्द्रोदय भयो) भन्ने अर्थमा सहयोगीले अन्तरा थप्दै देउसी खेल्ने चलन छ ।
यी यस्ता चाडहरूलाई संस्थागत गर्न र समयानुसार सही र सार्थक रुपमा मनाउँदै लैजानका लागि आदिवासी जनजातिको हकमा सम्बद्ध जातीय, धार्मिक र सांस्कृतिक संघ-संस्थाहरूले विशेष ध्यान दिएर यसलाई सही मार्गमा डोर्याउँदै लाने कार्यक्रम र नीतिहरू अवलम्बन गर्दै जानु आवश्यक छ ।
तिहारमा देखिने विकृतिहरू
दसैं शुद्ध हिन्दू मात्रको चाड हो । यसलाई अरु धर्म र जातीय समुदायले अशुद्ध पारिदिनु हुँदैन । तर, तिहारको सवालमा आज मिश्रित संस्कार, संस्कृति र दर्शनले आआफ्नै ठाउँ लिएको छ । यसमा थुप्रै विकृतिहरू पनि देखिंदैछन् ।
१) जुवा-तासको विकृति
तिहारको बेला घरदेखि गल्ली, सडक र चोकचोकमा जुवा–तास खेल्ने चलन छ । यो चलन गाउँभन्दा पनि शहर–बजारमा अझै बढी व्याप्त छ । यसरी, तिहारमा जूवा–तास खेल्ने चलन आदिवासी किरात समुदायको संस्कार र चलनसँग सम्बद्ध भएको पाइँदैन । यो केवल हिन्दू संस्कृतिअनुसार मात्र यमपञ्चकको रुपमा मानिन्छ र खेल्ने गरिन्छ । मनोरञ्जनको रुपमा खेल्नु ठीकै भए पनि यसलाई संस्कृतिकै एउटा अङ्गको रुपमा मानेर लैजादाँ यसले अरु त के हिन्दू समुदायलाई पनि हित गर्दैन ।
साथै, यसको नकारात्मक असर अन्य आदिवासी समुदायमा पनि पर्न जान्छ । यो जुवा-तास आदिवासी समुदायले खैल्दै नखेलेर र खेल्नेले पनि यसलाई चाडै छोड्नु पर्दछ । अर्थात् यो जुवा-तास खेल्ने परम्परालाई सांस्कृतिक रुपमा मान्नु र वैधता दिनु राम्रो होइन । यो समयलाई कुनै सिर्जनात्मक कर्ममा सदुपयोग गर्नु उत्तम हुन्छ ।
तिहारमा दान–दक्षिणा माग्ने र दिने–लिने विकृति
ख्यालख्यालमै अहिले आएर तिहार चाड पनि दशैंभन्दा विकराल दशाको रुपमा विकसित हुँदैछ । चाड मान्ने र देउसी खेल्ने निहुँमा वलिहाङको नाम जप्दै बलजफ्ती चन्दा र दान–दक्षिणा असुल्ने गलत चलन हाबी हुँदैछ । यसको उन्मूलनको लागि यतिमात्र पैसा दिने भनेर बरु दररेट तोकिन्छ तर कहिल्यै पनि यसको ऐतिहासिक तथ्यलाई खोतलेर हेर्ने र सही कुरा पत्ता लगाएर गलत कुराको जरै उखेल्ने प्रयत्न गरिन्न । यो हाम्रो पनि मानसिक विकृति र कुसंस्कृति हो ।
किरात लिम्बु समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली-माइतिबीचमा फूलले एकापसमा कुनै हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि ।
नेपालका आदिवासी किरात लिम्बू संस्कृतिअनुसार त तिहारमा वा कुनै कुरामा पनि दान-दक्षिणा माग्ने र दिनेलिने संस्कार छैन । यो पछि थोपरिएको विकृति हो । पहिले वलिहाङको सु-समाचार प्रवाह गर्ने खबरदारीहरूलाई माया, दया लागेर मानवीय सहयोगको भावनाले सही सु-समाचार ल्याएकोमा खुशीहुँदै यसो बाटो खर्च, केही चिजबिज वा खानेकुराहरू दिने वा खुवाइ पठाउने क्रमको सुरुवात अवश्य भयो नै । र, अझै पनि सही रुपले तिहारको अर्थ र देउसीको मर्मानुसार देउसी खेल्नेले यसलाई त्यसरी नै बुझ्ने वा लिने गर्दछन् । गाउँघर वा शहर-बजारतिर पनि देउसी खेल्दा खाजापानी दिने चलन अझै पनि छँदैछ ।
तर, अब विस्तारै यो चलन लोप भएर खाजाको सट्टा पनि पैसै दिनुपर्ने चलन नआउला भन्न सकिन्न । त्यसरी, खाजा दिनु भनेको पैसा दिनुभन्दा पनि ठूलो सम्मान दिनु र पाउनु हो । यो “हुक्वा” वा हातको सोवित् दिने चलन पनि हो । यो हुक्वा वा हातको सोवितसँगै खासमा माया, ममता सहयोग र सद्भाव पनि दिइएको हुन्छ । तर, आज यतिमात्र पैसाले हुँदैहुँदैन, यति त दिनैपर्छ; कालो कात्तिकमा दिएको दानै हुन्छ भन्ने चलन गर्नु यो चाड र संस्कृतिको मर्मविपरीत र विरुद्धमा हुन्छ ।
यस्ता गलत पक्षहरूलाई सुधार्नका लागि अब हामीले कसैको करकाप र भुलभुलैयामा नपरी-नलागी आफ्नै संस्कार-संस्कृति र चाडपर्वहरूलाई पनि एकपटक गहिरो गरी हेरेर वा बुझेर यसको मुन्धुम् वा मर्मविपरीत विकसित गरिएको वा अर्काको संस्कृतिबाट भित्र्याइएका गलत प्रवृत्तिहरूलाई सच्याएर साँच्चिकै गौरव गर्न लायकको संस्कार-संस्कृतिहरूको अवलम्बन र विकास गर्दै लैजानु पर्दछ ।
तिहार र देउसीको सवालममा पहिले सञ्चारको साधन थिएन र कुनै समाचार पुर्याउन घरघर नै चहार्नुपर्दथ्यो । आज संसार सञ्चारको कारणले सानो गाउँझै साँघुरिएको जमानामा त्यहीअनुसार कतिपय परम्परागत संस्कारहरूलाई सच्याउँदै लानु अपरिहार्य भएको छ । यदि यसो गर्न सकिएन भने त्यो चाडले सामाजिक र सांस्कृतिक रुपमा कुनै खास अर्थ बोकेर समाजलाई सही दिशाबोध गर्न सक्दैन ।
तिहारमा गरिने पूजा, भाइटिका र देउसीको प्रसङ्ग
मानव समाज र सभ्यताको विकासक्रममा आइपरेका कयौं समस्याहरूको सामना गर्दै आउँदा जानी नजानी विभिन्न मूल्य-मान्यता र संस्कार-संस्कृतिहरूको सिर्जना र विकास हुँदै आएको हो । यी सही कुराहरूले मानव समाजलाई सदैव सजग र सचेत गराइरहन्छ । यदि त्यो गलत छ भने पछिको त के वर्तमानमै पनि त्यो संस्कारसँगै बाँच्न र अस्तित्व कायम गर्न गाह्रो भइदिन्छ । झण्डै यो तिहार पनि त्यस्तै हुन लाग्दैछ- हाम्रो कमजोरी र गलत प्रवृत्तिको राज्यसत्ताको एकात्मक नीतिले गर्दा ।
यहाँ फेरि, यो तिहारमा गरिने पूजाआजा र मानिने पुजिने वस्तुहरूको बारेमा एउटा दृष्टिकोणबाट विश्लेषण गर्ने कोसिस गरौं । यसरी हेर्दा यो तिहार चाडमा केही सही कुरासँगै अनगिन्ती गलत कुराहरू पनि हाबी हुँदै आएका छन् । यसमा गहिरिएर आफ्नै संस्कार-संस्कृतिको कोणबाट हेर्ने हो भने थुप्रै बेमेल र असमान संस्कारहरू विकसित भएको पाइन्छ ।
वलिहाङको मुन्धुम्अनुसार तिहारमा काग, कुकुर, गाई, गोरु र भाइलाई देवता मानेर पूजा गर्ने प्रसङ्ग कतै पाइँदैन । यो तिहारमा आजसम्म विद्यमान काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र केवल चेलीले मात्रै भाइ-दाइको पूजा गर्नुपर्ने एकपक्षीय पक्षपाती चलन किरात (याक्थुङ्) मुन्धुमको मर्म, दर्शन र संस्कार संस्कृतिभित्र पर्दैन । यो पछि हिन्दू संस्कारबाट भित्र्याई कोचिएका वा जोडिएका कुराहरू हुन् ।
तिहारको प्रमुख तथ्य मुन्धुम् राजनेता वलिहाङको प्रसङ्गमा कतै पनि चेलीले माइतिलाई फूलमाला, टीका आदि लगाइदिएर पूजा गरिदिएको प्रसङ्ग छैन । वलिहाङको मुन्धुम्अनुसार घर-आँगन फूलले सजाई उज्यालो वत्ती बालेर तिहारको सुरुदेखि औंशीको रातसम्म पहिलेका ती प्रतापी कुसल राजनेता वलिहाङको सम्झना र अबका राजनेताहरू पनि तिनै वलिहाङजस्तै जनताको लागि मरिमेट्ने असल शासक होऊन्, उनीहरूलाई कुनै विघ्न बाधा-अड्चनहरू आइ नलागोस् र देशमा शान्ति सुव्यवस्था छाइरहोस् भनेर आफ्नो इष्टदेवदेवी (तागेरा निङ्वाभूमाङ् र युमा-थेबा साम्माङ्) सँग कलश राखी उज्यालो दियो बालेर विहान-बेलुकी मुन्धुमवमोजिम सेवाप्रार्थना गर्नु सान्दर्भिक हुन्छ ।
देउसी खेल्दा पनि यही मुन्धुमको आधारमा राजनेता वालिहाङ् सुसमाचार प्रचार गर्नुपर्ने हो । औंशीरातको दोस्रो दिन बिहानबाट देउसी खेल्नुपर्ने हो । किरात लिम्बु समुदायमा राजनेता वालिहाङ् बिहानपाख घाम उदाएको बेलामा समाधीबाट फर्केर सकुसल भएको अवस्थालाई घाम झुल्केको प्रतीकस्वरूप मुन्धुम भट्याइसँगै “नाम्लिङ्से-घे”/लालिङ्से-घे (सुर्योदय भयो/चन्द्रोदय भयो) भन्ने अर्थमा सहयोगीले अन्तरा थप्दै देउसी खेल्ने चलन छ ।
लिम्बुजातिले देउसी खेल्दा महिला-पुरुषको समूह र च्याब्रुङ् बाजा हुनु अनिवार्यजस्तै हुन्छ । च्याब्रुङ् नाच्दै देउसी खेल्ने घर-आँगनमा प्रवेश गरेर वलिहाङको मुन्धुम सुसन्देश भट्याउने गरिन्छ । मुन्धुम भट्याउँदा सृष्टिको मुन्धुमदेखि मानवसमाजको विकास हुँदै वालिहाङ्को कहानी जोडिन्छ । वलिहाङको सन्देशको रुपमा तत्कालिन अवस्थाअनुसार सामाजिक, सांस्कृतिक र राजनीतिक सन्देशहरू पनि दिने गरिन्छ । अन्तमा, मुन्धुमअनुसार नै शुभ-आशिर्वाद दिएर विदा लिइन्छ ।
मुन्धुम्अनुसार प्रकृतिमा पाइने जति पनि फूलहरूको बेग्लै अर्थ, उपादेयता र पहिचान छ । किरात लिम्बु समाजमा आफ्नै चेलीको हातबाट उनिएको फूलमाला माइतिलाई लगाइदिने चलन धार्मिक-सांस्कृतिक रुपमा पाप र अशुभ हुन्छ भन्ने मान्यता र मुन्धुम् छ । अझै पनि किरात लिम्बू समुदायमा चेली-माइतिबीचमा फूलले एकापसमा कुनै हालतमा पनि हानाहान गर्नुहुँदैन भन्ने मान्यता छ र त्यसो गरिँदैन पनि ।
किरात याक्थुङ् संस्कार, संस्कृति र मूल्य-मान्यतानुसार फूलको प्रयोग केवल बिहेमा मात्रै बेहुलीले बेहुलालाई उनिएको फूलको माला गलामा लगाइदिन सक्छ । यस समुदायमा जुनसुकै फूलहरू तरुनी-तन्देरीबीचमा पनि आदान-प्रदान गरिँदैन, गर्नु हुँदैन । विभिन्न किसिमका फूलहरूमध्ये शुभ र मानिस जातिका फूलहरू मात्र आदान-प्रदान गरिन्छ, गर्न मिल्छ । त्यसमा पनि तरुनी-तन्देरीले सुनाखरी फूल (अम्लारी फुङ) माया प्रेमको प्रतीकको रुपमा दिनेलिने गर्दछन् ।
त्यसैगरी, शुभकार्य र अशुभ कार्यमा दिनेलिने र प्रयोग गर्ने फूलहरू बेग्लाबेग्लै हुन्छन् । त्यसमा पनि तिहारमा प्रयोग गर्ने बावरी फूल (अन्दङ्फुङ) त मुन्धुम्अनुसार मान्छेले लगाउन नहुने पशु वा बाघको प्रतीक अशुभ फूल हो । सिल्लरी फूल (सेक्मुरिफुङ्) समग्रमा मानिसको प्रतीक फूल हो । यसैगरी, सयपत्री फूल (थोप्पारा फुङ्) तरुण युवा युवतीको फूल हो ।
यसबारेमा मुन्धुमले भन्छ-
“मिनुआङ् फुङ्बे, सेक्मिुरिफुङ् ग
मेन्छाम्मे फुङ्लो, नाम्याप्मि फुङ्लो
मिनुआङ् फुङ्बे अन्दङ्ले फुङ् ग
थक्सारे फुङ्लो, केसामी फुङ्लो
मिनुआङ् फुङ्बे थोप्पारा फुङ् ग
नालिए फुङ्लो, मेन्छिन्ले फुङ्लो
मिनुआङ् फुङ्बे, मिक्चिरि फुङ् ग
खेमा ए फुङ्लो, यङ्सङ् ए फुङ्लो
ए मिक्कि ए सेगुम्लो, कुभुङ् ए सेगुम्लो…..।”
(त्यो सेताम्मै फुल्ने सेक्मुरि (सिलरी ?) फूल त,
मानवको फूल हो, मानिसको फूल हो
त्यो कलेजी रङको बाबरी फूल त
पशुको फूल हो, बाघको फूल हो
त्यो सुनौलो फुल्ने, सयपत्री फूल त
युवा तरुणको फूल हो, तरुणीको फूल हो
त्यो लासमा चढाउने जंगली फूल त
मृत्युको फूल हो, मृतकको फूल हो
ए यी फूलहरू केलौऊँ है, जीवनको फूल जगाऊँ है ।)
यसरी प्रकृतिमा पाइने प्रायः सबै फूलहरूको आफ्नै महत्व, पहिचान र उपादेयता मुन्धुममा वर्णन भएको पाइन्छ । अहिन्दू आदिवासी किरातहरूले तिहारमा ओखर-पाङ्ग्रा फुटाएर, तेलको घेरो लगाउँदै दाइभाइको वरिपरि घुम्दै फन्को मारेर विभिन्न रङ्गहरूको टीका र आफ्नो संस्कारसँग मेल नखाने फूलको माला लगाइदिनुभन्दा अन्य विकल्पबारे सोच्नु आवश्यक छ ।
तिहारमा चेली-माइतिको बीचमा केही अनुष्ठानहरू नगरी नसकिने वा नहुने अवस्था भएमा सोही दिन पारेर किरात लिम्बूहरूको हकमा प्रत्येक छ-छ महिनामा चेली-माइति दुबै पक्षले गरिने शीर उठाउनी (माङ्गेन्ना) अनुष्ठान कार्य गर्न सकिन्छ । यो माङ्गेन्ना गर्ने आफ्नै शैली र मुन्धुम् हुन्छ । यसमा चेलीको माङ्गेन्ना गर्दा माइति र माइतिको माङ्गेन्ना गर्दा चेलीको उपस्थिति अनिवार्य मानिन्छ । यसमा एकअर्काको पूजाभन्दा पनि मुन्धुम्अनुसार उज्यालो-चोखो दियो-कलश र मुन्धुम् विधिले एकअर्काको शीर उठाइदिने कार्य गरिन्छ ।
जीवनयात्रा र सङ्घर्षका मोडहरूमा रहँदा कहींकतै शीर ढल्छ, ढल्नसक्छ । शीर ढलेको मान्छेले कुनै प्रगति गर्न सक्दैन । यसको लागि त्यो ढलेको शीर वा त्यतिकै पनि मेरो चेली वा माइतिको शीर नढलोस् भनेर गरिने अनुष्ठान शीर उठाउनी (माङ्गेन्ना) अनुष्ठान के भाइटीकाभन्दा कम महत्वको विषय हो र ?
महागुरु फाल्गुनन्दको जीवन दर्शन
महागुरु फाल्गुनन्द
किरात/याक्थुङहरूले अवलम्बन गर्दैआएको धर्ममा एउटा संस्कार छ । त्यो संस्कारअनुसार किरात धर्म–दर्शनलाई निरन्तरता दिनका लागि बेला–बेलामा मुहिगुम् अङ्सी (महागुरु)हरूको अवतरण हुन्छ । ती महागुरुले सङ्कटमा पर्दै गएको किरात धर्म–दर्शनलाई जीवन्तता दिँदै जान्छन् ।
किरात धर्म दर्शनलाई जीवन्तता दिन यसका विभिन्न पक्षलाई समेट्नेगरी जम्मा आठ भागमा विभाजन गरिएको छ । यसको सो विभाजन महात्मा येहाङ (येत्हाङ्हरू ?) ले गरेका थिए । येहाङ मानव जगतकै प्रथम गुरुका रुपमा मानिन्छन् । मानव जीवनलाई प्रकृतिसँग साक्षात्कार गरेर सुव्यवस्थित तवरले सञ्चालन गर्न विविध आठ विधामा किरात/याक्थुङ मुन्धुमलाई विभाजन गरी त्यसका सञ्चालकसमेतको स्पष्ट जिम्मेवारी बाँडफाँड गरिएको छ । यसलाई येहाङका आठ विधा पनि भनिन्छ जुन येहाङ मुन्धुममा उल्लेखित छ । जसलाई ‘‘ए मुन्धुम पाःत्चारो, येहाङ् पाःत्चारो’’ भनेर भनिन्छ, जुन यस प्रकार छ
किरात धर्म–दर्शन (संस्कार)मा मुहिगुम् अङ्सीको मार्ग निरन्तर चलिरहेछ । तर, बाँकी सात मुन्धुम मार्ग र कर्मविदहरू आज खोइ, कस्तो अवस्थामा रहेका छन् ?
‘‘(क) मुहिगुम् अङ्सी मुन्धुम र मुहिगुम अङ्सी
मुहिगुम अङ्सी महन्त हुन् । उनी चोखोनितो बस्छन् । पुस्तक (शास्त्र) पाठ गरेर परमात्मा (ज्ञानको खानी)को सेवा भक्ति गर्छन् । दुष्ट संगत गर्दैनन् र अशुद्ध ठाउँमा बस्दैनन् । शान्त, सुनसान ठाउँमा बसी आत्मज्ञानको शास्त्र सम्झिन्छन् तथा ध्यान गर्छन् । ज्ञानको खानीको भक्ति गरी बस्छन् ।
(ख) फेजिकुम फेदाङ्मा मुन्धुम र फेदाङ्मा
फेजिकुम् फेदाङ्माले जन्मदा, मर्दा विवाह गर्दा कर्मकाण्डको ग्रन्थ पढी शुद्ध गर्छन् । धुप जलाई फलफूल चढाई शुद्ध गर्छन् । केही बलि गर्दैनन् । चुङ्नावा पवित्र पानी छर्केर शुद्ध गर्ने काम गर्छन् ।
(ग) सावाली साम्बा मुन्धुम र साम्बा
सावाली साम्बाले अग्लो बाँस गाढी लोहोटामा फुलेको फूलहरू राखी थान बनाई चोखोनितो भई शीरमा प्वाँखको मुकुट लगाई फलाक्छन् अनि जोखाना हेर्छन् । बिरामी रोगी मानिस सञ्चो हुने–नहुने पत्ता लगाउन जोखना हेर्छन् । तागेरा निङ्वाभूमाङ (ईश्वर)सँग रोगदेखि मुक्त हुने आशीर्वाद माग्छन् ।
(घ) येभूङ् येवा मुन्धुम र येबा
येभुङ् येबाले मरेका सेहेँ भूतप्रेतहरूसित मद्दत माग्छन् । पशुपंक्षीहरू मार्छन् । मद मांस र खुन चढाई–छर्की फलाक्छन् । थाल बजाउँदै नाच्छन् । रगतमा जोखाना हेर्छन् । ग्रह खड्को काट्छन् ।
(ङ) येभूङ येमा मुन्धुम र येमा
येभुङ येमा स्त्री हुन्छिन् । उसले मुन्धुम गाना गाएर अचम्मको काम गर्छन् । फूल ओइलाउँछन् फेरि जगाउँछन् । मेघबाट बज्र झार्छन् । देववाणी बोल्छन् । गाना गाउँदा भगवानसित मद्दत माग्छन्’’ (चेम्जोङः सन् १९६१) ।
‘‘(च) साम्मुन्धुम येप्मुन्धुम फाङ्जिकेनसाम् र साम्मुन्धुम येप्मुन्धुमसाबा
यसमा राम्रो ज्ञानद्वारा शरीर आत्माको रक्षा गर्नु, ब्रह्माण्ड पृथ्वी सबै प्राणी सृष्टि भएको सृष्टि इतिहासहरू कसरी भएर आयो ? यी कुरा गीतद्वारा गाएर ल्याएको हुन्छ । फाङ्जिकेनसाम्को शाब्दिक अर्थ ज्ञानद्वारा आत्माको रक्षा गर्नु, संगीतमय गीत गाएर सांसारिक कथा–व्यथा पोख्दै गीतिदर्शनबाट मानवीय जीवनशैली प्रस्ट पार्नु हो ।
(छ) चुम्फोगेन् चोक्येम् मुन्धुम/तुम्म्याङ मुन्धुम र तुत्तु तुम्म्याङ्हाङ
यस मुन्धुमबाट ज्ञान आर्जन गरेर कर्म–कर्तव्य पालना गर्ने मानिसहरूलाई तुम्याहाङ् भन्दछन् । चुम्फोगेन् चोक्येम्को अर्थ मानव जातिले सृष्टि विकासको अन्तरालमा जब मानिसहरूको समूहले समाजको स्वरुप लियो त्यसपछि निरन्तररुपले समाजको विकास हुँदै आएपछि समय सुहाउँदो समाजलाई अनुबन्ध गराउने प्रणाली हुन् भन्ने बुझाउँछ ।
(ज) सावान्दिङ सिदा? मुन्धुम र सिदा?साबा
सिदोवा (वैद्य–वैदाङ)ले भूमि वा जंगली जडीबुटी खोजेर औषधि बनाउने काम गर्छन् । मानिसलगायत पशुपंक्षी सबैमा रोग लाग्यो भने औषधि उपचार गर्दछन् । विषालु जीवजन्तु कीराहरूले चिले, टोके भने औषधि उपचार गरेर निको पर्छन्’’ (चोङ्बाङः २०५२, १४१–१४२) ।
महात्मा येहाङ (येत्हाङहरू ?)को उपरोक्त आठ मुन्धुम र त्यसका सञ्चालकहरूको कर्महरूलाई बुझ्दा किरात/याक्थुङ मुन्धुमको मूल सारलाई बझ्न सहयोग मिल्छ । यो मुन्धुमअनुसार मुहिगुम अङ्सी, फेजिकुम् फेदाङ्मा र तुम्म्याङ्हाङ्देखि सिदा? साबा(औषधोपचारकर्ता) सम्मको आ–आफ्नै कर्तव्य स्पष्ट रुपले विभाजन गरिएको छ । खासमा यही कर्तव्यअनुसार नै किरात/याक्थुङ समाज चल्दै आएको पनि हो । तर, कालान्तरमा आएर यी मुन्धुमका सञ्चालक मुन्धुमविद् र तिनीहरूका सञ्चालकहरूले आफूलाई समय र परिस्थितिअनुसार बदलेर ल्याउन नसक्दा विभिन्न विकृतिको प्रवेश पायो । अनि भनिन्छ, ती मुन्धुमका सञ्चालकमा हुनुपर्ने शक्ति र ज्ञान ह्रास हुँदै आएर किरात/याक्थुङ समाज विकृतिले छायो । यही बेला महागुरु फाल्गुनन्द जन्म भई सो विकृत किरात समाजलाई सुमार्गमा ल्याउने प्रयास गर्नुभयो ।
कठोर निरङ्कुश शासन व्यवस्थाको बाबजुद पनि साधुसन्तको रुपधारण गरेर जेलनेलसमेत सहँदै आफ्नो लक्ष्यमार्गमा लागिरहनु उनको सफलताको कसी थियो ।
महागुरु फाल्गुनन्दको प्रवेशमार्ग माथिका आठ विधामध्ये मुहिगुम् अङ्सी मार्ग हो । मुहिगुम् अङ्सी ती सबै सात कर्मविदको पनि गुरु हुन् । मुहिगुम अङ्सीको कर्म दर्शन, धर्म र संस्कारको व्याख्या विश्लेषण गर्नु हो । दर्शनलाई मुन्धुमको मर्म र समय परिस्थितिअनुसार नव रुप दिनु हो । यही कर्मलाई पूरा गर्ने क्रममा महागुरु फाल्गुनन्दले कैयौं दुःख कष्ट र आपद–विपदको बाबजुद पनि हराइरहेका मुन्धुम र कर्म–काण्डलाई खोजतलास र ध्यान–तपस्या गरेर प्राप्त गरी किरात समाजसामु छोड्नुभयो । मुन्धुमका कर्मविदहरूको बिर्संदै गएको र भएका लिखित मुन्धुम जलाएर नष्ट गरिदिएको अवस्थामा महागुरु फाल्गुनन्दले दिनुभएको योगदान अतुलनीय छ ।
महात्मा येहाङपछि सोधुङ्गेन् लेप्मुहाङ, कान्देन्हाङ, माबोहाङ, साम्बङ्हाङ् येत्इङहाङ्, सिरिजङ्गाहाङ् र महागुरु फाल्गुनन्द किरात समुदायमा अवतरित मुहिगुम अङ्सीहरू हुन् । यिनै अङ्सीहरूको योगदानले हालसम्म पनि किरात तथा युक्थुङ्बाहरूको धर्म–दर्शन जीवन्त छ ।
महागुरु फाल्गुनन्दका अपूरा कर्म पूरा गर्न किरात समुदायमै जन्मिएर वर्तमान धर्मगुरु अङ्सी आत्मानन्द सेइङज्युले पनि मुहिगुम अङ्सीको मार्गदर्शनमा रहेर किरात समाजलाई सुमार्गमा डोर्याउन प्रयत्न गरिरहेका छन् । यस्तै, अरु गुरुहरूले प्रयास गरिरहेका छन् ।
महागुरु फाल्गुनन्दको जीवन दर्शन
महागुरु फाल्गुनन्दको जीवन दर्शन के हो र कस्तो थियो भन्ने कुरा उनको जीवनकहानी, कार्य र उपदेश आदिको माध्यमबाट थाहा पाउन सकिन्छ । फाल्गुनन्दको जन्म पनि सामान्य दुःखी परिवारमा भएको थियो । महागुरुको जन्म १९४२ कात्तिक २५ गते आइतबार चुक्चिनाम्बा इभाङ् इलाम लिम्बुवानमा बुबा जगनबाज र आमा हंसमतीको कोखबाट भएको थियो । जन्मपश्चात् आमा हंसमतीले यो संसारबाट विदा लिन पुगिन् । उनले आमाको बुबु त के, गाईभैंसीको दूधसम्म पनि खान नपाई बाख्राको दूध पिएर बाँच्नुपर्यो । यसरी बाँचेर पनि मानिसले समाजका लागि धेरै ठूलो योगदान गर्न सक्दो रहेछ भन्ने ज्ञान उनको जीवनबाट थाहा हुन्छ ।
सके अब किरात/याक्थुङ समाजले मुहिगुम अङ्सीझैं अझ सात कर्मविदलाई पनि पुनः जीवन्त रुपमा जगाउन सक्नुपर्दछ । तिनीहरूलाई समयानुसार रुपान्तरण र परिमार्जन गरेरै भए पनि स्थापित गर्नुपर्दछ ।
आफ्नो जन्मस्थान इलाम चुक्चिनाम्बामा परिवार बस्न नसकी मुग्लान जानु परेको पारिवारिक व्यथा कम कष्टप्रद थिएन । यस्तो अवस्थामा पनि नाबालक फाल्गुनन्द (फःलाम्सिङ्)लाई स्वदेश र जन्मभूमिको मायाले उनी बुबासँगै परदेश नगई त्यही लिम्बुवानमै बस्ने साहस गरे । यो प्रत्येक युवाले सिक्नुपर्ने पाठ हो ।
उनकी ममतामयी आमाको मृत्युपश्चात् समाजको करकापमा बुबा जगनबाजले दोस्रो विवाह गर्नुपर्यो । यसपछि फःलाम्सिङ् (फाल्गुनन्द)ले सौतेनी आमाको व्यवहार र ज्ञान पनि थाहा पाए । कान्छी आमासँगै बुबा परदेश जाँदा पनि आफू परदेश नगई उनी काकाकाकीको आश्रयमा बस्न थाले । युवावस्थामा गोठाला रहेका फःलामसिङ्ले कुखुरा र चल्लाको व्यापार पनि गरे । यसबाट जोकोही व्यक्तिले पनि केही न केही इलम वा व्यवसाय गर्नु पर्दोरहेछ भन्ने संकेत पाइन्छ ।
सायद, दुःखी र बेसहाराहरूबाटै ईश्वरले धेरै कुराको आस गरेको हुन्छ होला । यस्तै दुःखी दरिद्रमा धेरै सम्भावनाको खानी हुन्छ होला, उनको आत्मामा ईश्वरको बास भयो । उनी अब त्यसरी सोच्न थाले, समाज र जीवनप्रति संवेदनशील एवं चिन्तित हुनथाले ।
दुःखले तिव्बतसम्म कुल्ली काम गर्न पुगेका फाल्गुनन्दले परेड खेले, मान्छे मार्न सिके । तर उनले मान्छे मारेनन् र आफू पनि बचे । स्वदेश तथा विदेशमा काम गर्ने कुल्ली मजदुरदेखि विदेशमा बन्दुक बोक्ने सिपाही नेपाली दाजुभाइले फाल्गुनन्दबाट पाठ सिक्नसक्दा जीवनमा थप सफलता मिल्न सक्छ होला । धन–सम्पत्ति र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठेर, मोजमस्तीलाई तिलाञ्जली दिई एक्लै भए पनि समाजका लागि समर्पित हुनसक्नु उनको महानता हो । त्यसैले, नै उनी महागुरु भए ।
तत्कालीन कठोर निरङ्कुश शासन व्यवस्थाको बाबजुद पनि साधुसन्तको रुपधारण गरेर जेलनेलसमेत सहँदै आफ्नो लक्ष्यमार्गमा लागिरहनु उनको सफलताको कसी थियो । अनेकौं लोभलालचमा नपरी लिम्बुवानभूमि र समाजको माया गर्नु उनको आदर्श थियो । त्यही आदर्शले उनी धेरै मानिसका लागि महागुरुमात्र होइनन् भगवानै सावित भए । तर, उनले कहिल्यै पनि आफू महान र भगवान बन्ने सपना देखेनन् । उनले आफ्नो अन्तरात्माको आज्ञा पालना गरिरहे जुन ईश्वराज्ञा थियो भनिन्छ ।
महागुरुको यात्रा र भ्रमणबाट उनले किरात/याक्थुङ समाजको यथार्थलाई बुझे र त्यहीअनुरुप समाजमा परिवर्तन ल्याउने संकल्प गरे । उनले १९८८ सालमा लिम्बुवान पान्थरको सिलौटीमा बृहत् चुम्लुङ गरी सत्य धर्म मुचुल्का खडा गरे । यसबाट हामीलाई समाजबारे खोज र अध्ययन गरी सभा सम्मेलन गर्ने, बहस र छलफल गर्ने प्रेरणा मिल्दछ ।
उनी पनि एक प्राकृतिक जीव भएको हिसाबले आफूमा कति व्यक्तिगत चाहना, शारीरिक आवश्यकताका कुरा र मानसिक सान्त्वनाका अभाव खड्किए होलान् । तैपनि आफू जीवनभर अविवाहित रही योगदान गर्नु उनको ठूलो त्याग हो । यो कर्म कमै मानिसले मात्र गर्न सक्छन् ।
आफ्नो जीवनकालको अन्तिम अवस्थामा पनि नथाकीकन किरात धर्म संस्कार र समाजको हितमा समर्पित हुनु उनको महानता हो । ‘‘तत्कालीन परिवेशमा विकट परिस्थितिसँग जुध्दै धर्म–संस्कारको बीजारोपण गर्नुपर्दा कति बेमेल भए होलान्, यसलाई बुझेर सुधार गर्नु तिमीहरूको जिम्मामा छ है’’ भनेर उपदेश छोड्नु उनको निस्वार्थपन र दूरदर्शिता पनि हो । अब यसलाई सही तवरले बुझेर अवलम्बन गर्ने जिम्मा किरात/याक्थुङ समुदायको हो । महागुरु फाल्गुनको देहावसान २००५ चैत २२ गते सोमबारका दिन हाङ्यक् इम्बुङ पान्थर लिम्बुवानमा भयो ।
निष्कर्ष
यस लेखमा किरात/याक्थुङ समुदाय, किरात धर्म–दर्शन र सम्बद्ध संस्कार संस्कृतिसँग महागुरु फाल्गुनन्दलाई संयोजन गरेर अध्ययन गर्न खोजिएको हो । आज किरात/याक्थुङ समाजमा महागुरु फाल्गुनन्द भनेपछि श्रद्धाले झुक्ने र कोहीचाहिँ वास्तै नगर्ने बरु गिल्ला वा घृणा गर्नेहरू पनि छन् ।
यहाँ महागुरु फाल्गुनन्दलाई मध्यमार्गमा स्थापना गर्न खोजिएको हो । हुनसक्छ, फाल्गुनन्द माङ् नै होइनन् तर महान व्यक्तित्व हुन्, दार्शनिक हुन् । किनकि, दार्शनिकहरू देवता नहुनु पनि राम्रो हो । यो आफ्नो बुझाइमा भर पर्ने कुरा हो । तर, उनी घृणा र अवहेलनाका पात्र पनि अवश्य होइनन् । यो बुझाइको कमजोरी हो । त्यो किरात धर्म–दर्शनलाई बुझ्न नसक्नुको परिणाम हो । किनकि, किरात धर्म–दर्शनमा मुहिगुम् अङ्सीको मार्गदर्शन जहिल्यै पनि आवश्यक हुन्छ ।
बरु, यसो भन्न सकिन्छ, किरात धर्म–दर्शन (संस्कार)मा मुहिगुम् अङ्सीको मार्ग निरन्तर चलिरहेछ । तर, बाँकी सात मुन्धुम मार्ग र कर्मविदहरू आज खोइ, कस्तो अवस्थामा रहेका छन् ? ती किन दिनप्रतिदिन हराउँदै बिलाउँदै छन् ? किन कमजोर हुँदै जाँदै छन् ? यसबारे किरात (लिम्बु, राई, याक्खा, सुनुवार) समुदाय चिन्तित हुने कि नहुने ? समयको अन्तरालमा जे गुम्यो सकियो, बाँकी बचेकालाई बचाउन कोसिस गर्ने कि नगर्ने ? यो चुनौतीको विषय हो । हामीले आफ्ना बुझाइमा मात्र एकोहोरो दाबी गरिरहनुभन्दा मध्यमार्गीय धारमा रहेर गुमेको कुराको खोजी तथा भएको कुराको जगेर्ना र विकास गर्न सबैका लागि हितकर हुनेछ । सके अब किरात/याक्थुङ समाजले मुहिगुम अङ्सीझैं अझ सात कर्मविदलाई पनि पुनः जीवन्त रुपमा जगाउन सक्नुपर्दछ । तिनीहरूलाई समयानुसार रुपान्तरण र परिमार्जन गरेरै भए पनि स्थापित गर्नुपर्दछ ।
साथै, मुहिगुम् अङ्सीका प्रतिनिधिमूलक संस्था, गुरु तथा सेवासाबाहरूले परिस्थितिअनुसार विवेकशील भई चल्नु र चलाउनु सक्नु राम्रो हुनेछ । यसरी, किरात/याक्थुङ मुन्धुम र दर्शनको मूल मर्मलाई बुझेर कर्म गर्ने कर्मशील व्यक्तित्वहरू नै महागुरु फाल्गुनन्दका जीवन्त सपना हुन् । ती व्यक्तित्वहरूको सफलतासँगै महागुरु फाल्गुनन्दका सपना पनि साकार हुनेछन् ।
सन्दर्भग्रन्थ
कि. ध. तथा सा. उ. संघ, काठमाडौं । २०४८ । नेपालका जनजातिको धर्म संस्कार । पृ. ख ।
गुरुङ, हर्क आदि । सन् २००० । जनजाति विकासको जुक्ति (कार्यपत्र), जनजाति विकास समन्वय केन्द्र ।
चेम्जोङ, इमानसिङ् । सन् १९६१ । किरात मुन्धुम । चम्पारण, विहार, भारत ।
चोङ्बाङ्, हरि । २०५२ । किरात ऐतिहासिक दर्पण –१ ।
भण्डारी, ढुण्डीराज । सन् १९५८ । नेपालको विश्लेषणात्मक इतिहासः पृ. २१ ।
हिजोको बाँकी अंश
महागुरु फाल्गुनन्दको स्मृति दिवसको अवसरमा २०६४ कात्र्तिक २५ गते किरात याक्थुङ् चुम्लुङ् केन्द्रद्वारा आयोजित कार्यक्रममा प्रस्तुत अवधारणा–पत्र ।
किरात धर्म-दर्शनका महागुरु फाल्गुनन्दको सपना
सन्दर्भः कात्तिक २५ महागुरु फाल्गुनन्दको स्मृति दिवस
सम्पूर्ण मानव बुझाइ व्याख्यामात्र हुन् । आखिरीमा, कुनै व्याख्या पनि अन्तिम सत्यचाहिँ होइन । यो उत्तरआधुनिक सोच हो । संसार यो सोचाइअनुसार पनि चल्न थालेको छ । मतलब, म नै सर्वेसर्वा र मेरै सोचमात्र ठीक र बा“की सब गलत हुन् भन्ने विचारले अब स्थान पाउन सक्दैन । आफूसँग सही सोच र सान्दर्भिक विचार नै भए पनि त्यसलाई उचित तवरले प्रस्तुत गर्न र बुझाउन सकिएन भने त्यसको सही अर्थ हुँदैन । फेरि, आफ्ना विचार अरुले एकदमै फरक ढङ्गले बुझिदिन पनि सक्छन् । यसलाई रोकेर छेक्न सकिन्न । यसर्थ, विचारक वा लेखक एक अर्थमा मृतक हुन् पनि भनिन्छ ।
अर्को अति गजबको, तर अलिक सोचनीय कुरा के छ भने कुनै एक व्यक्ति कसैका लागि भगवान हुन्छ त कसैका लागि केही पनि हुँदैन । गुलावमा कोही फूलैफूल देख्छन् त कोही काँडैकाँडामात्र । वास्तवमा फूल र काँडा दुवै भएर मात्र गुलाव भएको कुरा धेरैले बिर्सिदिन्छन् । फूलको बखान गर्नेले फूलैफूलको प्रशंसामात्र गरेको पाइन्छ भने काँडाको आलोचना गर्नेले त्यसको अवहेलनामात्र । तर, फूल र काँडाबीचको अगाध अन्तरसम्बन्धलाई बुझेर गुलावको व्याख्या कमैमात्र गरिन्छ । भन्न खोजिएको कुरा के हो भने कुनै महान व्यक्तिप्रतिको हेराइमा पनि त्यही ब्यहोरा लागू भएको हुन्छ । अहिले यहाँ त्यही कठघरामा किरात धर्म–दर्शनका महागुरु फाल्गुनन्दलाई उभ्याउन खोजिएको छ । किनभने, मान्छे महान आफै भए पनि भगवान अरुले बनाउँछन् । त्यो भगवान कस्तो हुने हो भन्ने कुरा पनि फेरि त्यही मान्छेहरूकै बुझाइ र व्याख्या गराइमा भर पर्दछ, जुन कहिल्यै पनि अन्तिम सत्य हुँदैन ।
फाल्गुनन्दजस्ता एक साधारण कुलमा जन्मिएका व्यक्तिलाई महान व्यक्तित्वको रुपमा स्थापित गराइदिने कस्तो खालको दर्शन, धर्म र संस्कृति किरात लिम्बु समुदायमा थियो ? यो सम्भावना अझै छ कि छैन ?
किरात परिचय
किरात धर्म–दर्शनका व्याख्याता र महागुरु फाल्गुनन्द किरात समुदायमा जन्मिएर सोही समुदायमा समर्पित भई योगदान गरेका व्यक्ति हुनाले यहाँ किरात धर्म र समुदायबारे केही सोच अघिसार्नु सान्दर्भिक होला । किनकि, फाल्गुनन्दजस्ता एक साधारण कुलमा जन्मिएका व्यक्तिलाई महान व्यक्तित्वको रुपमा स्थापित गराइदिने कस्तो खालको दर्शन, धर्म र संस्कृति किरात लिम्बु समुदायमा थियो ? यो सम्भावना अझै छ कि छैन ? यी सब खोजका विषय हुन् ।
“नेपालमा बसोबास गर्ने आर्य–हिन्दु मूलका बाहेक सम्पूर्ण जाति जनजातिहरू किरात हुन् भन्ने कुरा विशिष्ट विद्वानहरूले बारम्बार औंल्याइरहेका छन्’’ (कि.ध. तथा सा.उ. संघ, काठमाडौः २०४८) । तर, भौगोलिक रुपले नेपालमा बसोबास गर्ने मात्र नभएर अन्य भूभागमा बसी आफूलाई मङ्गोल समुदायको रुपमा स्वीकार गर्ने सम्पूर्ण जनजाति वास्तवमा किरात हुन् । यद्यपि, अहिलेसम्ममा विशेष गरी नेपाल, भारतमा बसोबास गर्ने लिम्बु, राई, याक्खा र सुनुवार सम्प्रदायले मात्र आफूलाई किरात समुदायको रुपमा स्वीकारेका छन् । यसका साथै, तराईका धिमाल समुदायले आफूलाई किरात समुदायको रुपमा स्थापित गर्न खोजिरहेको छ ।
‘किरात’ समुदायको सन्दर्भमा कुरा गर्दा ‘आदिवासी जनजाति’ शब्दसँग पनि परिचित हुनुपर्दछ । “जनजाति र आदिवासी शब्दलाई सामान्यतः एउटै अर्थ भएको रुपमा लिएको पाइन्छ । वास्तवमा, ‘जनजाति’ सामाजिक बनोट र ‘आदिवासी’ काल वा समयसित सम्बन्धित विषय हुन् । ‘जनजाति’ वा ‘जाति’ भन्नाले जाति विभाजन नभएका जमातलाई जनाउँछ भने ‘आदिवासी’ वा ‘रैथाने’ भन्नाले पुराना बासिन्दा जनाउँछ । नेपालको सन्दर्भमा ‘जनजाति’ भनेको आफ्नै विशेष थलो, भाषा, धार्मिक संस्कार तथा संस्कृति भएका समूहहरू र ‘जात’ भनेको ठूलो सानो वर्णाश्रममा विभाजित, भारोपेली भाषा, हिन्दु धर्म तथा संस्कृति भएका समूह हुन्’ (गुरुङ, सन् २०००) ।
किरात दर्शन मध्यममार्गी एवं सहअस्तित्ववादी दर्शन हो । यसले भौतिक पदार्थ र जगतमात्रै सबथोक भनेर मान्दैन । ईश्वर नै सबथोक हो भनेर सारा जीवन र जगतलाई भगवानकै पाउमा मात्रै पनि सुम्पदैन ।
त्यस्तै, “पृथ्वीनारायण शाहको दिव्यउपदेश भनी बहुप्रचारित ‘चार जात छत्तीस वर्ण’ले वास्तवमा यहाँका जनजातिलाई समेट्दैन । चार जात भनेको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुन् । छत्तीस वर्ण भनेको चार विद्वान ब्राम्हण, आठ बलवान क्षेत्री, एक्काइस धनी वैश्य र तीन नम्र शुद्रले बनेको तत्कालीन राजसभालाई जनाउँछ’’ (भण्डारी, सन् १९५८) ।
यो किरात शब्द र समुदाय केवल एक जाति वा समुदाय विशेषको नाममात्र नभएर एउटा मानव सभ्यताको इतिहास पनि हो । यो एक जीवन्त जीवन दर्शनको नाम हो । आज किरातहरूलाई प्रकृतिप्रेमी, जीवनवादी, रमाइलो स्वभावको इमान्दार र बहादुर भनेर विश्वले चिन्दछ । किरातहरू इमान्दार र बहादुर हुनुको कारण रगत र अनुहारले मात्र होइन, बरु उनीहरूको किरात जीवन दर्शनले हो ।
किरात दर्शन र त्यसको उठान
‘किरात दर्शन’ भन्नाले जीवन र जगतप्रति किरातहरूको आफ्नैै किसिमको हेराइ वा बुझाइलाई बुझ्नुपर्दछ । किरातहरूको धर्मग्रन्थ ‘मुन्धुम’ हिन्दुहरूको वेद, बौद्धहरूको ‘धम्मपद वा त्रिपिटक’, इस्लामहरूको ‘कुरान पाक’ र इसाईहरूको ‘बाइबल’भन्दा पृथक किसिमको छ ।
किरातहरूको धर्मग्रन्थ मुन्धुममा अन्य धर्मग्रन्थमा भन्दा भिन्न अस्तित्व जे छ, त्यही नै किरात दर्शनको उठानविन्दु हो । किरात मुन्धुमको उठान शून्यताबाट भएको आभास हुन्छ । ‘‘ए …उहिले ….धेरै पहिले त यो जगतमा केही पनि थिएन । केही थियो त केवल चारैतिर शून्यतामात्र थियो । कालान्तरमा त्यही शून्यताबाट सम्पूर्ण जगतको सृष्टि भयो’’ भनेर मुन्धुमले व्याख्या गर्दछ ।
किरात दर्शन मध्यममार्गी एवं सहअस्तित्ववादी दर्शन हो । यसले भौतिक पदार्थ र जगतमात्रै सबथोक भनेर मान्दैन । यसका साथै, ईश्वर नै सबथोक हो भनेर सारा जीवन र जगतलाई भगवानकै पाउमा मात्रै पनि सुम्पदैन । किरात दर्शनले जीवनलाई हाड र मासुको मूर्तिको रुपमा मात्र हेर्दैन र यसलाई सञ्चालन गर्ने कुनै अदृष्य शक्ति छ भनेर पनि विश्वास गर्दैन । जीवन र जगतलाई सञ्चालन गर्ने नियमको नाम किरात दर्शन हो जसको मूल स्रोत किरातहरूको मुन्धुम हो । ती दर्शन धर्म, संस्कार, साहित्य र कला भएर जीवनमा लागू भइरहेका हुन्छन् ।
किरात दर्शनले सर्वप्रथमतः एक व्यक्तिलाई महत्वपूर्ण ठान्दछ । त्यसैले नै किरात संस्कारमा मानिस जन्मनुभन्दा पहिल्यै उपकार गरिन्छ, जन्मिएपछि यो विश्व–ब्रम्हाण्डलाई चिनाइन्छ । प्रकृतिसँग साक्षात्कार गरेर बाँच्न पे्ररित गरिन्छ । उसलाई जहिल्यै पनि उच्च शीर बनाएर जीवनयापन गर्न सिकाइन्छ । एक व्यक्तिको शीर (माङ्गेन्ना) ढल्नु ऊ मरेसरह हुन्छ भनेर माङ्गेन्ना उठाइन्छ । कोही सफलता र प्रगतिमा बाँच्दा पनि अरुको आँखीडाही (नाहेन्) लाग्छ कि भनेर सजग गराइन्छ । किनकि, अरुको आँखीडाही लाग्नु पनि जीवनको अन्त हुनु हो । त्यसैले, किरात दर्शनले एउटा मान्छेको व्यक्तिगत जीवनलाई पनि महत्व दिएको हुन्छ ।
किरात लिम्बु भाषामा ‘मुन्’ र ‘थुम्’को संयोजनबाट बनेको मुन्धुमको शाब्दिक अर्थ गतिशील (Dynamic) हुनु भन्ने हुन्छ । यसर्थमा मुन्धुम कुनै ऐतिहासिक कहानीमात्र नभएर जीवन्त दर्शन हो ।
किरात दर्शनले जीवनमा मात्र जीवनको अस्तित्व नखोजेर मृत्युमा पनि जीवनको अस्तित्व खोज्दछ । यसको अर्थ मानिसको मृत्युलाई पनि एकदमै संवेदनशील तवरले आत्मसात गर्दछ । ऊ मर्यो र अब अर्को जुनीमा सर्यो भनेर मात्र विश्वस्त होइँदैन । यसको ज्वलन्त उदाहरणको खोजीमा लिम्बु जातिको मृत्युसंस्कार (खाउमा मुन्धुम)लाई राम्ररी व्याख्या–विश्लेषण गरेर हेर्दा स्पष्ट हुन्छ । खाउमा मुन्धुममा मृतकको मृत्युको कारणको स्पष्टीकरण मागिन्छ । त्यसबारे समाजसँग सोधखोज गरिन्छ । मानव भएर बाँच्ने अधिकार पायो कि पाएन ? उसलाई बचाउन कोसिस गरियो कि गरिएन भनेर उसको मानव अधिकारको खोजी पनि गरिन्छ । त्यसैले, किरात दर्शन मानवतावादी, जीवनवादी, समानतावादी एवं सह–अस्तित्ववादी दर्शन हो भनेर भन्न सकिन्छ ।
मुन्धुम
किरात लिम्बु भाषामा ‘मुन्’ र ‘थुम्’को संयोजनबाट बनेको मुन्धुमको शाब्दिक अर्थ गतिशील (Dynamic) हुनु भन्ने हुन्छ । यसर्थमा मुन्धुम कुनै ऐतिहासिक कहानीमात्र नभएर जीवन्त दर्शन हो । एक गतिशील प्रक्रिया हो । यसले मानिसलाई समय र परिस्थितिअनुसार चल्न प्रेरित गर्दछ ।
“प्राचीन समयदेखि नै किरात समाजमा मुन्धुम दुई विधामा मौलाएर आएको पाइन्छ । चिन्तन मनन् र कुनै पनि कार्यको अनुभवद्वारा प्राप्त गरेको परोपकारी ज्ञानलाई मानव समाजमा मुखाग्र अभिव्यक्त गर्न सिकाउनु बुझाउनुलाई ‘थुङ्साप् मुन्धुम’ भनिन्छ । प्रकृतिको सिर्जनात्मक संसारलाई परोपकार गर्न जिउन, जियाउन मार्गदर्शनले भरिएको लिपिबद्ध ग्रन्थहरूलाई ‘पेसाप् मुन्धुम भनिन्छ”(चोङ्बाङ्, २०५२) ।
मुन्धुम आफैमा एउटा गहन साहित्यकोष पनि हो । यसमा इतिहास, कथा, कहानी, मिथक र विभिन्न जीवनदर्शन संग्रहित छन् । यसमा केवल कुनै काल्पनिक संसार र घटनाको वर्णनमात्र छैन । मुन्धुममा त यही धरतीमाथि रहेका, विशेषतः मुन्धुम मान्ने किरात समुदाय तथा लिम्बु जातिको बसोबास भएको ठाउँ लिम्बुवानबारे व्याख्या छ जहाँ मुन्धुमअनुसार लिम्बु सभ्यताको विकास भएको थियो । त्यही परिवेशको सेरोफेरोमा रहेका डाँडाकाँडा, खोलानाला, पोखरी, पाखा–पखेरा र गुफाहरूको ऐतिहासिक वर्णन छ । पुर्खाहरूका कारुणिक गाथा छन् । जीवनयापन गर्ने तौरतरिका छन् । जीवनलाई सञ्चालन गर्ने विधि–विधान संग्रहित छन् ।
किरात/याक्थुङ मुन्धुम
किरात/याक्थुङ मुन्धुम सिङ्गै किरात/याक्थुङ सभ्यताको इतिहास हो । यसमा किरात/याक्थुङ पुर्खाहरूका जीवन भोगाइका अनुभव र अनुभूति संकलित छन् । किरात/याक्थुङ मुन्धुमको अध्ययन गर्दा किरात पुर्खाले व्यतित गरेको समयको अन्तरालमा कैयौं पटक मानव सभ्यताको शिखरमा पुगेको आभास हुन्छ । यसको प्रमाणको रुपमा मुन्धुममा वर्णित जीवन र जगतको व्याख्या आधुनिक विज्ञानको आविष्कारसँग मेलखाने किसिमको हुनु हो ।
किरात मुन्धुमको सृष्टिवर्णन विज्ञानसम्मत छ । केही शताब्दीअघिमात्र पृथ्वी चेप्टो या गोलो छ ? पृथ्वी कि सूर्य घुम्छ भनेर वैज्ञानिकहरू विवाद गरिरहेका थिए । त्योभन्दा हजारौं वर्ष अगाडिदेखि नै किरात/याक्थुङ पुर्खाहरूले भनिल्याएको मुन्धुममा पृथ्वी गोलो भएको र यसले सूर्यलाई परिक्रमा गर्ने कुरा संकेत गरेका छन् ।
पृथ्वीको सृष्टिपश्चात् वनस्पतिको सृष्टि भएको कहानी मार्मिक छ । पानी नपरेर बीउ नउम्रेको, रुख–पात सुकेको वर्णन कारुणिक छ । पानी पार्न छेलो हान्नु परेका कष्ट आश्चर्यजनक छन् । आखिरीमा, विरुवाहरू उम्रिँदा पनि पहिले त अनुपयोगी, विषालु रुखमात्र उम्रिएको कहानी छन् । कालान्तरमा विभिन्न विरुवा पलाएर हरियाली छायो । त्यसपछिमात्र जीवजन्तु तथा पशुपंक्षीको उत्पत्ति भएको वर्णन छ । अब त्यतिले मात्र धरती–आकाश नसुहाएर आखिरीमा मानवको उत्पत्ति र विकास भएको वर्णन मुन्धुममा पाइन्छ ।
किरात/याक्थुङ पुर्खाले ती जीव–जन्तुसँग कसरी साक्षात्कार गरी जीवनयापन गर्दै आए भन्ने कुरा मुन्धुममा वर्णित कुकुर, बिरालो, बाँदर, बोका, सर्प, चिललगायत विभिन्न पशुपंक्षीको वर्णनबाट थाहा हुन्छ । त्यसैगरी किरात/याक्थुङहरुले नाच्ने ढोल (च्याब्रुङ) नाचमा नक्कल गरिने पशुपंक्षीको नाचले पनि किरात/याक्थुङ र ती पशुपंक्षीबीचको नजिकको सुसम्बन्धलाई इङ्गित गर्दछ । किरात लिम्बुहरूको धाननाच र राईहरूको साकेला सिली नाच आदिको साङ्केतिक वर्णन र गीत–संगीतले उनीहरू कसरी जंगलीयुगबाट कृषियुगमा प्रवेश गरी जीवनयापन गर्न सिके भन्ने कारुणिक कहानी महसुस गर्न सकिन्छ ।
किरात/याक्थुङहरूको धर्म–संस्कार
‘धर्म’ आफ्नो बुझाइबाट धारणा निर्माण गर्ने प्रक्रिया हो । मुन्धुम बुझेपछि आफूमा जुन धारणा निर्माण हुन्छ त्यही धर्म हो । धर्म भनेको स्वभाव पनि हो । कुन मान्छेको स्वभाव कस्तो हुने भन्ने कुरा उसको बुझाइ र उसलाई समायोजित गराइमा भर पर्दछ । आगो तातो हुनु, बल्नु त्यसको स्वभाव हो र त्यही नै आगोको धर्म पनि । त्यस्तै किरात/याक्थुङहरू किरात/याक्थुङजस्तो हुनु, त्यसरी जीवनधारण गर्नु र त्यस्तै स्वभावको हुनु जस्तो मुन्धुमले निर्देशित गरेको छ, त्यही नै किरात/याक्थुङहरूको धर्म हो ।
तर, किरात/याक्थुङ मुन्धुमको अर्थ एकातिर र जीवनधारण अर्कोतिर हुनु किरात/याक्थुङहरूको धर्म होइन । किरात धर्म आफसेआफ आफूमा जागृत हुने धारणा पनि होइन । यसका लागि सर्वप्रथम आफैले आफ्नै बन्द इन्द्रीयहरूलाई खुला गर्न सक्नुपर्दछ । मुठी फुकाउन र हात उठाउन सक्नुपर्दछ । त्यसका लागि कम्तीमा पनि किरात/याक्थुङ मुन्धुमको अध्ययन गर्नु र आफ्नै संस्कारको अवलम्बन गर्नु प्रथम खुड्किला हुनेछ । यदि कसैले आफ्नै जातीय संस्कारलाई अवलम्बन गर्दैन भने उसमा मौलिक धर्मको स्वभाव जागृत नहुनु कुनै अनौठो कुरा होइन । बरु, ऊ र उसको परिवार वा समाज फेद न टुप्पाको अथवा यता न उताको हुन्छ । उसले आफ्नो र पराइ खुट्याउन सक्दैन । आफ्नोलाई चिन्दैन र पराइलाई बुझ्दैन । अनि उसको जीवन चमेराको कथाझैं व्यतित हुनसक्छ ।
किरात धर्म संस्कार अवलम्बन गर्नु भनेको किरात दर्शन–मुन्धुमले चाहेजस्तो व्यक्तित्व भएको जीवन निर्माण गर्नु हो । जुन व्यक्तित्व उसको सोचाइ, बुझाइ, लवाइ खुवाइ र व्यवहार गराइ आदिमा झल्किँदै जान्छ र ऊ दुनियाँको प्रियपात्र भई सफलताको सिँढी चढ्दै जान्छ । यही मूलमार्गको पहिचान गर्नु नै एक अर्थमा किरात धर्मको मूलमार्गमा रहनु हो ।
तर, किरात धर्म संस्कारको अवलम्बन गर्दा पहिले पुर्खाले जे गरेर ल्याए, जसरी बाँचेर आए अहिले पनि त्यही अनुसार नक्कल गर्नुपर्दछ भन्ने होइन । हामीले पकड्ने कुरा मूल दर्शन एवं मुन्धुमको मर्म हो । त्यही दर्शनले निर्देशित भई समयानुसार चल्नसक्नु पनि किरात धर्म संस्कारको सही अवलम्बन गराइ हो ।
कसरी घुसाइँदै छ हाम्रो दिमाग र समाजमा सांस्कृतिक साम्राज्यावाद ?
के हो सांस्कृतिक साम्राज्यवाद ?
यसलाई ‘साम्राज्यवादी (ऐतिहासिक रुपमा स्पेनिस, पोर्तुगिज, फ्रान्सेली, हलेण्डी, बेलायती र हाल अमेरिकी)’ हरुको सांस्कृतिक पक्ष भनिन्छ । साम्राज्यवाद भन्नाले सभ्यताहरुमध्ये शक्तिशालीलाई ‘काखा’ कमजोरलाई ‘पाखा’ गरिने भेदभावपूर्ण व्यवहार हो भनेर बुझ्नुपर्दछ । सांस्कृतिक साम्राज्यवाद अनेक रुपमा उजागर हुन्छ ।
जस्तै: अवधारणामा (अरु मुलुकलाई थिचोमिचो गरेर भए पनि उनको मुलुकमा भएका प्राकृतिक स्रोतहरू कब्जा गर्ने विचार), सरकारी नीतिहरूमा (अरु मुलुकलाई आक्रमण गरेर भए पनि उनको मुलुकमा भएका प्राकृतिक स्रोतहरू कब्जा गर्ने सरकारी नीति नै बनाउने, त्यसैअनुसार सरकारी कार्यक्रम र बजेट निर्धारण गर्ने), सैनिक कार्यबाही (अरु मुलुकसँग कुनै न कुनै निहुँ खोजेर सैनिक युद्ध सन्चालन गर्ने) आदिमा जसले सांस्कृतिक हैकमलाई बल पुर्यागउने काम गरिन्छ त्यसलाई सांस्कृतिक साम्राज्यवाद भनिन्छ ।
सांस्कृतिक साम्राज्यवादबारे नेल्सन मन्डेलाले लेखेका छन्– ‘गोराहरू हाम्रो मुलुकमा आए । उनीहरूले हामीलाई बाइबल दिए । हामीले आँखा चिम्लेर थाप्यौँ । आँखा खोलेर हेर्दा बाइबल हाम्रो हातमा र हाम्रो मुलुकको जमिन सबै गोराहरूको हातमा थियो ।’
जस्तै: छापा-रेडियो-टिभी वा संचार सन्जालहरूमा साम्राज्यवादीहरूले सोचेको विचार, नीति, कारबाहीहरू ठीक छन् भनी खबर, लेख, गीत, कथा, निबन्ध, नाटक, काव्य, उपन्यास, सिनेमा लेख्नु, निर्माण गर्नु र तिनको (छापा-रेडियो-टिभी वा संचार सन्जालहरूमार्फत्) प्रसार गरेर सम्राज्यवादीहरूको पक्षमा जनधारणा निर्माण गर्न वकालत गर्नु ।
कसरी यो सुरु भयो ?
सन् १९६० तिर यो शब्द सुरु भएको मानिन्छ जुन १९७० देखि अनुसन्धाताहरूको निम्ति आकर्षक हुन थाल्यो । सांस्कृतिक साम्राज्यवादलाई जनाउने नयाँ शब्दहरूको पनि जन्म भयो । जस्तै: “संचार साम्राज्यवाद”, “संरचनागत साम्राज्यवाद”, “एलेक्ट्रोनिक साम्राज्यवाद”, “वैचारिक साम्राज्यवाद”, र, “आर्थिक साम्राज्यवाद” आदि ।
यी शव्दहरू फरक-फरक लागे पनि यिनको भित्री आशय “सांस्कृतिक साम्राज्यवाद” नै हुन् जसले साम्राज्यवादी-शासक पक्षमै काम गर्ने संस्था, संरचना, प्रणाली, मूल्य-मान्यताहरूलाई आधार मानेर काम गर्ने गर्दछन् । यसको अहिलेको संसारमा बलियो उदाहरण ‘मिडिया’लाई लिन सकिन्छ जसले साम्राज्यवादी वा शक्तिशाली शासकहरूकै संस्था, संरचना, प्रणाली, मूल्य-मान्यताहरू ठिक हुन् भन्ने आधारभूत अवधारणामा टेकेर दिन-रात-हरपल काम गरिरहन्छ ।
“एलेक्ट्रोनिक उपनिवेशवाद”ले अहिलेको संसारमा ‘साम्राज्यवादी’ मुलुकका मूल्य-मान्यताहरु अविकसित, अल्पविकसित वा विकासशील मुलुकहरूका लाद्ने काम युद्दस्तरमा गरिरहेको छ जसले रैथाने संस्कृतिहरुलाई वा विचार वा सोचहरूलाई दिनदिनै ध्वस्त गरिरहेछ । “संचार साम्राज्यवाद”ले अनेक ‘हार्डवेयर’ र ‘सफ्टवेयर’हरूको माध्यमबाट हरेक सूचनालाई आफ्नो नियन्त्रणमा लिँदै उसैले पर्चार गरेको आधारमा धेर राजनीतिक पार्टीका मानिसको सोचाइ निर्माण भइरहेको दिनै देखिन्छ ।
भनिन्छ, अमेरिका संसारको जुनसुकै देशमा पुगेपछि सबैभन्दा पहिले ‘संचार’लाई आफ्नो पक्षमा लिन्छ । उसले संचारका मानिसहरूलाई अमेरिकामा तालिम दिन्छ र ती संचारकर्मीको दिमागलाई नै अमेरिकाको उपनिवेश बनाइदिन्छ जसले जीवनभर अमेरिकाको हरेक कुरा राम्रो हो भन्ने सफ्टवेयरको काम गरिरहन्छ ।
अन्य मुलुकका विद्यार्थीलाई छात्रवृत्ति दिएर उनको दिमागलाई आफूले चाहेको काम गर्ने बनाएर साम्राज्यवादीका बन्दुकबिनाका खतरनाक सेनाका रुपमा संसारभरि पठाइन्छ । अहिले कुनै पनि बाबु-आमा र विद्यार्थी आफै पनि अमेरिकी वा बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्दा दंग पर्छन् वा पर्छौँ । तर हाम्रो विद्यार्थीको दिमागलाई साम्राज्यवादीले उनीहरूले चाहेजस्तो काम गरिरहने “सफ्टवेयर” बनाइदिएको थाहा पाउँदैनौँ ।
सैद्धान्तिक र व्यवहारिक पक्ष
ऐतिहासिक रुपमा उपनिवेशवादीहरू पछि हटेपछि सांस्कृतिक साम्राज्यवाद अघि आएको अवधारणा हो । यसलाई सैद्धान्तिकीकरण गर्नेहरूले ‘सांस्कृतिक साम्राज्यवाद भनेको पाश्चात्य प्रभुत्ववादको निरन्तरताको स्वरुप हो जुन बलियो प्रणालीका रुपमा दुनियाँका थुप्रै मुलुकहरूमा अहिले पनि सन्चालित छन्’ भनेकाछन् ।
सांस्कृतिक साम्राज्यवादका दुई १) आयातकर्ता र २) निर्यातकर्ता पक्ष हुन्छन् । जस्तै:
• पाश्चात्य संगीत कसैले नेपालमा निर्यात गर्छ भने नेपालका सांस्कृतिककर्मीले आयात गर्छन् । यो आयात र निर्यात गर्ने क्रममा दुबै पक्षले आफू अरुभन्दा सभ्य र आधुनिक भएको अवधारणा दिमागमा राखेर काम गरिरहेका हुन्छन् । जसले गर्दा यसलाई दुबै पक्षले जोरजुलुम लगाएर फैलाउने काम गरिरहेका हुन्छन् र नेपालका रैथाने संस्कृतिहरूलाई पेलेर सखाप पार्ने काम गरिरहेको भन्ने कुरा उनीहरूलाई नै पनि कहिलेकाहीँ थाहा हुन्न ।
• अर्को उदाहरण, नेपालमा थुप्रै रैथाने गीत-संगीत थिए र छन् । तर अहिले चलेको ‘आधुनिक संगीत’ भारतको शास्त्रीय संगीतमा आधारति छ जसलाई भारतमै संगीतबारे तालिम लिनेले सबैभन्दा पहिले “भजन” गाउने थालो । मन्दिरहरूमा आयात तथा भारतबाट निर्यात भयो । कालान्तरमा जब रेडियो खुल्यो, गीत-संगीतको बजार ठूलो भयो तब तिनै भजन गायकहरूले नेपालको आधुनिक संगितज्ञ र गायकका रुपमा (भारतीय संगीतका प्रतिनिधिका रुपमा) काम गर्न थाले र त्यही परम्परा अहिले पनि कायम छ । यो सांस्कृतिक साम्राज्यवाद हो । जसमा हत्यारोलाई पनि म हत्या गरिरहेछु भन्ने कुरा थाहा छैन तर नेपालका रैथाने गीत-संगीतको परम्परालाई दिनदिनै मार्ने काम गरिरहेछ ।
• त्यस्तै गरेर नेपालमा लबेदा सुरुवाल लगाउने चलन थियो जसलाई सुट-टाइले विस्थापित गरेर अचेल काठमाडौंको कुनै पनि विवाहमा ‘सुट-टाइ’ नै ‘इज्जतिलो पहिरन’को रुपमा आयात भएर साम्राज्य फैलाइरहेछ । अचेल लबेदा-सुरुवाल लगाउने मानिसलाई ‘पाखे’ वा ‘मोडल’ भनिन्छ ।
• हामी नेपालमा आ-आफ्नै मातृभाषा र खस कुरा बोल्थ्यौँ । हिजोआज अंग्रेजी, जर्मन, फ्रेन्च, हिब्रु, कोरियन, चिनीया भाषा सिक्ने नेपालीको संख्या लाखौँ नाघिसकेको छ । अर्थात्, विदेशी भाषाले नेपाली भाषालाई, खस भाषाले नेपालका जनजातिका भाषालाई ध्वस्त गर्ने काम दिनदिनै-हरक्षण गरिरहेछन् । भाषाशास्त्रीहरू अंग्रेजीलाई (संसारमा) Killer language भन्छन् भने भारतको छेउछाउमा हिन्दी भाषालाई Killer language र नेपालभित्र जनजातिका भाषाहरूको हकमा खसभाषालाई Killer language हो भन्छन् । अर्थात् जसले ‘हुकुमी हैकम चलाएर अरुलाई नष्ट गर्ने काम गर्छ’ त्यही नै सांस्कृतिक साम्राज्यवाद हो ।
भाषाशास्त्रीहरू अंग्रेजीलाई (संसारमा) Killer language भन्छन् भने भारतको छेउछाउमा हिन्दी भाषालाई Killer language र नेपालभित्र जनजातिका भाषाहरूको हकमा खसभाषालाई Killer language हो भन्छन् । अर्थात् जसले ‘हुकुमी हैकम चलाएर अरुलाई नष्ट गर्ने काम गर्छ’ त्यही नै सांस्कृतिक साम्राज्यवाद हो ।
• अहिले गुगल, माइक्रोसफ्ट र फेसबुकले उनीहरूको सफ्टवेयर अनुसारकै Frame मा मानिसहरूलाई सोच्ने बनाइसक्यो जसलाई “इन्टरनेट साम्राज्यवाद” पनि भनिन्छ । यसले अनेकौँ मुलुकका रैथाने ज्ञान-विज्ञान प्रणालीलाई दिनै ध्वस्त गरिरहेछ । अहिलेको युवा पुस्तालाई विदेशी खान, विदेशी भाषा, विदेशी पहिरन, विदेशी गीत-संगीत, विदेशी सिद्धान्त र जीवनशैली आधुनिक लाग्छ र आफ्नो संस्कृतिले दिएको खानाको परिकार, भाषा, पहिरन, गीत-संगीत, सिद्धान्त र जीवनशैली असभ्य लाग्छ । यसरी सांस्कृतिक साम्राज्यवादले संसारका मानिसको सोचाइदेखि हरेकको दैनिक जीवनका गरिविधिहरूमा कब्जा गरेको छ ।
अर्थात्, उपनिवेशवादी युगमा सेना, बन्दुक लिएर भौतिक रुपमा नै मुलुकहरूलाई आक्रमण गरिन्थ्यो, कब्जा गरिन्थ्यो भने अचेल अनेकौँ (अमेरिकी, बेलायती, रुसी) विश्वविद्यालयमा अन्य मुलुकका विद्यार्थीलाई छात्रवृत्ति दिएर उनको दिमागलाई आफूले चाहेको काम गर्ने बनाएर साम्राज्यवादीका बन्दुकबिनाका खतरनाक सेनाका रुपमा संसारभरि पठाइन्छ । अहिले कुनै पनि बाबु-आमा र विद्यार्थी आफै पनि अमेरिकी वा बेलायती विश्वविद्यालयको डिग्री हासिल गर्दा दंग पर्छन् वा पर्छौँ । तर हाम्रो विद्यार्थीको दिमागलाई साम्राज्यवादीले उनीहरूले चाहेजस्तो काम गरिरहने “सफ्टवेयर” बनाइदिएको थाहा पाउँदैनौँ ।
आलोचना
सांस्कृतिक साम्राज्यवादका आलोचकहरूले सांस्कृतिक साम्राज्यवाद ‘जताततै छलफल गर्न सकिने विषय मात्र हो’ भनेर कुरा सुरु गर्छन् । उनीहरू तर्क गर्छन् कि :
१) यो ग्लोबलाइजेसनको युग हो । यहाँ जसले राम्रो प्रडक्ट उत्पादन गर्छ उसैले बजार कब्जा गर्छ ।
२) कुनै पनि प्रोडक्ट एउटा मुलुकमा सुरु भए पनि अर्को मुलुकमा त्यहीको मुलुक सुहाउँदो किसिमले विकसित पनि गरिन्छ । जस्तै: जापानको टोयोट गाडीले अमेरिका, बेलायत र भारतमा केही न केही हाइब्रिडको रुप लिईरहेको हुन्छ ।
३) सांस्कृतिक साम्राज्यवादलाई उपनिवेशवादको निरन्तरता हो भनेर ठ्याक्कै Measure गर्नै सकिन्न ।
४) अमेरिका, युरोप, भारत, दक्षिण अफ्रिका, क्यानाडा जस्ता भाषिक र सांस्कृतिक विविधता भएका मुलुकहरुमा समाज संचालनको कस्तो मोडल उचित हुन्छ ? ठ्याक्कै भन्नै गाह्रो हुन्छ । अर्थात्, जुन जुन प्रणालीले काम गर्छ त्यो कुनै पनि समाज(हरू)ले बिस्तारै ग्रहण गर्छन् नै । यसमा ‘साम्राज्यवाद’को कुरा कहाँबाट आयो ?
सबल्टर्न
उपनिवेशहरू मुक्त हुँदै गएपछि सामाजिक, आर्थिक र भौगोलिक रुपले अपहेलनामा पारिएका तथा थिचोमिचोमा परेका महिला, पुरुष तथा समूहलाई “सबल्टर्न” भनेर पुन: परिभाषित गर्ने प्रयास पनि गरिएको छ । यस नयाँ विचारका प्रवर्तक एन्टोनियो ग्राम्सी (Antonio Gramsci, 22 January 1891 – 27 April 1937 an Italian Marxist theoretician and politician) हुन् । ग्राम्सीको यो विचारलाई गायत्री स्पीभक (Gayatri Chakravorty Spivak (born February 24, 1942) is a University Professor at Columbia University, where she is a founding member of the school’s Institute for Comparative Literature and Society) ले सबल्टर्न भन्नाले ‘कुनै पनि किसिमको भेदभावमा पारिएको महिला, पुरुष वा समुह हो’ भनेर पुन: परिभाषित गरिन् । उनको तर्क ‘विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूमा पनि विभेद हुने गरेका छन् । एउटा संस्कृतिकाले अर्को संस्कृतिकालाई निम्नकोटीको शिक्षक वा विद्यार्थी ठान्ने गरेका छन् । त्यसैले यो आर्थिक, समाजिक र राजनीतिक कुरा मात्र होइन’ भन्ने छ ।
निचोड
सर्वहारा भने पनि, उपनिवेश भने पनि, सबल्टर्न भने पनि मानव सभ्यतामा जहिले पनि एउटा पक्षले अर्को पक्षलाई हेला गरेर, दबाएर, शोषण गरेर राख्दै आएको छ । यसरी दबाउन वा हेप्न सफल हुनेको रणनीति कहिले बन्दुक चलाएर हुने गर्छ भने कहिले व्यापार हुन्छ, कहिले शिक्षामार्फत हुन्छ, कहिले साहित्य-गीत-संगीतमार्फत हुन्छ । यो प्रक्रियामा सो दमन वा साम्राज्य फैलाउने शक्तिका पक्षमा बोल्ने, लेख्ने, गाउने मानसि सृजना गरेर मुलुकहरु कब्जा गर्नु सांस्कृतिक साम्राज्यवाद हो ।
यही सांस्कृतिक साम्राज्यवादबारे नेल्सन मन्डेलाले लेखेका छन्– ‘गोराहरू हाम्रो मुलुकमा आए । उनीहरूले हामीलाई बाइबल दिए । हामीले आँखा चिम्लेर थाप्यौँ । आँखा खोलेर हेर्दा बाइबल हाम्रो हातमा र हाम्रो मुलुकको जमिन सबै गोराहरूको हातमा थियो ।’
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.