0

उपभोक्ताको गुनासो सुन्दैन प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर मर्मत नगरिदिँदा राजधानीका एक दर्जनभन्दा बढी स्थानमा विगत १५ दिनभन्दा बढी समयदेखि स्थानीयवासी मर्कामा परेका छन् ।

पटक–पटक ट्रान्सफर्मर र कन्डक्टर मर्मत गरिदिन आग्रह गरे पनि प्राधिकरणले कुनै सुनुवाइ नगरेको स्थानीयवासीको भनाइ छ । काठमाडौँको बालाजु बाइपास, नेपालटार, गोंगबु, कोटेश्वर, कलङ्की, बलम्बु, कीतिपुर, थापागाउँलगायतका स्थानमा आधामात्रै विद्युत् प्रवाह हुने गरेको छ ।
खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग भए पनि प्राधिकरणले मर्मतमा ध्यान दिन सकेको छैन । पछिल्लो दिनमा सहरी क्षेत्रमा अत्यधिक विद्युत् भार पर्दा ट्रान्सफर्मर जल्ने गरेको छ ।
ट्रान्सफर्मरमा समस्या आएको भन्दै प्राधिकरणले कतिपय स्थानमा आधामात्रै विद्युत् दिने गरेको छ ।
त्यसबाट मोबाइल चार्ज गर्नसमेत नपाइएको भन्दै स्थानीयले नजिकको प्राधिकरणको कार्यालयमा सम्पर्क गरे पनि फोन नउठाउने, मर्मतमा ध्यान नदिने, रुखो व्यवहार गर्ने गरेको बालाजु बाइपासका भाइकाजी मर्हजनको दुःखेसो छ ।
“आधामात्रै बत्ती आयो भनेर हामीले पटक–पटक बालाजु वितरण केन्द्रमा फोन ग¥याँै तर कुनै दिन पनि राम्रोसँग सुनुवाइ भएन, मर्मत गर्नुको त परै जाओस्”– मर्हजनले भन्नुभयो ।
थापागाउँमा रामबहादुर अधिकारीको गुनासो पनि महर्जनको भन्दा फरक छैन । “विगत १० दिनदेखि ट्रान्सफर्मर जलेको छ । मर्मत गरिदिनुप¥यो भनेर प्राधिकरणलाई लिखित तथा मौखिक रुपमा आग्रह गरियो, तर सुनुवाइ भएन”– अधिकारीले भन्नुभयो ।
कलङ्कीका भावना बलामीको गुनासो पनि उस्तै छ । “पटक–पटक जलेको ट्रान्सफर्मर मर्मत गर्न फोन गरेर, कार्यालयमा नै गएर आग्रह गरियो तर कुनै सुनुवाइ भएन ।” खाना पकाउने ग्यासको अभावमा विद्युत्मा नै निर्भर उपभोक्ताको मागलाई सम्बोधन गर्नेतर्फ प्राधिकरणले ध्यान नदिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्कर प्राधिकरणले उपभोक्तालाई सेवा नदिएको र गुनासो सम्बोधन नगरेको भन्ने गुनासो आएपछि छानबिन जारी रहेको र केही दिनभित्रै यथार्थ विवरण सार्वजनिक गरिने बताउनुहुन्छ ।
इमेल, इन्टरनेट, फोन गरेर उपभोक्ताले गुनासो टिपाएका छन् । उपभोक्ताको गुनासोका आधारमा आयोगले छानबिन टोली नै गठन गरेर मुलुकभरको ट्रान्सफर्मर र कन्डक्टरको अवस्थाको छानबिन गरिरहेको छ ।
प्राधिकरणले भने इन्धन र जनशक्तिको अभावमा मर्मत सम्भारमा सोचेजति ध्यान दिन नसकेको जनाएको छ । यस्तै प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा भने ट्रान्सफर्मर मर्मत गर्ने जनशक्तिको अभाव रहेको छ ।
दैनिक १५ वटाभन्दा बढी जलेको ट्रान्सफर्मर आउने गरेकामा दुई वटामात्रै मर्मत हुने गरेको छ । पछिल्लो दिनमा विद्युत्माथिको निर्भर बढ्दा राजधानीका विभिन्न स्थानमा आधामात्रै बत्ती दिइएको छ ।
आधामात्रै बत्तीले मोबाइल चार्ज गर्नसमेत नपाएको भन्दै प्राधिकरणका विभिन्न वितरण केन्द्रमा दैनिक १०० भन्दा बढी फोन आउने गरेको छ । तर प्राधिकरणका कर्मचारीले फोन उठाएर राखिदिने, सकेसम्म कुरै नगर्ने, कुरा गरे पनि मर्मत गर्न आउँदैछ भन्नेजस्ता उत्तर दिएर टार्ने गरेका छन् ।
कुलेश्वर वितरण केन्द्रका प्रमुख थीरकुमार खत्री उपभोक्ताको गुनासो पछिल्लो दिनमा बढेको बताउनुहुन्छ । खाना पकाउने समयमा विद्युत् नपाएपछि उपभोक्ताले गुनासो गर्नु स्वभाविक भएको बताउँदै खत्री मागअनुसार आपूर्ति हुन नसक्दा समस्या पैदा भएको स्वीकार गर्नुहुन्छ ।
प्राधिकरणले जडान गरेका ५३० बढी ट्रान्सफर्मर पछिल्लो दिनमा जलेका छन् । समयमा मर्मत नहुँदा उपभोक्ता बढी मारमा परेका छन् । भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने ग्यास अभाव हुँदा हिटर, इन्डक्सन चुलो र राइस कुकरको बढी प्रयोग हुँदा प्राधिकरणको सम्पूर्ण संरचनामा भार परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मुकेशराज काफ्लेको भनाइ छ ।

Post a Comment

 
Top