फेसबुक र मोबाइलले चेलिबेटी बेचविखन बढ्यो!
नेपालगन्ज, पछिल्लो समय मोबाइल र फेसबुक जस्ता सुचना प्रबिधिका साधनको प्रयोगबाट महिलाहरु बेचिने क्रम बढेको छ । सूचना प्रबिधिको प्रयोगबाट एकअर्कासँग नजिकिएर मायाप्रेमको बाहनामा महिलाहरु भारत एवं खाडीमुलुक पुग्ने गरेको पाइएको छ ।
मोबाइल र फेसबुकको प्रयोगबाट महिलाहरुको बेचविखन भइरहेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए ।


उनका अनुसार ग्रामिण क्षेत्रका मात्र नभई शहरका महिलाहरु पनि बेचखिबनको सिकार भइरहेका छन् । ‘शिक्षित र सम्पन्न परिवारका महिला समेत बेचविखनमा परेका छन् । दुई जना अधिकृतस्तर कर्मचारीका छोरीहरुको उद्धार गरिएको संयोजक कोइरालाले बताए ।
बिदेशमा बेपत्ता भएका महिला खोज्न आग्रह गर्दै माईती नेपाल नेपालगन्जमा सन् २०१५ मा ४ सय ६१ वटा निवेदन परेका छन् । तर जम्मा ५१ जना महिलाको मात्र उद्धार गर्न सकिएको माईती नेपाल संयोजक कोइरालाले जानकारी दिए ।
सन् २०१५ मा महिला खोजीका लागि परेको निवेदनको यो संख्या डेढ दशकयताकै सबैभन्दा धेरै हो । सन् २००२ मा महिला खोजी गरिदिन आग्रह गर्दै माईती नेपाल नेपालगन्जमा आठ वटा निबेदन परेको थियो । जसमा दुईजनालाई फेला पार्न सकिएको थियो ।
माईती नेपाल नेपालगन्जका संयोजक कोइरालाले भने, ‘एचआईभी, हेपाटाईटिस जस्ता रोगले शरिर कुरुप बनाएपछि मात्र अलपत्र महिलाहरु सार्बजनिक भएको पाइएको छ । ’
बिदेशमा बेपत्ता महिलाहरुको खोजिका लागि प्रभावकारी संयन्त्र छैन् । माईती नेपालले भारतमा माईती इण्डिया र त्यहांको सुरक्षाकर्मीहरुसंग समन्वय गरेपछि खाडीमुलुकमा भने उद्धारको अबस्था चुनौतीपूर्ण रहेको कोइरालाले बताए ।
उनले भने, ‘हामीले आफ्नो सामथ्र्यले भ्याएसम्म खोज्छौ तर बलियो संयन्त्र नहुँदा कमैलाई मात्र उद्धार गर्न सकेका छौं ।’
Post a Comment